एमाले उपाध्यक्ष भन्नुहुन्छ - "वाम एकता असम्भव"

एमाले उपाध्यक्ष भन्नुहुन्छ - "वाम एकता असम्भव"

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामपन्थीबीच सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । एमाले मात्रै वाम शक्ति रहेको दाबी गर्दै उहाँले अरु कसैसंग मिलेर जाने अवस्था नरहेको प्रष्ट पार्नुभयो । 

शुक्रबार बुटवल कालिका क्याम्पसको नवनिर्मित भवन उद्घाटन एवं वार्षिकोत्सव समारोहमा पौडेलले भन्नुभयो, ‘सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य गर्ने ?’

एमालेले अहिले सरकार निर्माणको प्रयास नगर्ने र सशक्त प्रतिपक्षीको भूमिकामा बस्ने पनि पौडेलको भनाई छ । ‘प्राप्त जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा बस्छ,हामी अहिले सरकारको दौडमा छैनौं’, उहाँले भन्नुभयो ।

आफ्नो पार्टी बहुमत ल्याउने उद्देश्यसहित चुनावमा गए पनि त्यसअनुरूप परिणाम नआएकाले सरकार बनाउनेतर्फ ध्यान नरहेको उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो, ‘चुनावबाट हामीले बहुमत हासिल गर्ने लक्ष्य लिएका थियौं, तर त्यो सम्भव भएन, त्यसकारण प्रतिपक्षमा बस्छौं ।' 

एमालेलाई कर्नरमा पार्न सत्तामा रहेका दलहरूले गठबन्धन गरेकाले एमाले दोस्रो दल बन्न पुगेको भन्दै उहाँले गठबन्धनले विभिन्न टुक्राटुक्री जोडेर सरकार बनाउने सम्भावना रहेको सुनाउनुभयो । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजना पूरा गर्न सक्रिय भूमिका खेल्ने उल्लेख गर्नुभयो । 

फरक प्रसंगमा उहाँले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालयलगायत संरचनाहरू पूर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको पौडेलले टिप्पणी गर्नुभयो ।

टिप्पणीहरू