गगनका ससुरालाई बालकोट बोलाएर केपी ओलीले भन्नुभो, एमालेको समर्थनमा सरकार बनाउनु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव दोहोर्याउनु भएको छ । दुई ठूला दल मिल्नुपर्ने कतिपय एमाले नेताहरुका धारणा सार्वजनिक भैरहेका बेला हिजो कांग्रेस नेता अर्जुन नरसिंह केसीलाई आफ्नै निवासमा बोलाएर उहाँले सहकार्यको प्रस्ताव राख्नुभएको हो । केसीको आज माओवादी अध्यक्ष प्रचण्डलाई भेट्ने कार्यक्रम छ
हिजो साँझ बालकोटमा भएको भेटमा अध्यक्ष ओलीले कांग्रेस र एमाले मिलेर मुलुकमा राजनीतिक स्थिरता दिनुपर्ने धारणा राख्नुभएको बताइएको छ । तर,ओलीको प्रस्तावमा नेता केसीले भने तत्काल आफूले त्यस्तो सम्भावना नदेखेको जवाफ फर्काउनुभएको थियो । गठबन्धन गरेर चुनावमा गएकाले यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने नैतिक दायित्वमा कांग्रेस रहेकाले अहिले नै अर्को विकल्पमा जाने सम्भावना नरहेको केसीको जवाफपछि समसामयिक राजनीतिका विषयमा छलफल चलेको थियो ।
भेटका क्रममा झण्डै साढे २ घण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकार स्रोतले जनाएको छ । पछिल्लो समय विकसित परिस्थिति र त्यसले नेपाली राजनीतिमा पार्ने प्रभावका विषयमा ओली र केसीले आ-आफ्ना दृष्टिकोणसहितका धारणा राख्नुभएको बताइएको छ ।
त्यस्तै,निर्वाचन परिणामप्रति समेत अध्यक्ष ओली सन्तुष्ट नदेखिएको भेटघाटबारे जानकार स्रोतले बताएको छ । खासगरी स्वतन्त्र उम्मेदवार र नयाँ दलहरुप्रति ओलीले असन्तुष्टि जनाउनु भएको थियो । बालकोटको बोलाहटमा भेटघाट भएको भनिएपनि नेता केसीले भने नुवाकोटबाट फर्केपछि सबै शीर्ष नेतालाई भेट्ने क्रममा ओलीसंग पनि भेट भएको बताउनुभयो ।
नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन भत्काउन रणनीतिक योजनामा रहनुभएका ओलीले निर्वाचनको परिणाम सार्वजनिक भैरहँदा काँग्रेसका अर्का नेता प्रकाशमान सिंहलाई पनि सोही प्रस्ताव राख्नुभएको थियो । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी वामपन्थी सरकार गठनको प्रस्ताव गर्नुभएको चर्चा थियो ।
टिप्पणीहरू