फूलमालासहित रेशम चौधरीका कार्यकर्ता जेलमा
हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता,कार्यकर्ता डिल्लीबजार कारागारअगाडि भेला हुन थालेका छन् ।
सरकारले आन्दोलनका दौरान जेल परेका विभिन्न राजनीतिक समूहका नेता-कार्यकर्तालाई छुटाउन कानुन संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सो पार्टीका कार्यकर्ता चौधरीको स्वागतका लागि कारागार अगाडि भेला भएका हुन् । आज बिहानैदेखि डिल्लीबजार कारागारमा रहेका चौधरी छुट्ने हल्ला चलेको थियो ।
हिजो साँझ बसेको क्याबिनेट बैठकले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै चौधरीको पत्नीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम कारागारबाट छुट्ने प्रतिक्रिया दिएकी थिइन् ।
अहिले डिल्लीबजार कारागार अगाडि सडकमा चौधरीका कार्यकर्ता पार्टीको झण्डा र फूलमालासहित उपस्थित भएका छन् । डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ ।
चौधरीले गत वर्ष जेलबाटै पार्टी दर्ता गराएका थिए । उनको पार्टीले मङ्सिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ ३ सीट जितेको छ । अहिलेको त्रिशंकु संसदमा नागरिक उन्मुक्तिको तीन सीट सरकार गठनका लागि महत्वपूर्ण बनेपछि चुनाव सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए ।
भेटमा नयाँ बन्ने सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागी हुन आग्रह गरेका थिए । जवाफमा चौधरीले थरुहट आन्दोलनमा सहभागीमाथि लगाइएको मुद्दा खारेज र आममाफी दिनुपर्ने प्रस्ताव गरेका थिए ।
टीकापुर हत्याकाण्डमा एक बालकसहित आठ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । साे घटना चाैधरीकै निर्देशनमा भएकाे भन्दै अदालतले उनलाई आजीवन कारावासकाे सजाय सुनाएकाे हो । तर सरकारले अध्यादेश जारी गर्ने भन्दैमा रेशम चौधरीहरु छुटिहाल्न तत्काल सहज भने देखिन्न ।
टिप्पणीहरू