ठेकेदार कम्पनीलाई सिंहदरबार बोलाउँदै मन्त्री चौधरी सोध्नुभयो ? ‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’

ठेकेदार कम्पनीलाई सिंहदरबार बोलाउँदै मन्त्री चौधरी सोध्नुभयो ? ‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’

सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनाको काममा भएको ढिलाइप्रति असन्तुष्टी जनाउनुभएको छ । उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाको अनुगमनका क्रममा उहाँले असन्तुष्टी पोख्नुभएको हो ।

हिजो भैंसीपार्टीमा निर्माण भइरहेको संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासको स्थलगत निरीक्षणलगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग र ठेकेदार कम्पनीहरुसँग छलफल गर्नुभएको थियो । ‘काममा किन ढिलाई ? पाँच महिनापछि आउँदा पनि अवस्था किन उस्तै ? ढिलाई गर्दा कमिशन बढ्छ ?’ चौधरीको प्रश्न थियो । मन्त्रीको प्रश्नले रातोपिरो हुँदै मुखामुख गरेका कर्मचारीले भने कोभिडका कारण ढिलाई भएको जवाफ दिएका थिए । 

त्यसपछि मन्त्री चौधरीले सोध्नुभयो, ‘कोभिड सकिएन ?’ निर्माण कम्पनीहरुले भने स्थानीयले दुःख दिँदा काम गर्न नसकिएको बताए । ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नुपर्यो मलाई भन्नुस्,’ उहाँको जवाफ थियो ।

लगत्तै मन्त्री चौधरी भैंसीपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षण गर्न पुग्नुभयो । तर, त्यहाँ पनि सोचेअनुरुप प्रगति नदेख्दा उहाँ थप असन्तुष्ट हुनुभयो । मन्त्री चौधरीले सम्बन्धित पक्षलाई छलफलका लागि आइतबार मन्त्रालयमा उपस्थित हुनसमेत निर्देशन दिनुभएको छ ।

यसअघि मन्त्रालय सम्हालेलगत्तै मन्त्री चौधरीले तीनै संरचनाको एकसरो अनुगमन गर्नुभएको थियो ।

टिप्पणीहरू