खुमलटार र कोटेश्वरमा काङ्ग्रेस नेता को-को पुगे ?
नयाँ सरकार गठनका लागि आन्तरिक तथा बाह्य शक्तिहरुका प्रत्यक्ष-परोक्ष दौडधुप चलिरहेका बेला दुई वामपन्थी नेताको निवासमा राजनीतिक भेटघाट बाक्लिएको छ । निर्वाचनपछि दुई ठूला दल काँग्रेस र एमालेले आ-आफ्नो नेतृत्वमा सरकार गठनको भित्री प्रयास गरिरहेको सन्दर्भमा माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षको निवासमा भेटघाटले तीब्रता पाएको हो ।
निर्वाचनपछि प्रधानमन्त्रीमा दावी गर्दै आएको प्रतिनिधिसभाको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतका बिभिन्न पार्टीका नेताहरु दिनहुँ खुमलटार पुग्ने गरेका छन् । आफ्नो नेतृत्वमा वामपन्थी सरकार बनाउन सुषुप्त पहल गरिरहेको एमाले नेताहरुले पनि प्रचण्डलाई भेटेका खबर आइरहेका छन् ।
अध्यक्ष प्रचण्डले हिजो मात्रै दर्जनौँ भेटघाट गर्नुभयो । बिहानै निवर्तमान सभामुख अग्निप्रसाद सापकोटालाई भेट्नुभएका उहाँले लगत्तै कांग्रेस नेतासंग छलफल गर्नुभयो । प्रचण्डलाई भेट्न बिहान सातै बजे सापकोटा खुमलटार पुग्नुभएको थियो । उहाँहरुबीच झण्डै एक घण्टा कुराकानी भएको बताइएको छ ।
सापकोटा निस्केलगत्तै पूर्वराष्ट्रियसभा सदस्य तथा कांग्रेस नेता राधेश्याम अधिकारी खुमलटार छिर्नुभयो । पौने ९ बजे त्यहाँ पुग्नुभएका उहाँ साढे ९ बजे बाहिरिएको खुमलटार स्रोतले जनाएको छ । त्यसपछि सोही भेटघाटमा माओवादी नेताहरु थपिएका थिए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारी र माओवादीको चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव छलफलमा सहभागी थिए । बिहान साढे ९ देखि एक घण्टा सामुहिक छलफल भएको बताइएको छ ।
यता,प्रत्यक्षतर्फ १० सीट जितेर सरकार गठनमा महत्वपूर्ण शक्ति बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा पनि भेट्न आउनेको घुइंचो उस्तै छ । हिजो बिहानै अध्यक्ष नेपाललाई भेट्न माओवादी केन्द्रका नेता डिलाराम आचार्य कोटेश्वर पुग्नुभएको थियो । उहाँहरुबीच बिहान ८ देखि सवा ९ बजेसम्म भेटवार्ता भएको जनाइएको छ ।
लगत्तै डोटीबाट चुनाव जितेका पूर्वमन्त्री प्रेम आले र दिलुकुमारी पन्त अध्यक्ष भेट्न छिरेका थिए । बिहान साढे ९ देखि साढे १० सम्म भेटघाट चलेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । अहिले प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा नेपाली काङ्ग्रेसका नेताद्वय डा.शेखर कोइराला र अर्जुननर्सिङ्ग केसीले अलगअलग भेट्नुभएको छ ।
टिप्पणीहरू