जाडो बिदामा महानगरका शिक्षकलाई तालिम

जाडो बिदामा महानगरका शिक्षकलाई तालिम

काठमाडौं महानगरपालिकाले जाडो बिदामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई क्षमता विकास तालिमको तयारी गरेको छ । महानगरको ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई जाडो बिदाका समयमा तालिम दिन लागिएको जनाइएको छ ।

महानगरका सहरी योजना आयोग सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार सामुदायिक विद्यालयको नतिजा सुधारका लागि शिक्षकको क्षमता विकासमा लगानी गर्नुपर्ने भएकाले तालिम सञ्चालन गर्न लागिएको हो । शैक्षिक क्रियाकलापमा असर नहुने गरी बिदाको समय उपयोग गर्न लागिएको तालिमबाट शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य महानगरको छ । 

आज र भोलि कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयलाई शिक्षकलाई तालिम दिइँदैछ । पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान र अर्थशास्त्रलगायत विषयमा सिकाई कक्षा हुने महानगरले जनाएको छ । एसईईलक्षित सिकाईमा अवस्थाअनुसार विद्यार्थीको वर्गीकरण गरिनेछ । 

सिकाई प्रविधि, शिक्षण प्रबन्ध प्रणाली, समूहगत, परियोजना कार्यमा आधारित ढाँचामा हुनेछ । यस्तै, पुस २४ गतेदेखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाई र शिक्षामा सिप कार्यक्रमसँग सम्बन्धित फोकल शिक्षकहरुलाई तालिम दिइनेछ । 

माघ ५ गतेदेखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र क्यारियर गाइड म्यापिङ तालिम हुने महानगरले बताएको छ । पुस २३ गतेदेखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ता र माघ २ गतेदेखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कनसम्बन्धी तालिम हुनेछ । 

रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम भने पुस २४ गतेदेखि माघ ८ गतेसम्म हुनेछ । यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवैमा सकारात्मक नतिजा ल्याउने भएकाले तालिममा सहभागी हुन महानगरले आग्रह गरेको छ । महानगरअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा पुस १८ गतेदेखि शुरु भएको जाडो बिदा माघ ८ गतेसम्म तोकिएको छ ।

टिप्पणीहरू