तारा बरालले अहिले बारको गेटैमा धर्ना

तारा बरालले अहिले बारको गेटैमा धर्ना

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको समर्थनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुलाई जुत्ता हानेकी अभियन्ता भनिने तारा बराल आज नेपाल बार एसोशिएसनको कार्यालयमा धर्ना कस्न जाने भएकी छन् । 

चोलेन्द्रलाई अदालत फर्किन रोक्ने बारको आन्दोलनका बिरोधमा बरालको टोली निरन्तर लागिरहेको छ । सोही क्रममा आज दिउँसो कुपण्डोलस्थित बारको ललितपुर कार्यालय घेराउसहित हुने विरोध प्रदर्शनमा उनी सहभागी हुन लागेकी हुन् । 

यसअघि प्रधानन्यायाधीश राणाले पटक-पटक अदालत फर्किने प्रयास गर्दा बरालको टोली सर्वोच्चको गेटमै पुगेर समर्थनमा नारावाजी गरेको थियो । पछिल्लो पटक संसद सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र दिएपछि राणा सर्वोच्च फर्किने चर्चा चल्दा पनि  बरालसहितको टोलीले सर्वोच्चको गेटमा नारावाजी गरेको थियो । 

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बारको अगुवाइमा सर्वोच्च परिसरमा धर्ना चलिरहेका बेला बराल 'चोलेन्द्र जिन्दावाद' भन्दै नारावाजीमा उत्रिएपछि केहीबेर घम्साघम्सीसमेत भएको थियो । पछि उनलाई समातेर प्रहरीले सिंहदरबार वृत्तमा राख्यो ।

टिप्पणीहरू