विदेशमै मेजरमाथि कोर्टअफ इन्क्वायरी
एकबारको जुनीमा ‘जसरी पनि विदेश जाने’ रहरले कागजपत्र काटकुट पार्दा एक जना मेजर जागिर गुमाउने स्थितिमा पुगेका छन् । मिशन छनोटका सबै प्रक्रिया पूरा गरी दक्षिण सुडान पुगेका मेजर सरोजविक्रम केसी यस्तो झमेलामा परेका हुन् । छाउनीस्थित हवाई सुरक्षामा कार्यरत उनले नेपालमा हुँदा एउटा शारीरिक कमजोरी लुकाउन सर्जरी गराएका थिए । उनी सुडान गइसकेपछि सर्जरी गर्ने चिकित्सकले शारीरिक परीक्षणको चरण सफल भएकोबारे आश्चर्य व्यक्त गरेसँगै सेनाले छानबिन अगाडि बढायो ।
यसक्रममा उनको कैफियत ठहर भएको सैनिकस्रोतले जनाएको छ । शारीरिक समस्या लुकाएर मिशनमा जाने त गए–गए, उनलाई छनोट गर्ने प्रधानसेनापतिको सैनिक सचिवालयदेखि शारीरिक परीक्षणमा उत्तीर्ण गराउने मेडिकल टोलीसम्म छानबिनको दायरामा परेको छ । सेनामा विभिन्न मिशनका लागि अधिकृत छनोट गर्ने सैनिक सचिवले हो । जवान छनोटमात्रै संगठनले गर्छ । अहिले सेनाको अधिकृत तहमा स्वास्थ्य समस्या लुकाएको घटना सार्वजनिक भए पनि सिपाहीहरूको तहमा भने यस्ता काम हुँदै आएका थिए ।
१६–१७ वर्ष जागिर खाएपछि बल्ल उनीहरूले विदेश जाने अवसर पाउँछन् । त्यसबीचमा हुनसक्ने उच्च रक्तचाप, छारे रोग, पायल्स, मिर्गौला खराबीजस्ता समस्या लुकाउन विभिन्न औषधि सेवन गरेका हुन्छन् । तर, त्यसको असर विदेश पुगेर देखिने गर्दछ । सिपाहीहरूका लागि आफ्नो समस्याभन्दा घरायसी पीडाले बढी सताएको हुन्छ । त्यसका लागि उनीहरूले कतिसम्म जोखिम मोल्छन् भने, मिशनमा रहेकै अवस्थामा लुकाएको रोगका कारण ज्यान गयो भने परिवारले क्षतिपूर्ति पाउँदैनन् । नत्र, कर्तव्य पालनाका सिलसिलामा विदेशी मिशनमा ज्यान जाँदा परिवारका सदस्यलाई क्षतिपूर्तिबापत ८६ हजार अमेरिकी डलरसम्म हात पर्छ । अहिले सिपाहीहरू जस्तै आर्थिक सम्पन्नताको रहर अधिकृत तहसम्म बढ्दा उनीहरूले पनि रोग लुकाउने गरेका हुन् । जबकि, अधिकृत तहका सेनाले पाँच–सात वर्षको फरकमा मिशनको अवसर पाउने गर्दछन् ।
सेनामा सुविधा र सहजताका कारण प्रायःले लेबनान मिशन रोज्ने प्रयास गर्छन् । किनभने, अरु मिशनमा रिस्क र काम बढी हुन्छ । अर्कातिर, सैनिक सेवामा रहेको दम्पत्तिलाई एउटै मिशनमा हालिँदा उल्टै झगडा परेको खबर छ । पूर्वजर्नेल नवजीव समशेर जवराका छोरा र रघु भण्डारीकी छोरीलाई मिशनमा पठाउन छनोटमा परेकालाई हटाइएको थियो । तर, विदेश पुगेपछि पतिपत्नीबीच चर्किएको झगडाको कथा बेग्लै छ ।
टिप्पणीहरू