यस्तो छ धादिङको चुनावी छिनोफानो

यस्तो छ धादिङको चुनावी छिनोफानो

– शंकर श्रेष्ठ

धादिङका दुई प्रतिनिधिसभा र चार प्रदेशसभाबाट केही नयाँ र केही पुरानै अनुहारले यसपटक संसदमा प्रवेश पाएका छन् । क्षेत्र १ बाट सत्ता गठबन्धनकै बलमा जितेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संसद प्रवेश यो छैटौं पटक हो । उनले यसअघि स्थानीय विकास मन्त्रालय हाँकिसकेका छन् भने अहिले बागमती प्रदेश सरकारको मुख्यमन्त्री चलाइरहेका छन् । 

समानुपातिकमा पाएको मत परिणाम हेर्दा यो क्षेत्रमा चर्चा पाएजस्तो एकीकृत समाजवादीको हैसियत देखिँदैन । तैपनि, पाण्डेको प्रभाव निकै छ । यो क्षेत्रबाट सांसदमा विजयी भएपछि पाण्डे भन्छन्, ‘जम्मा हामीले १९ सिटमा उम्मेदवार उठाएका थियौं, १० सिटमा शानदार मतले विजय प्राप्त गरेका छौं । अब संसद र सरकार चलाउने महत्वपूर्ण शक्तिको रूपमा काम गरेर देखाउँछौं ।’

गठबन्धनको साझा उम्मेदवार बनेर पाण्डेले पाएको मतको करिव १७ प्रतिशत मत मात्रै समाजवादीले यो क्षेत्रबाट समानुपातिकतर्फ पाएको छ । प्रत्यक्षमा ३५ हजार ९ सय ३५ मत पाउँदा उसले समानुपातिकतर्फ भने ६ हजार ३५ भोट मात्रै ल्याएको छ ।

धादिङ क्षेत्र नम्बर १ कै प्रदेशसभा २ बाट चुनाव जितेका शालिकराम जम्कट्टेलको संसद प्रवेश पनि यो तेस्रो पटक हो । ०६४ को माओवादी लहर चल्दा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा छिरेका जम्कट्टेल ०७४ मा बागमती प्रदेश सरकारको मन्त्री बने । शुरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका उनी अहिले पनि आर्थिक मामिला तथा योजनामन्त्री छन् । 
कसरी आयो एमालेको किल्लामा कांग्रेस ?

धादिङ क्षेत्र नम्बर १ प्रदेशसभा १ मा विजयी कांग्रेस युवा नेता मदुकुमार श्रेष्ठले संसदीय जिम्मेवारी पाएको पहिलो पटक हो । ०७४ मा राजेन्द्र पाण्डेबाट पराजित भएका उनी यसपटक पाण्डेकै सहयोगमा प्रदेश संसदमा पाइला टेक्दैछन् । यस क्षेत्रमा कांग्रेसले पाइला टेकेको इतिहासमै पहिलो पटक पनि हो । 

नेकपा एमालेभित्रको किचलो र टकरावले श्रेष्ठलाई संसद् छिर्ने बाटो सहज बन्यो । एमालेका आधिकारिक उम्मेदवारलाई हराउन एमालेकै बागी उम्मेदवारले ४ हजार ६ सय ८८ मत काटिदिएपछि १२ सय ९४ मतले श्रेष्ठलाई संसद प्रवेश गर्न बाटो खुलेको छ । 

धादिङ–२ मा कांग्रेसको उदय

कांग्रेसले धादिङ क्षेत्र नम्बर २ मा पनि गठबन्धनकै भरमा २३ वर्षपछिको विरासत फर्काएको छ । पटक–पटक गरी २० वर्ष धादिङ कांग्रेसको नेतृत्व गरेका रामनाथ अधिकारी दोस्रो पटक प्रतिनिधिसभामा प्रवेश गर्दै छन् । गठबन्धनकै बलमा भए पनि ०५४ सालपछिको विरासत फर्काउने उनै हुन् । 

रामनाथले ०५४ सालपछि अहिले प्रतिनिधिसभा निर्वाचनमा जित हात पारेका छन् । अघिल्ला निर्वाचनमा कम्युनिष्टसँग पराजय भोगेका अधिकारी यस पटक भने माओवादी केन्द्र र एकीकृत समाजवादीको साथले प्रतिनिधिसभा पुगेका छन् । 

धादिङ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ मा विजयी कांग्रेसका गोविन्द लम्साल निर्वाचन अघिसम्म त्यति चर्चामा थिएनन् । उनी नेपाली कांग्रेसका पुराना नेता भए पनि संसदीय निर्वाचनमा अवसर पाएका थिएनन् । लम्सालले यस पटक प्रदेशसभाका लागि अप्रत्यासित रूपमा टिकट पाए र नेकपा एमालेका चर्चित उम्मेदवार डा. रामकुमार अधिकारीलाई पराजित गर्न सफल भए । यसको श्रेय पनि गठबन्धनलाई नै जान्छ । 

फेरि फैलियो राप्रपा

चार वटा प्रदेश सभामध्ये क्षेत्र नम्बर २ (२) मा गठबन्धनलाई राप्रपाका डम्बर तामाङले चक्मा दिए । गठबन्धनबाट साझा उम्मेदवार बनेका पूर्व सांसद एवम् नेकपा माओवादी केन्द्रका जगत सिंखडालाई एमालेको सहयोगमै भए पनि तामाङले हारको स्वाद चखाए । 

प्रतिस्पर्धी नै छैन भन्ने सिंखडालाई पराजित गराउँदै २३ वर्षपछि तामाङले प्रदेशसभामै भए पनि राप्रपाको विरासत फर्काए । ०७४ को निर्वाचनमा यही प्रदेशमा आमने सामने भएका सिंखडा र तामाङ यसपटक पनि प्रतिस्पर्धी थिए । यद्यपि, आफ्नो गृह क्षेत्रमा बुथ कब्जा गरेर जितेको आरोप उनीमाथि लागेको छ तर यसको पुष्ट्याइँ गर्ने आधार केही छैन । उत्तरी भेगमा पर्ने यो क्षेत्रलाई राप्रपाले सधैँ आफ्नो पकड इलाका मान्दै आए पनि निर्वाचन जित्न सकेको थिएन । 

आफ्नै इलाकामा किन चिप्लिए जगत ?

गठबन्धन दलहरूको सहयोग हुँदाहुँदै पनि जगत सिंखडा चिप्लिनुको पछाडि थुप्रै शंका उपशंका भेटिन्छन् । कतिपयले उनको स्वभाव बढी महत्वाकांक्षी रहेको र सहयोगीसंग समन्वय गर्न नसकेको बताएका छन् त कतिले प्रतिस्पर्धी डम्बर तामाङले बुथ कब्जा गरेको आरोप पनि लगाइरहेका छन् । नेपाली कांग्रेसले केही स्थानमा धोका दिएको र सिंखडाको आफ्नै गृह क्षेत्रका मतदाता असन्तुष्ट भएकाले पराजित हुन परेको भन्नेको संख्या पनि उत्तिकै छ । नेपाली कांग्रेसका केही युवाको प्रतिक्रिया हेर्दा पनि केही ठाउँमा कांग्रेसको सहयोग नपाएको पुष्टि हुन्छ ।
 

टिप्पणीहरू