भीआईसीए र डीआईआरईसीटीको सेवा ल्याउँदै एनआईसी एसिया

भीआईसीए र डीआईआरईसीटीको सेवा ल्याउँदै एनआईसी एसिया

एनआईसी एसिया बैंकको खातामा अब भीआईसीए÷डीआईआरईसीटीमार्फत सिधैँ रकम पठाउन मिल्ने भएको छ । 

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैकिङ्गको अभ्यास गर्दै आइरहेको यस बैंकले अब विश्वका विभिन्न देशबाट भीआईसीए÷डीआईआरईसीटीमार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ गरेको छ । 

भिसा इन्टरनेसनलसँग सहकार्य गर्दै यस बैंकले आफ्ना ग्राहकसामु यो नवीन सेवाको सुरुवात गरेको हो । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका सय ओटाभन्दा बढी देशबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नुहुने बताइएको छ । 

साथै, यस सेवाअन्तर्गत विश्वका कुनै पनि भीआईसीए÷डीआईआरसीटी प्लेटफर्ममार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिने व्यवस्था छ । त्यसका लागि रकम पठाउनुहुने विदेशी तथा स्वदेशीले आफ्नो मोबाइल÷इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटयान्स कम्पनीमार्फत बैंकले जारी गरेको १६ अंकको भीआईसीए कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नुहुने छ ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस सेवाले रेमिटयान्स सम्प्रेषणलाई पनि सहज बनाउने विश्वास बैंकले लिएको छ ।

आम जनमानिसले गरेको विश्वास, स्नेह र भरोसाले यस बैंकले अहिलेसम्म मुलुकभर ३५९ वटा शाखा कार्यालय, ४७३ वटा एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्षका उमेर समूहको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यो बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुप्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजस्व यस बैंकले नेपाल सरकारलाई भुक्तान गरिसकेको छ । 

गत आर्थिक वर्षमा करिब ३ अर्ब ४१ करोडभन्दा बढी राजस्व सरकारलाई बुझाई समग्र वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन यो बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीको तुलनामा छैठौं ठुलो योगदान रहेको छ । 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता दुर्गम जिल्लामा पनि यस बैंकले हालसम्म ३४ वटाभन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा यस बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरिसकेको छ ।

टिप्पणीहरू