कसरी बिग्रियो बैतडीमा गठबन्धन ?

कसरी बिग्रियो बैतडीमा गठबन्धन ?

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा गठबन्धन दलका उम्मेदवार गुल्टिनुमा अनेक कारण देखिएका छन् ।  गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्र कुँवर ‘विजयसुन्दर’ र नेपाली कांग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार वीरबहादुर बिष्ट पराजित हुनुमा कांग्रेस र माओवादीभित्रैको अन्तरघात मुख्य मानिएको छ । 

०६४ सालको संविधानसभा निर्वाचन २७ हजार १३० भोट प्राप्त गरी प्रतिस्पर्धीलाई तेब्बर मतले हराउँदै जितेका कुँवरले करिब १५ सय मतले पराजित हुनुभएको छ । ०७९ मा एमालेका दामोदर भण्डारीले ३३ हजार ६११ मत ल्याएर जित हासिल गर्दा माओवादीले ३२ हजार ८० मत प्राप्त गरेर उपविजेता बनेको छ । गठबन्धनका साझा उम्मेदवारलाई हराउन नेपाली कांग्रेस बैतडीका पूर्वसभापति एवं सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, पुरचौडी नगरपालिकाका मेयर दीपक बमलगायतले भूमिका खेलेको आरोप छ । 

प्रतिनिधि सभामा सिगास गाउँपालिकाबाट एमाले उम्मेदवारलाई २ हजार ६३० मत आएको छ भने नरेन्द्र कुँवरले २ हजार १६० मत प्राप्त गरेका छन् । त्यसैगरी, वीरबहादुर बिष्टलाई १२ सय ७६ मत र कांग्रेसका बागी उम्मेदवार हरिमोहन भण्डारीलाई १७ सय ८८ मत मिलेको छ ।  प्रदेश सभा (ख) बाट भने नेपाली कांग्रेस बैतडीका पूर्वसभापति शिवराज भट्ट छानिएका छन् । यहाँ एमालेका उम्मेदवार लीलाधर भट्ट पराजित बनेका छन् । लीलाधरलाई पराजित गर्न एमालेकै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको हात रहेको चर्चा छ । 

माननीयको वडाबाट आउने हो त जम्मा ११ मत ?

समानुपातिक उम्मेदवारको सूचीमा रहनुभएकी माओवादी केन्द्रकी नेत्री रेणु चन्दले आफ्नो वडा बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट जम्मा ११ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, बैतडी क्षेत्र नं. (क) बाट २०७४ सालको प्रदेश सभा निर्वाचन विजयी माओवादी केन्द्रका नेता प्रेमप्रकाश भट्ट (आदित्य) को वडाबाट समानुपातिकमा जम्मा ५० भोट मात्रै आएको छ । 

नेत्री रेणु चन्द अवसरका लागि मात्रै बैतडी आउने तर अधिकांश समय काठमाडौंमा बिताउने गरेको स्थानीय माओवादी नेताले बताए । माओवादी केन्द्रका प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट ठेक्कापट्टा हात पार्नमै व्यस्त हुँदा संगठन धरापमा परेको चर्चा छ । 

०७४ सालको प्रदेशसभा निर्वाचनमा बैतडी क्षेत्र नं.(क) बाट १८ हजार ९३ मत पाएर निर्वाचित प्रेमप्रकाश भट्ट (आदित्य) डोजर किनेर ठेक्कापट्टा हात पार्न व्यस्त रहेपछि पार्टी लथालिंग भएको एक नेताले आरोप लगाए । ‘माननीय भएर पनि पार्टीका लागि आफ्नो वडाबाट ५० मत ल्याउन नसक्नेलाई कसरी नेता मान्ने?’ ती नेताले भने, ‘सर्वहारा पार्टीका नेताको जीवनशैली दलाल पुँजीपतिको जस्तो छ । 
 

टिप्पणीहरू