पोखरामा रोकियो कार्यक्रम,जहाज कम्पनीहरुसङ्ग मागियो फिर्ता रकम

पोखरामा रोकियो कार्यक्रम,जहाज कम्पनीहरुसङ्ग मागियो फिर्ता रकम

कास्कीको पर्यटकीय नगरी पोखरामा आयोजित नेपाल बार एशोसिएशनको कार्यक्रम अन्तिम समयमा एकाएक रद्द भएको भएसङ्गै टिकट काटिसकिएका वकिलहरुको पैसा फिर्तावारे पत्राचार शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा आउने भएपछि पोखरामा स्थगित कार्यक्रम हिजोबाट काठमाडौंमा शुरु भएको छ । 

प्रधानन्यायाधीश जबराको हातमा निलम्बन फुकुवाको पत्र परेसङ्गै बारका पदाधिकारीहरु कामकाज छोडेर सर्वोच्च अदालतको गेटमा धर्ना दिन कस्सिएका थिए । संसद सचिवालयका महासचिव डा.भरत गौतमले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि उनी निरन्तर सर्वोच्च फर्किन तयारीमा थिए । 

जसले गर्दा बारका पदाधिकारीहरु कार्यक्रम स्थगित गरेर उनलाई रोक्नतर्फ लागिपरे । मुख्य अतिथिहरु नै सर्वोच्चमा धर्ना बसेपछि अन्तिम समयमा कार्यक्रम स्थगित गर्नुपरेको थियो । 

बारको आकस्मिक निर्णयले गर्दा धेरै कानुन व्यवसायीको हवाई टिकट रद्द गर्नुपर्यो । जसका कारण बारले बुद्ध एयर प्रालि,यति एयर प्रालि,गुण एयरलायन्स र श्री एयरलायन्सका निर्देशकलाई पत्र लेख्दै टिकटको रकम फिर्ता गरिदिन आग्रह गरेको थियो । 

मंसिर २४ र २५ गते आयोजित मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी र ४८ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठक गत मंसिर २१ गते बार कार्यसमितिको बैठकले स्थगित गरेको थियो । 

बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट टिकट काटेका कानुन व्यवसायीको पैसा खेर जाने भएपछि बारले सबै एयरलायन्सलाई टिकट रद्द गरेर रकम फिर्ता दिने प्रबन्ध मिलाइदिन आग्रह गरेको थियो । 

बारले भनेको छ,‘नेपाल बार एशोसिएशनमा आबद्ध कानुन व्यवसायीहरु तथा अतिथि महानुभावहरुको हकमा त्यस प्रख्यात एवम विश्वसनीय एयरलायन्समार्फत लिइएको हवाई टिकट रद्द गर्न माग गरेको अवस्थामा हवाई टिकट रद्द गरी रकम फिर्ता गरिदिने प्रबन्ध मिलाइदिनुहुनको लागि सादर अनुरोध गर्दछौं ।’

बारका सचिवालय तथा केन्द्रीय सदस्य सन्तोषकुमार राउतले एयरलायन्सहरुसंग निरन्तर कुराकानी भइरहेको जानकारी दिए । ‘हामीहरुले एयरलायन्ससंग निरन्तर कुराकानी गरिरहेका छौं’, उनले भने,‘एयरलायन्सहरु यस विषयमा सकारात्मक नै देखिएका छन् ।’

टिप्पणीहरू