शिक्षाविज्ञ रोष्टर तयार पारिँदै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाविज्ञमा सूचीकृत (रोष्टर) हुन पुनः आवेदन आह्वान गरेको छ । यसअघि सूचीकृत हुन आह्वान गरिए पनि न्यून संख्यामा आवेदन परेकाले पुनः सूचना प्रकाशित गरिएको हो ।
इच्छुकहरुले माघ १३ गतेसम्म दरखास्त दिनुपर्ने छ । जारी सूचनामा भनिएको छ, ‘यस मन्त्रालयद्वारा मिति २०८१–०५–०६ मा विज्ञको सूची (रोष्टर) मा सूचीकृत हुनका लागि आवेदन दिन सूचना प्रकाशन गरिएकोमा पर्याप्त आवेदन प्राप्त नभएकोले विज्ञको सूची (रोष्टर) मा सूचीकृत हुनका लागि आवेदन गर्नुहुन यो सूचना पुनः प्रकाशन गरिएको छ ।’
मन्त्रालयका अनुसार प्रारम्भिक बालविकास तथा शिक्षा, विद्यालय शिक्षा, उच्च शिक्षा, व्यावसायिक सिप तथा तालिम, प्राविधिक शिक्षा, तथ्याङ्क, सूचना प्रविधि, करिअर काउन्सेलिङ, अनौपचारिक तथा निरन्तर शिक्षा, विज्ञान तथा प्रविधि, पारमाणविक पदार्थ व्यवस्थापन र शासकीय सुधार तथा प्रशासन विकास क्षेत्रमा सूचीकृत हुन सकिने छ ।
साथै, सम्बन्धित विषय क्षेत्रमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी सोही क्षेत्रमा कम्तीमा १० वर्ष कामसहित विशिष्टकृत तालिम वा सिपको प्रमाणपत्र हासिल गरेको हुनुपर्छ । मन्त्रालयले वेबसाइटमा विस्तृत विवरण राखिएको जनाएको छ ।
टिप्पणीहरू