पाँचथरमा महिलाजन्य हिंसा बढेको बढ्यै

पाँचथरमा महिलाजन्य हिंसा बढेको बढ्यै

पछिल्लो समय मुलुकभर महिला हिंसाका घटना ह्वात्तै बढेको छ । बलात्कार,बहुविवाह, यौन दुर्व्यवहारका घटनाहरु सधैंजसो बाहिरिरहेका हुन्छन् ।  महिला हिंसा रोक्नका लागि विभिन्न अभियान सञ्चालन गर्दै आए पनि त्यसले खासै प्रभावकारी भूमिका निर्वाह गरेको देखिँदैन । 

हाल लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालित छ । अभियानअन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पाँचथरमा कार्यक्रमको आयोजना गरेको थियो । 

आज भएको कार्यक्रममा बलात्कार,बहुविवाह र यौनजन्य हिंसाबारे छलफल गरिएको छ । यसैक्रममा इन्सेकले एक वर्षको अवधिमा घटेका यसप्रकारको घटनाका तथ्याङ्क पनि सार्वजनिक गरेको छ ।  यो अवधिमा १४ जना बालिका र ६ महिला गरी २० जना बलात्कृत भएको इन्सेकले बताएको छ । 

पाँच बालिकामाथि यौन दुर्व्यवहार भएको छ । यस्तै,दुई वटा आत्महत्या दुरुत्साहनका घटना घटेका छन् । एक जनाको बालविवाह भएको तथ्याङ्क रहेको छ ।  एक महिलाको परिवारबाटै हत्या भएको छ भने चार वटा बहुविवाहका घटना दर्ता भएका छन् ।

पुस १६ गते मङसिर २४ गतेसम्म जिल्ला प्रहरी कार्यालय,पाँचथरमा ३९ वटा मानव अधिकार उल्लङघनका घटना दर्ता भएको छ ।  अघिल्लो वर्ष २८ वटा मानव अधिकार उल्लङघनका घटना घटेको इन्सेकका जिल्ला प्रतिनिधि सहमान विश्वकर्माले बताए ।

‘बलात्कार,यौनजन्य हिंसा र बहुविवाहका घटनाले पीडित महिलाको संख्या बढिरहेको पुष्टि गर्छ’, उनले भने । यता,जिल्ला प्रशासन कार्यालय,पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले मानव अधिकार संरक्षणमा आफू प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । 

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्लाका मानव अधिकार रक्षक, सरकारी कार्यालय प्रमुख र सुरक्षा अधिकारीहरुको उपस्थिति थियो ।
 

टिप्पणीहरू