नेताहरु कान्छी बटुल्दै, किर्ते गर्दै हिँड्छन् अनि...

नेताहरु कान्छी बटुल्दै, किर्ते गर्दै हिँड्छन् अनि...

भनिन्छ, महिलाको शत्रु महिला नै । त्यस्तै भयो मेरो जिन्दगीमा पनि । अहिले शहरमा महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । नेता, कर्मचारी, एनजिओ/आइएनजिओ यो अभियान धुमधामसाथ मनाइरहेका छन् । तर, यही समयमा सत्ता शक्तिको चरम दुरूपयोग गरेर एक जना कांग्रेसी महिलाले ममाथि चरम यातना दिएकी छन् । उनको ज्यादतीविरुद्ध न्याय खोज्दै भद्रकालीस्थित महिला आयोग, प्रहरी अदालत र मिडियाको दैलो चाहार्दासमेत न्याय पाउन सकिरहेको छैन । के यो देशमा जसको अदालत, प्रहरी, प्रशासनमा पहुँच छैन तिनले न्याय नपाइ मर्नुपर्ने हो ? जसले बहुविवाहजस्तो अपराध गर्छ, त्यस्ताले राजनीतिको आडमा कहिलेसम्म छुट पाइरहने ? 

ममाथि चरम अन्याय गर्ने व्यक्ति हुन् महेश राई, भोजपुरको साल्पासिलिछो गाउँपालिकाका निवर्तमान अध्यक्ष । कांग्रेसबाट महासमिति सदस्य पनि । पहिलाकी पत्नी ०७८ जेठ अन्तिममा हृदयाघातको कारण निधन भएको ६ महिनापछि लमीसहित सुनाकोठीस्थित घरमा हेर्न आए । ०७८ साउन २६ गते दाजुको घरमा भेट भएको हो । तीन दिनपछि ललितपुरस्थित एक मलमा भेटेर बिहे गर्ने सहमतिमा पुग्यौँ । मंसिर १३ गते आफन्त तथा इष्टमित्रको उपस्थितिमा । किराँती रीतिरिवाजअनुसार सुम्निमा–पारुहाङलाई साक्षी राखेर विधिपूर्वक हामी बाँधियौं विवाह बन्धनमा । मगनीदेखि हरेक कुरा रीत पु¥याएर गरियो । देख्ने, सुन्ने प्रशस्त छन् । बिहेपछि दुल्हन फर्काएर सम्मान सत्कार गरेका छौं ।

०७८ मंसिर १३ गते विवाह भएको, काठमाडौंको बूढानीलकण्ठ–१० कपनमा भित्र्याइएको र भोलिपल्ट १४ गते सुष्मा राई, योगेन्द्र राई, सुयोङमी रार्ई, सुनिता लोप्चन, महेश राई, सञ्जय भन्ने सरोज राईसहित ७ जना साथी र आफन्तसँग नगरकोट घुम्न जाँदा होटलमा खिचेको भिडियो सुरक्षित छ । यसका अलावा कांग्रेसको महाधिवेशनका लागि विराटनगर र  इटहरीका विभिन्न होटलमा बसेर काठमाडौं सँगै फर्किएका हौं । केही समय ठीकै चलेको थयो । पुस अन्तिमतिर जरुरी काम परेको भन्दै महेश गाउँ गए र सम्पर्कविहीन बने ।

०७८ माघ १ गतेको कुरा हो यो । बिहान खाना खाएर म काममा निस्कें । बेलुका फर्किँदा ढोका खोलिएन । दुई जना सहयोगी बहिनीहरूलाई तारन्तार फोन गरें । उनीहरूले ढोका नखोल्नु, तपाईलाई भित्र छिर्न नदिनु भन्नुभएको छ भने । माथिबाट एउटी महिलाले म महेशकी श्रीमती हुँ, तँ को होस् भन्दै तथानाम गाली गर्न थालिन् । मेरै घरमा अर्की महिला आएर तथानाम गरेपछि आफन्त दाजु, दिदीहरूलाई खबर गरेँ । उहाँहरू कपन चौकीबाट २ जना प्रहरी लिएर आउनुभयो । तैपनि ढोका खोलिएन । यसरी आफ्नै घरमा प्रवेश नपाएपछि कपन, बौद्ध, टेकु, महिला सेल, महिला आयोग गयौं । कहीँबाट सहयोग पाइएन । 

बुझ्दै जाँदा मसँग विवाह बन्धनमा बाँधिएको तीन महिना नबित्दै महेशले कान्छी भिœयाएका रहेछन् । कानुनअनुसार पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोश्रो विवाह गर्न पाइँदैन तर कांग्रेसी नेतालाई ऐन, कानुन केही नलाग्नेरहेछ । यो अजंगको विरहको पहाड बिसाएँ तर प्रहरीले मैले दिएको निवेदन दर्ता नगरेर उल्टै झन् पीडित बनाउने काम ग¥यो । मेरो सौता बनेर भित्रिने माया राई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् । मभन्दा तीन महिना पछाडि भिœयाइएका मायालाई ‘जेठी’ देखाउन महेशले सरकारी कागजात कीर्ते गरेका छन् । मसँग बिहे भएको मितिभन्दा ११ दिनअघि अर्थात् मंसिर २ को मिति राखेर मायासँग विवाह दर्ता गराएका छन् । भन्छन् नि ढाँटेको कुरा काटे मिल्दैन । कमजोरी गर्नेहरूले केही न केही प्रमाण छाडेकै हुन्छ । आफैं पालिका अध्यक्ष भएपछि कर्मचारीलाई हाट्टहुट्ट गरेर मायासँग विवाह दर्ता गराइएको छ, ०७८ मंसिर २ मा । अनि साल्पासिलिछो गाउँपालिका–२ चौकीडाँडामा २०७८ फागुन १ को मितिमा विवाह दर्ताका लागि सूचना फाराम भरिएको छ । अर्थात् तीन महिनापछाडि कान्छीसँग विवाह दर्ताको फाराम भरिएको छ । 

उनले देखाउन तयार पारेको कीर्ते कागजपत्रअनुसार मै दोषी ठहरिएँ (कान्छी श्रीमती देखिए) । मेरो वेदना र पीडा सुन्नु त कहाँ हो कहाँ ? उल्टै तपाईंलाई थुन्छाँै भन्छ प्रहरी । लौ ठीक छ मै कान्छी भएँ । उसो हो भने एउटा कांग्रेसी नेताले ११ दिनको अन्तरमा दुई वटा विवाह गर्न पाउँछ ? कांग्रेसी भएकै कारण श्रीमती बटुल्दै हिँड्न छुट हुने हो ? यो कस्तो कानुन हो ? होइन भने प्रमाणसहितका विवरण पेश गर्दा प्रहरीले किन समाउन सक्दैन दोषीलाई ? त्यही हो नेताको आचरण र नैतिकता ? अनि अर्की श्रीमती छ भन्ने जान्दाजान्दै कांग्रेसकी नेत्री के देखेर महेशको पछि लाग्नुभएको ? विवाह गर्दा मान्छेलाई मात्र होइन, भगवान्लाई साक्षी राखिएको छ । दुल्हन फर्काएर सम्मान–सत्कार गरिएको छ । सारा गाउँले प्रमाण छन् तर प्रहरीले यसलाई प्रमाण मान्दैन । बुझ्दैन । अहिले पैसा र जग्गा दिने भन्दै अनेक लोभ देखाएर थुमथुम्याउन खोजेका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यजस्तो मान्छे भएर महिलामाथि नै अन्याय गरिरहेका छन् । धेरै लामो मिहिनेतपछि पाटन उच्च अदालतमा न्यायको लागि निवेदन दिएका थियौं । बल्लतल्ल दर्ता भयो । तर बयानको आधारमा सरकारी वकिल र प्रहरी मिलेर पीडकलाई गत कात्तिक २० गते पक्राउ गरेजस्तो गरी एकदिन मात्र राखेर मुक्त गरियो । अस्ति मंसिर १ गते सरकारी वकिल कार्यालयले यथेष्ट प्रमाण नपुगेकोले यो मुद्दा अघि नबढ्ने जनाएको छ । यसले मलाई झनै विक्षिप्त बनाएको छ । पीडकहरू महेश र मायामाथि हदैसम्मको कानुनी कारबाही होस् र मैले न्याय पाउन सकुँ । यसका लागि विद्वत् वर्गसँग सहयोगको याचना गर्दछु– यहाँको लोकप्रिय पत्रिकामार्फत । 

– हिमालय राई
 

टिप्पणीहरू