म्याडमका नाममा यतिसम्म मनपरी
अख्तियारको प्रमुख आयुक्तदेखि विभिन्न विभागको महानिर्देशक बनाइदिने, सचिवलाई भनेको ठाउँमा पठाउनेसम्मका एकजना ‘बिचौलिया’ का कारण हिजोआज सिंहदरबार तरंगित छ । प्रहरीले दिएको गाडी, ड्राइभरसहित बिहान १० बजेदेखि नै सिंहदरबारमा तैनाथ हुने तिनी ‘चन्दने’ भनी चिनिन्छन्, नाम रामचन्द्र भट्ट हो ।
टिम्बर कर्पोरेशनको जागिरबाट अवकाश पाएका उनी डडेल्धुराका बासिन्दा हुन् । उनले गरेको फोन प्रधानमन्त्रीपत्नी डा.आरजु राणाले जतिबेलै पनि उठाइदिँदा र कतिपय कुराकानी ह्याण्डस् फ्रिमै गरिदिँदा कर्मचारीहरू आतंकित नहुन् पनि कसरी ? उनले मुख्यसचिव शंकरदास बैरागीलाई ‘अख्तियारको प्रमुख आयुक्त कि अमेरिकाको राजदूत ? जे रोज्नुहुन्छ, त्यही बनाइदिन्छु’ भन्न भ्याएका छन् । शायद, यही विश्वासका कारण हुनुपर्छ मुख्यसचिवले पाथीभरा र संखुवासभाको हेलिकोप्टर यात्रामा उनलाई छुटाएनन् । प्रधानमन्त्रीसँग सीधै सम्पर्कको व्यक्तिबाट ‘काम लिइरहनुपर्ने’ कारण प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले त एउटा गाडी र एमटीका ड्राइभर नै खटाइदिएका छन् ।
हरेकजसो मन्त्रालयमा दिनहुँ छिर्ने उनले प्रशासनका सचिवलाई भेटे अर्थ, गृहमा सरुवा गराइदिन्छु भन्छन् । प्राविधिक सचिव भए भौतिक र शहरी विकास मन्त्रालय पठाउनसक्ने बताउँछन् । भर्खरै तेस्रो नम्बरबाट उक्लिएका सचिव केशव शर्मा बढुवालगत्तैको पदस्थापनमा सीधै सिँञ्चाइ मन्त्रालय पुगे । बढुवा हुनेबित्तिकै मन्त्रालय पाउने, यस्तो कसरी भयो ? कर्मचारीबृत्तमा अत्यधिक जिज्ञासाको विषय बनेको छ । ‘चन्दने’ को दावी छ, ‘मैले भनेर म्याडमले गरिदिएको त हो नि !’
यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीसँग पनि राम्रो सम्बन्ध थियो । मन्त्रालयमा सहसचिवलाई भेट्दा रोजेको विभागमा महानिर्देशक बनाइदिन्छु भन्छन् । र, आफ्नो काम हाताहाती लिइहाल्छन् । काम नगरिदिए ‘म्याडम’ (आरजु) लाई भनिदेलान् भन्ने डर छ । भनिन्छ, उठ्तीपुठ्तीको २५ प्रतिशतमात्रै ‘म्याडम’ को हात पर्छ, बाँकी आफैँ चलाउँछन् । सानोतिनोमा आँखा लगाउँदैनन् । आइलाग्यो भने, भतिजो दीपेन्द्र भट्टलाई कुदाउने गरेका छन् । पहिला पशुपतिको चन्दन लिएर विभिन्न नेताकहाँ पुग्ने कारण उनको नाम ‘चन्दने’ रहन गएको बताइन्छ ।
टिप्पणीहरू