रविको पार्टीभित्र भाँडभैलोको संकेत,महामन्त्रीमाथि ‘क्लब’ चलाएको आरोप

रविको पार्टीभित्र भाँडभैलोको संकेत,महामन्त्रीमाथि ‘क्लब’ चलाएको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले समानुपातिक सूचीमा मनोमानी गरेको भन्दै रवि लामिछाने नेतृत्वको पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

समानुपातिकतर्फ १३ जना सदस्यको नाम छान्दा आफ्नी गुरुआमा डा. चन्दा कार्कीलाई नियम मिचेर सांसद बनाएपछि उनीविरूध्द केन्द्रीय सदस्य गणेश कार्की र दीपक बोहोरा समूह खनिएको हो । 

केन्द्रीय सदस्य कार्कीले पार्टी महामन्त्री ढकालले आफ्नी गुरुआमालाई गुरुदक्षिणा दिएपछि आफू र अर्का केन्द्रीय सदस्य दीपक बोहोरा सांसद नभएको दाबी गरेका छन् । पार्टी सभापति रवि लामिछानेलाई समेत गुमराहमा राखेर उनले समानुपातिक सूचीमा आफूखुशी कैंची चलाएको रवि पक्षधरहरुको गुनासो छ ।

‘देशभर फैलिरहेको नयाँ पार्टीलाई मुकुल ढकालले ठूलो घात गरे । सुरुआती चरणमै नचाहिँदो पावर शो गरे । ढकालजी महामन्त्रीजस्तो निर्णायक पदमा बस्न योग्य देखिएनन् । पार्टी चलाउने कुरा क्लब चलाएजस्तो होइन नि ! रवि दाइले यस्ता कुरामा ध्यान नदिने हो भने यो पार्टीको पनि कुनै काम छैन,’एक केन्द्रीय सदस्य भने ।

समानुपातिक सूची बोकेर पार्टी कार्यालयदेखि निर्वाचन आयोगसम्म दौडिरहेका महामन्त्री ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको अपमान गरेको केन्द्रीय सदस्य कार्की–बोहोरा समूहका एक नेता बताउँछन् ।

स्रोतका अनुसार सभापति लामिछानेलाई शुरुदेखि नै साथ दिँदै आएका केन्द्रीय सदस्य दीपक बोहोरा र निर्वाचनमा राम्रोसँग खटिएको भनिएका केन्द्रीय सदस्य गणेश कार्कीलाई सभापतिको ‘कोर टिम’ बाट बाहिर राख्ने महामन्त्री ढकालको चाहना भएको अर्को आरोप पनि लागेको छ ।

‘मुकुलजीभन्दा पार्टीमा दीपक दाइ र गणेश दाइको धेरै योगदान छ । उहाँ रवि दाइका कारण महामन्त्री चुनिनुभएको हो । तर उहाँमा एकाएक दम्भ बढ्यो । पार्टी भनेकै मै हुँजस्तो गर्न लाग्नुभयो । यस्तो पनि हुन्छ ? यसरी चल्छ पार्टी ?,’ बोहोरानिकट एक जना सदस्यले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी तथा वरिष्ठ नेताहरूले महामन्त्री ढकालकी गुरुआमा डा. कार्कीसँगै केन्द्रीय सदस्य निशा डाँगी र पूर्वपत्रकार विनिता कठायतलाई नियम मिचेर सांसद बनाएको दाबी गरेका छन् । महामन्त्री ढकालको भूमिकालाई लिएर धेरैजसो केन्द्रीय सदस्य असन्तुष्ट रहेको बताइन्छ ।

‘निर्वाचनपूर्व पार्टीभित्र एउटा नौलो अभ्यास प्रयोग गरियो,आन्तरिक प्रजातन्त्र । तर सांसद छान्ने बेला आफ्नै मान्छे छानियो । यो राम्रो संकेत होइन । महामन्त्री ढकालले रविको पार्टी बनाउँदैनन्,डुबाउँछन्,’ लामिछाने निकट अर्का नेताले आक्रोश पोखे ।

टिप्पणीहरू