जनआस्था समाचारको प्रभाव-विवरण संकलन गर्दै त्रिवि
त्रिभुवन विश्वविद्यालयले सरकारी अध्ययन बिदाको दुरुपयोग गर्ने कर्मचारीको खोजविन तीब्र पारेको छ ।
केन्द्रीय गणित विभागका उपप्राध्यापक जीवन काफ्लेको संयोजकत्वमा तीन ससदस्यी समिति गठन गरी त्रिविले त्यस्ता कर्मचारीको खोजतलास अघि बढाएको हो । समितिमा समन्वय महाशाखाका प्रमुख दिपक तिवारी र एक जना उपप्राध्यापक सदस्य छन् ।
त्रिभुवन विश्वविद्यालय, शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियम ०५०, परिच्छेद अनुसार ‘अध्ययन बिदामा बस्दा विश्वविद्यालय वा अन्य सरकारी वा अर्धसरकारी वा गैरसरकारी क्षेत्रमा तलब वा अन्य सुविधा वा पारिश्रमिक लिई वा नलिई काम गर्न पाइदैन ।’ तर कतिपय प्राध्यापक र कर्मचारीले सरकारी तलब भत्तासहित अध्ययन बिदा लिएर अन्यत्र काम गर्ने गरेको गुनासो सुनिन्छ ।
पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक ढुण्डीराज निरौला उर्फ सुरेश हाचेकालीले अध्ययन विदा दुरुपयोग गरेको सम्बन्धमा जनआस्थाले समाचारसमेत लेखेको थियो । जनआस्था अनलाइनमा मंसिर २५ गते ‘पिएचडीको बाहना, आँखा छलेर पैसा कमाउने चाहना’ र पुष २६ गते ‘यता काम छाड्यो, उता तमाम गर्यो’ शीर्षकका समाचार प्रकाशित भएका थिए । त्यसपछि त्रिविले अध्ययन समिति बनाएर बिदामा बसेका कर्मचारीको विवरण उतार्न लागेको हो ।
केही दिनअघि बसेको त्रिवि विभागीय प्रमुखहरुको बैठकले प्रारम्भिक चरणमा ‘१५ दिने सूचना निकालेर अध्यनन बिदामा बसेका कर्मचारीहरुलाई सम्पर्कमा आउन आह्वान गर्ने’ माइन्युट गरेको महाशाखा प्रमुख तथा समिति सदस्य तिवारीले जानकारी दिए । उनका अनुसार अध्ययन बिदामा बसेका कर्मचारीको विवरणसहित गतिविधिलाई सुक्ष्मरुपमा हेरेर प्रतिवेदन तयार पार्ने अख्तियार समितिले पाएको छ ।
‘अध्ययन बिदाको दुरुपयोग गर्ने जो कोहीलाई कारवाही हुन्छ’, उनले जनआस्थासँग भने, ‘त्यस्ता कर्मचारीबाट बिदा अवधिभर लिएको तलबभत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गराउँछौँ, दुरुपयोगको प्रकृति हेरेर उनीहरुको सर्टिफिकेटसमेत खारेज हुन सक्छ ।’
टिप्पणीहरू