सांसद छान्न दलहरुका दौडधुप,तीन पार्टीले भोलि टुंग्याउने

सांसद छान्न दलहरुका दौडधुप,तीन पार्टीले भोलि टुंग्याउने

निर्वाचन आयोगले भोलिसम्म समानुपातिक सांसदको नाम पठाउन पत्र पठाएपछि प्रमुख पार्टीहरु धमाधम बैठक बस्न थालेका छन् । समानुपातिक सांसद छान्न माओवादी केन्द्रको आज पदाधिकारी बैठक बसेको छ भने कांग्रेस, एमाले र जसपाले भोलि बैठक डाकेका छन् । 

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीबाट सांसद हुनेहरुको नाम चयन गरी पठाउन बैठक बोलाइएको हो । 

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिवार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको सो पार्टीले जनाएको छ । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीन जना पुरुष सांसद पठाउन सूचित गरेको छ । यस्तै, प्रदेश सांसदबारे पनि सोही बैठकले निर्णय गर्ने भएको छ । कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ ।

यस्तै, एमाले केन्द्रीय सचिवालय बैठक शनिवारका लागि सरेको छ । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाए पनि कार्यव्यस्तताका कारण भोलिलाई सारिएको छ । समानुपातिकमा एमालेले ३४ सिट पाएको छ । जसमा उसले १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ । प्रदेशमा छानिने ९१ जना पनि भोलिको बैठकले फाइनल गर्नेछ ।

यस्तै, भोलि बिहान ८ बजे जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिएका छन् ।  बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्ने उनले जानकारी दिए । जसपाले समानुपातिकमा पाँच सांसद पाएको छ ।

संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ र चौंथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सांसद पाएको छ । यी दुवै दलमा समानुपातिक सांसद चयनलाई लिएर विवाद चर्किएको छ ।

टिप्पणीहरू