करोडौं हिनामिना गरेर ज्वाईं फरार,सासूलाई राप्रपाबाट माननीय उपहार

करोडौं हिनामिना गरेर ज्वाईं फरार,सासूलाई राप्रपाबाट माननीय उपहार

राष्ट्रिय प्रजातन्त्र पार्टीले करोडौं रकम हिनामिनाको आरोपमा मुछिएकी व्यक्तिलाई समानुपातिक सांसद चयन गरेको छ । अन्य राजनीतिक पार्टीझैं राप्रपाले पनि हिजो समानुपातिक सांसद् छनौट गरेको थियो । राप्रपाले समानुपातिकतर्फ सात जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । 

उसले पाँच महिलासहित सात जनाको नाम आयोगमा पेश गरेको छ । आयोगमा बुझाइएको सूचीको पहिलो नम्बरमा धादिङ्गका बुध्दिमान तामाङ,धादिङ्गकै बिना लामा,सिन्धुपाल्चोकका पशुपतिसमशेर जबरा,ललितपुरका रोशन कार्की,बर्दियाकी गीता बस्नेत, सल्यानकी अनिशा नेपाली र पर्साकी बिना जयसवाल अन्तिम नम्बरमा छिन् ।  

खस आर्यतर्फ महिला कोटामा परेकी गीता बस्नेतका ज्वाईंले सहकारी संस्थाको करोडौं रकम हिनामिना गरेको पाइएको छ । बर्दियाको नमस्ते सेभिङ्ग एण्ड क्रेडिट लिमिटेडका अध्यक्ष नरेन्द्र रिमाल र प्रबन्धक सञ्जिवकुमार महतो सदस्यको करोडौं रुपैयाँ लिएर महिनौंदेखि सम्पर्कविहिन छन् । 

बर्दियाको गुलरियास्थित कृष्णसार रिसोर्टको मालिकसमेत रहेका उनी ३८ करोड रुपैयाँ लिएर फरार भएको स्रोतले बताएको छ । २० करोड लगानीमा खुलेको उक्त रिसोर्टसमेत गीताकै नाममा छ । यता,उनले ज्वाईंको पैसामा जग्गा पनि खरिद गरेको स्रोत बताउँछ । 

"बर्दियाको गुलरियास्थित कृष्णसार रिसोर्टको मालिकसमेत रहेका उनी ३८ करोड रुपैयाँ लिएर फरार भएको स्रोतले बताएको छ । २० करोड लगानीमा खुलेको उक्त रिसोर्टसमेत गीताकै नाममा छ । यता,उनले ज्वाईंको पैसामा जग्गा पनि खरिद गरेको स्रोत बताउँछ । "

रिजाल र महतो बेपत्ता भएको र संस्था पनि बन्द रहेको भन्दै पीडितहरुले प्रहरीमा उजुरीसमेत दिएका छन् । गुलरिया नगरपालिका वडा नम्बर ७ को पूर्व वडाध्यक्ष र मेयरको उम्मेदवारसमेत रहेकी उनैको आडमा ज्वाईं रिमालले यस्तो काम गरेको स्रोतको दाबी छ ।

यत्रो रकम लिएर ज्वाईं फरार भएपछि गीताले पनि अघिल्लो शनिवार सहकारीको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । यता, सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले आफूलाई यसबारे केही जानकारी नभएको बताए । 

‘यसबारे हामीलाई केही थाहा छैन,’, उनले भने,‘यसको सम्पूर्ण जानकारी प्रहरीलाई हुन्छ । जुन मुध्दा परेपनि प्रहरीले नै हेर्छ ।’ सहकारीको पैसा हिनामिना भएको खण्डमा कार्यसमितिमा बस्ने सबै जना अनुसन्धानमा तानिने उनको भनाइ छ । 

त्यस्तै, जिल्ला प्रहरी कार्यालय, बर्दियाका नायव उपरीक्षक (डिएसपी) हिक्मत बोहोराले सहकारीविरुध्द उजुरी आएको जानकारी दिए । पीडितहरुले निवेदन दर्ता गराएको उनको भनाइ छ । ‘सहकारीविरुध्द ठाडो निवेदन आएको छ’, उनले भने,‘यस विषयमा छानबिन भइरहेको छ । उहाँहरुको फोन पनि बन्द छ ।’ 

सहकारी बोर्डका प्रतिनिधिहरुले अध्ययन,अनुसन्धान गरिरहेको डिएसपी बोहोरा बताउँछन् । बोर्डले रिपोर्ट दिएपछि प्रहरीले कारबाही अघि बढाउने उनले बताए । यता, आरोपमा मुछिएकी गीताले आक्रोशित हुँदै आफूलाई यो विषयमा केही पनि नसोध्न भन्दै जवाफ फर्काइन् । ‘मलाई यो विषयमा केही पनि नसोध्नुस्’, उनले भनिन्,‘जुन सहकारी संस्था हो त्यहीँ  गएर बुझ्नुस् ।’

राप्रपाले करोडौं आरोपमा मुछिएको व्यक्तिको नाम किन समानुपातिकतर्फ सिफारिस गर्यो ? गम्भीर प्रश्न खडा भएको छ । सर्वसाधारणले पसिना बगाएर कमाएको रकम कुम्ल्याएर हिँड्नेको नातेदारलाई चयन गरेपछि यतिखेर भित्रैबाट विरोध शुरु भएको छ । 

पहुँच र पैसाको आडमा उनको नाम समानुपातिकमा पठाइएको जानकारहरुको बुझाइ छ । निर्वाचन आयोगले समानुपातिक सांसद्को नाम फिर्ता गर्न दुई दिनको समय दिएको छ ।

टिप्पणीहरू