कसैले नागरिकता बिना पार्टी खोल्ने,कसैले बिदेशी भएर पनि मतदान गर्ने ?

कसैले नागरिकता बिना पार्टी खोल्ने,कसैले बिदेशी भएर पनि मतदान गर्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतावारे अनुसन्धान जारी छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनको नागरिकता र राहदानीलाई लिएर गम्भीर प्रश्न उठेको छ ।  

उनीसंग प्रक्रिया पुर्याएर लिइएको नयाँ नेपाली नागरिकता नभएको र सरकारलाई भ्रममा पारेर शून्य भैसकेको ०५० सालकै नागरिकताका भरमा पार्टी दर्ता गराएको भन्दै निर्वाचन आयोगमा उजुरीसमेत परिसकेको छ । पूर्व टिभी कार्यक्रम  प्रस्तोता लामिछानेको नागरिकता र राहदानी विवादबारे अनुसन्धान गर्न अख्तियारले गृह र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । 

त्यस्तै,प्रहरीले यसको विषयमा छानबिन अघि बढाउन काठमाडौंका सिडियो घनश्याम उपाध्याय र अमेरिकी दूतावासलाई पत्र लेखेको छ । रविको नागरिकता विवाद सल्टिन नपाँउदै अर्की विदेशी नागरिकले पनि गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गरेको कुरा सनसनीपूर्ण बनेको छ । 

गैरआवासीय नेपाली संघ,बेलायतकी पूर्व उपाध्यक्ष रोजिना प्रधान राईले गएको निर्वाचनमा मतदान गरेकी थिइन् । नेपाली नागरिकता त्यागेर बेलायतको नागरिक बनिसकेकी रोजिनाले मतदान गरेको तस्बिर सार्वजनिक गरेपछि उनी विवादमा तानिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूले मतदान गरेको जानकारी गराएकी थिइन् । स्टाट्स लेख्दै भनेकी छन्,‘मैले मतदान गरेँ,तपाईँहरुले पनि आफ्नो मौलिक अधिकार प्रयोग गर्नुभयो होला नि !’

नेपाली नागरिकता नै नभएकी उनले के आधारमा भोट दिइन् ? प्रश्न खडा भएको छ । नेपाली नागरिकता ऐन, २०६३  दफा १० को उपदफा (१) मा कुनै नेपाली नागरिकले आफूखुशी विदेशी मुलुकको नागरिकता प्राप्त गरेमा निजको नेपाली नागरिकता कायम नरहने उल्लेख छ । 

त्यस्तै,उपदफा (२) अनुसार नेपाली नागरिकले नेपाली नागरिकता त्याग्न तोकिएबमोजिम सूचना दर्ता गर्नुपर्ने र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन । तर,नेपाली नागरिकता त्यागिसकेको व्यक्तिले मतदान र पार्टी दर्ता गर्नुले सरकारी निकायको गम्भीर कमिकमजोरी देखाएको छ । गैरनागरिक रोजिना निर्वाचनको मतगणना कार्यमा समेत सहभागी भएको देखिन्छ । 

एनआरएनए,बेलायतका अध्यक्ष प्रेम गाहामगरबाट पराजित उनी केही महिनायता नेपालमै छिन् । ‘आईडिया फर नेपाल’ नामक अभियान चलाउने भन्दै पैसा संकलन गरेकी उनी त्यसपछि बेलायत फर्किएकी छैनन् । हाल उनको बेलायतमा खोजी भइरहेको स्रोत बताउँछ । विद्यार्थी भीसामा बेलायत पुगेकी उनले भूपू लाहुरेको कान्छी श्रीमती बनेर कागजात मिलाई उताको नागरिकता लिएकी हुन् ।

रोजिनाको विश्वविद्यालयको सर्टिफिकेट पनि हरिश ज्ञवाली भन्ने लोकल एजेण्टले बनाइदिएको बताइन्छ । रोजिना र उनको श्रीमान हिराधन राईको थेसिस लेखिदिने ज्ञवाली नै हुन् । श्रीमान,श्रीमती दुवैले एकैचोटि विश्वविद्यालयको सर्टिफिकेट लिएपछि उनीहरु चर्चामा समेत आएका थिए । 

रोजिनाको ठुल्ठूला दलका शीर्ष नेताहरुसंग राम्रो चिनजान छ । उनले बेलाबखत नेताहरुसंग खिचिएको फोटोहरु सामाजिक सञ्जालमा अपलोडसमेत गर्ने गरेकी छन् । विराटनगर घर भएका तुलसी पोखरेलले उनी र आइडिया हाउजिङ प्रालिका अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएका थिए । 

उनले दिएको मुद्दामा ‘चेक शून्य घोषित गरिपाऊँ’ भन्ने ब्यहोरा उल्लेख छ । उनीहरुबीच जग्गा खरिदबिक्रीको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । दुई पक्षबीच विराटनगर महानगरपालिका वडा नम्बर ४ मा भएका जग्गाहरु खरिदबिक्री गर्ने भनी २०७८ माघ ९ गते सम्झौता भएको थियो । 

प्रतिवादीका कम्पनीबाट विनयकुमार साह र दिपेश कार्कीले जग्गाधनी मन्जुदेवी पोखरेलको नाममा रहेको जग्गाहरु करार गरी लिएका थिए । उक्त जग्गा कम्पनीलाई खरिद गराउने भनी गरेको सम्झौतामा उल्लेखित शर्तहरु पालना नगरी आइडिया हाउजिङ प्रालि र प्रतिवादीहरु करार दायित्वबाट पन्छिएका थिए ।

जसले गर्दा आफूलाई ठूलो नोक्सानी भएको पीडितको आरोप छ । उनले करारबमोजिमको क्षतिपूर्ति पाऊँ भनेर निवेदन पनि दिएका थिए । यता,विपक्षीहरुले विभिन्न मुलुकबाट रकम आउन ढिला भएको बहाना बनाए । तर, उनीहरु रकम पठाउन र दायित्व पूरा गर्नबाट पन्छिएको पीडित बताउँछन् । 

उनीहरुले उक्त जग्गाको बजारीकरण र बस्ती विकास गर्ने कार्य गरेबापत कमिशन दिनुपर्ने माग राखेका थिए । उनले ४४ बिगाहा जग्गाको सम्पूर्ण मोल चुक्ता गराएपश्चात अमुक रकम पाउने गरी विपक्षीहरुलाई दिनुपर्ने रकम उल्लेख गरी चार थान चेक जारी गरिदिएका थिए । तर, उनीहरुले सम्झौताअनुरुप काम नगरेपछि उक्त चेकहरु बदर गर्न माग गर्दै पीडितले अदालत गुहारेका हुन् । यसरी बिदेश बस्ने कतिपय नेपालीले नागरिकता र राहदानी दुरुपयोग गर्दा नेपालको इज्जत,प्रतिष्ठा धुलो भएको छ ।

नेपालमा जे गर्दा पनि हुन्छ,यहाँ दुई चार हजार रुपैयाँ फाल्दा जस्तो कागज पनि सजिलै बन्नसक्छ भन्ने छाप परेकै कारण बिदेश जाने सारा नेपालीले हेय र शंकाको शिकार हुनुपर्ने अवस्था छ । यसवारे नेपालको न्यायालय,नेतागण,सरकारी अड्डा अदालत र जागरुक देशवासीले कडा खबरदारी गर्नुपर्ने देखिन्छ ।

यस विषयमा बुझ्न खोज्दा रोजिनाले आफूले विदेशी नागरिकता नलिएको, एक वर्षदेखि निरन्तर काठमाडौं–लण्डन–काठमाडौं ओहोरदोहोर गरिरहेको र आफ्नो प्रगति र स्वदेश सेवामा डाह गर्नेहरुले अफवाह फैलाएको बताइन् ।

 

टिप्पणीहरू