सल्लाघारीको जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउन माग

सल्लाघारीको जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउन माग
सुन्नुहोस्

भक्तपुरको सल्लाघारीस्थित जग्गामा विश्वविद्यालय स्थापनाको माग गरिएको छ । प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ख्वप विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन् । 

उनीसहित भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलगायतको प्रतिनिधि टोलीले नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीस्थित एक सय ८ रोपनी जग्गा विश्वविद्यालय स्थापनाका लागि उपलब्ध गराउन मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका हुन् । 

सांसद सुवालले सल्लाघारी तीनकुनेको उक्त जग्गाको पृष्ठभूमि केलाउँदै जग्गा अतिक्रमणका कारण क्षेत्रफल घटेको र भक्तपुर नगरपालिकाले संरक्षण र संवद्र्धनका लागि पर्खाल लगाएको पनि स्मरण गराए । उनले सार्वजनिक जग्गा मिच्नु पनि भ्रष्टाचार भएको उल्लेख गर्दै देशविदेशका विद्यार्थीलाई अध्ययन, अनुसन्धानमा अग्रसर बनाउन विश्वविद्यालयको अवधारणालाई अघि बढाउनुपर्ने बताए । 

मेयर प्रजापतिले ट्रष्टको नाममा रहेको सम्पत्ति विद्यालय, महाविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न सकिने कानूनी व्यवस्था रहेकाले उक्त जग्गा विश्वविद्यालय स्थापनाका लागि नगरपालिकालाई उपलब्ध गराइदिन अनुरोध गरेका छन् । 

ज्ञापनपत्र बुझ्दै भूमिमन्त्री अधिकारीले देशभर ट्रष्टको नाममा रहेको जग्गा खोजी कार्य भइरहेको जानकारी गराउँदै सल्लाघारीको जग्गा नगरपालिकालाई दिन मिल्ने वा नमिल्ने विषयमा अध्ययन गरिने बताए ।

टिप्पणीहरू