माओवादी अध्यक्ष प्रचण्ड खुमलटारदेखि सिंहदरबारसम्म दौडेको दौड्यै

माओवादी अध्यक्ष प्रचण्ड खुमलटारदेखि सिंहदरबारसम्म दौडेको दौड्यै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो बिहानदेखि साँझसम्म भेटघाटमा निकै व्यस्त हुनुभयो । चुनावको अन्तिम परिणाम आइसकेपछि गठन हुने नयाँ सरकारको नेतृत्वबारे बढ्दै गएको चासोसँग उहाँको व्यस्ततालाई जोडेर हेरिएको बताइन्छ । 


हिजो बिहान खुमलटारस्थित प्रचण्ड निवासमा अध्यक्षसँग जसपा नेता तथा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतबीच बिहान सवा ७ बजेको समयमा कुराकानी भएको थियो ।

राउतको भेटघाटपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल खुमलटार पुग्नुभएको थियो । अध्यक्ष दाहाल र नेता खनालबीच बिहान साढे ८ बजेदेखि ९ बजेसम्म भेटवार्ता भयो ।

नेता खनालसँग भेटघाट गरेपछि अध्यक्ष दाहाल हात्तीवनस्थित सिटीस्केप हाउजिङस्थित भानिज गोकुल भण्डारीको निवास पुग्नुभएको बताइन्छ । त्यहाँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त रुपमा बिहान सवा ९ बजेदेखि १० बजेसम्म भेटवार्ता भयो ।

भानिजको घरबाट निस्केपछि प्रचण्ड हात्तीवनस्थित माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवास पुग्नुभयो । उहाँहरुबीच बिहान सवा १० बजेदेखि सवा ११ बजेसम्म भेटघाट भएको माओवादी स्रोतले बतायो ।


दिउँसोको समयमा पनि उहाँ भेटघाटको निम्ति सिंहदरबार पुग्नुभयो । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच कुराकानी भएको थियो । दिउँसो १ बजेको समयमा भएको भेटवार्तामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी भएको बताइन्छ । 


अपरान्ह नयाँ बानेश्वरको थापागाउँस्थित प्रेसिडेन्टल बिजनेस स्कुलमा अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, माओवादी उपाध्यक्ष श्रेष्ठ,उपमहासचिव पम्फा भुसाल र एकीकृत समाजवादीका नेता डा. विजय पौडेललगायतबीच कुराकानी भएको थियो । अपरान्ह ४ बजेदेखि साढे ५ बजेसम्म भएको कुराकानीलाई गोप्य राखिएको छ ।

टिप्पणीहरू