दलबदलु थुप्रैको खुलेको अनि खुल्यो दिन
भनिन्छ,संसदीय राजनीतिमा नैतिकताको प्रश्न गौण हुन्छ । जसरी पनि चुनाव जित्नु संसदीय व्यवस्थाको खास विशेषता नै हो । त्यसैले त वर्षौ रगत पसिना बगाएर आफैंले बनाएको पार्टी चटक्क छोडी मन्त्री,सांसद पदका लागि अर्को पार्टीमा लाग्नेहरु खुलेआम देखिन्छन् । गत मंसिर ४ को चुनावमा पनि दल बदल्नेहरुको भीड थेगिनसक्नु थियो ।
टिकट पाउनका लागि ‘इधर उधर’ गर्ने प्रवृत्तिसँगै अर्को पार्टीका मान्छेलाई भित्र्याएर चुनाव जित्न सकिन्छ भन्ने मनोविज्ञानले ग्रस्त राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा थुप्रै नवप्रवेशीलाई सांसद बनाएका छन् । खासगरी नेकपा एमालेले अन्य दलका धेरैलाई हाताहाती टिकट दिएर भित्र्याएको थियो । जसमध्ये कतिपयले चुनाव जिते भने केहीले पराजय व्यहोरे ।
प्रत्यक्षमा मात्र होइन यसपटक धेरैले पार्टी फेरेर समानुपातिकमा नाम सुरक्षित गराए । एमालेले पाएको ३४ जना समानुपातिक सांसदमध्ये आधा दर्जन जति नवप्रवेशीको संसद प्रवेश निश्चित भएको छ ।
दल बदलेर माननीय खानेमध्येका एक हुन् देवीप्रसाद भट्टचन । लामो समय काँग्रेसको राजनीति गरेका उनी चुनावको मुखमा एमाले प्रवेश गरेर समानुपातिकमा नाम सुरक्षित गर्न सफल भएका हुन् । एमालेले आदिवासी जनजाति पुरुष क्लस्टरमा उनलाई सांसद सिफारिस गरेको छ ।
पार्टी फेरेर संसद यात्रा 'कन्फर्म' गर्ने अर्का नेता हुन् नैनकला थापा । माओवादी जनयुध्दका शीर्षमध्येका एक रामबहादुर थापा बादलकी श्रीमती हुन् उनी । तत्कालीन नेकपा विभाजनपछि पति बादल एमालेमै रहेपछि राजनीतिमा नदेखिएकी उनी १३ दिने मन्त्रीसमेत बनेकी थिइन् । प्रत्यक्षमा चुनाव लड्न चाहेका बादललाई त्यसै पन्छाएको एमालेले नैनकलालाई भने समानुपातिक सांसद बनाएको हो ।
एमाले वृत्तमा भूकम्प नै ल्याउने गरी समानुपातिकबाट सांसद बन्न सफल होलिवाइनका प्रवर्तक मानिने एकनाथ ढकाल परिवार दलको अध्यक्ष हुन् । तर,एमालेमा लामो समय योगदान गरेका थुप्रै पुराना नेतालाई जिल्याउँदै ढकाल समानुपातिक सांसद बन्न सफल भएका छन् । स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेका उनी सूर्य चिन्ह लिएर चुनावमा होमिएका थिए । फलत: उनको भाग्य खुल्यो र एमालेले समानुपातिकको खस-आर्यतर्फ दोस्रो नम्बरमा नाम राखेर पठायो ।
दल बदलेको फाइदा उठाउने अर्का भाग्यमानी हुन् हेमराज राई । निर्वाचनको केही महिना अघिसम्म जनता समाजवादी पार्टी (जसपा) मा थिए । एमाले पृष्ठभूमिका उनले अन्तत: चुनावको मुखमा पुरानै घर फर्किएर संसद यात्रा पक्का गरेका छन् । उनले १० वर्षअघि नेकपा एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै पार्टी छोडेका थिए ।
अमृता अग्रहरीलाई पनि एमाले प्रवेशको फाइदा भएको छ । जसपाकी नेत्री उनलाई सांसद बनाउने शर्तमा चुनावको मुखैमा एमाले प्रवेश गराइएको चर्चा थियो । सोहीअनुसार समानुपातिक सूचीमा परेकी उनको संसद यात्रा निश्चित भएको हो ।
उम्मेदवारी मनोनयनको एक दिनअघि कांग्रेस छोडेर एमालेमा छिरेका अमृत राजवंशी पनि सांसद भएका छन् । एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापाका राजवंशी थुप्रै पुराना एमाले नेतालाई पन्छाउँदै समानुपातिकबाट सांसद बन्न सफल भए । पार्टी बदल्ने आफ्नो निर्णय उनलाई फलिफाप हुन पुग्यो ।
टिप्पणीहरू