राप्रपाबाट माननीय बन्न लागेका प्रेमको बहुप्रेम छताछुल्ल

राप्रपाबाट माननीय बन्न लागेका प्रेमको बहुप्रेम छताछुल्ल

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिक सांसदको अन्तिम नामावली प्रकाशित नगर्दै राप्रपाका प्रेम थाम्सुहाङ विवादमा तानिएका छन् । दलहरुले पेश गरेको नाम सच्याउन आज एक दिनको समय दिइएको छ ।

आयोगले त्यसपछि समानुपातिकतर्फका प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरुको नामावली घोषणा गर्ने तयारी छ । तर यही बेलामा राप्रपा प्रदेश सभा १ को बन्दसूचीमा रहेका जनजाति क्लस्टरका प्रेमराज थाम्सुहाङमाथि बहुविवाहको आरोप लागेको छ ।

निर्वाचन आयोगले जारी गरेको मतदाता नामावलीमा उनका दुई जना श्रीमतीहरु तीर्थकुमारी र सबिता थाम्सुहाङको नाम भेटिएपछि उनीमाथि बहुविवाहको आरोप लागेको हो । सोही कारण प्रदेश सभामा समानुपातिकको सूचीबाट उनको नाम हटाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

आयोगमा निवेदन दर्ता गराउँदासमेत बहुविवाह गरेका व्यक्तिहरूलाई समानुपातिकको सूचीबाट हटाउने व्यवस्था नभएको जवाफ पाएपछि अभिवक्ता केदार लुईंटेलले शुक्रबार रिट निवेदन दर्ता गराएको बताएका छन् ।

सर्वोच्च अदालतमा सो रिटमाथि हिजो सुनुवाई हुन नसकेपछि आजलाई पेसी तोकिएको छ । रिट निवेदनमा बहुविवाह गरी समानुपातिकको सूचीमा परेका व्यक्ति,निर्वाचन आयोग तथा सम्बन्धित राजनीतिक दललाई समेत विपक्षी बनाइएको छ ।

मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसूरको रुपमा परिभाषित गरिएको उल्लेख गर्दै अभिवक्ता लुईंटेलले अझैपनि राजनीतिक दलले कानून निर्माण गर्ने विधायकमा सजाय पाउने कसूरदारलाई सिफारिस गरेर कानुनकै धज्जी उडाएको आरोप लगाएका छन् ।

आर्थिक चलखेलका कारण दलहरुले यस्ता विवादास्पद व्यक्तिलाई विधायकको रुपमा चयन गर्दा मुलुकमा विधिको शासनमाथिको चुनौति कायम रहने उनको भनाइ छ ।

टिप्पणीहरू