बालुवाटार बैठकमा विदेशी उक्साहटका बेलिविस्तार
स्वयं प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ठहर छ, ‘कांग्रेसभित्रको एउटा पक्ष गठबन्धनदेखि आफ्नै पार्टीका उम्मेदवारसम्मलाई सहयोग नगर्ने गरी चुनावमा गयो ।’सत्तारुढ गठबन्धनका शीर्ष नेतासहित सोमबार दिउँसो बालुवाटारमा सम्पन्न बैठकमा चुनावको समीक्षा गर्दै प्रधानमन्त्री देउवाले यसो भनेसँगै कांग्रेसका अरु नेताले पनि यही आशयका धारणा राखे । उनीहरूले कतिपय नेता–कार्यकर्ता त्यस्तो भूमिकामा रहँदा पार्टीपक्षीय मतदाताले घण्टीमा मत हालेको स्वीकार गरेका छन् ।
कांग्रेसका नेताले यस्तो कुरा राखेपछि कम्युनिष्ट नेताहरू भन्दै थिए, ‘स्थापित दलहरूलाई कमजोर बनाउनका निम्ति पश्चिमाहरूले यो अभियान चलाए ।’ उक्त बैठकमा कांग्रेसको कार्यकर्ता तह बिकाउ भएसम्म भन्ने कुरा उठ्यो । एमालेले पैसा धेरै नै खर्च ग¥यो भने घण्टीले सामाजिक सञ्जाललाई बढी प्रयोग गरेको ती नेताको ठहर थियो । ‘यस्तो स्थितिमा जे–जस्तो परिणाम आयो, त्यो सकारात्मक छ, जनमत गठबन्धनकै पक्षमा छ । सरकार बनाउने मात्र होइन, सर्भिस डेलिभरीको ज्वलन्त नमुना देखिने गरी योजना बनाउनु र कार्यान्वयन गर्नु जरुरी छ’, बैठकले निश्कर्ष निकाल्यो ।
यसपछि माओवादी अध्यक्ष प्रचण्डले नम्र भावमा भन्नुभयो, ‘हामीले गठबन्धनको विकल्पमा जाने भनेर बाहिर जे–जस्तो कुरा आयो, त्यस्तो होइन । कन्फ्युजन आउने तहमा कतिपय साथीले भन्नुभएको कुरामा म क्षमा चाहन्छु । महराले बोलेका कुरा हाइलाइट गर्ने मिडियाले लगत्तै देव गुरुङको भनाइलाई ठाउँ दिएनन् । हामीले चुनावअघि नै चुनावपछिसम्म पनि गठबन्धन कायम रहन्छ भनेका हौँ र अहिले पनि त्यही कुरामा दृढताका साथ अगाडि बढ्छौँ । त्यसमा यहाँहरू कसैमा कुनै भ्रम नरहोस् ।’ उक्त बैठकमा सरकारका लागि मात्रै गठबन्धन भन्ने सन्देशले जनतामा कुनै उत्साह सञ्चार नहुने कुरा उठ्यो । ‘जनताले अपेक्षा गरेका काम गरेर जानुपर्छ, त्यसो गरिएन भने अहिले भड्किएको जनमत हामीबाट झन्झन् टाढिँदै जान्छ’, एकीकृत समाजवादीका नेताहरूले भने ।
अर्कातिर, जनमत पार्टीका अध्यक्ष सिके राउत सत्तारुढ गठबन्धनका प्रत्येक नेतासँग भेट्दै सरकारमा जाने कुरा गरिरहेका छन् । ‘शिक्षा, स्वास्थ्य र किसानका हितमा काम गर्नुपर्छ’, सिकेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यी कुरा सम्बोधन भए हामी यो सरकारमा सहभागी हुन इच्छुक छौँ ।’ यो सबैले भन्दै आएको विषय भएकाले गठबन्धन उनलाई सरकारमा सामेल गराउन सकारात्मक देखिएको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टी गठन गरी निर्वाचनमा बाबु, पत्नीसहित चार सीट हासिल गरेपछि उक्त पार्टीका अध्यक्ष रेशम चौधरीतर्फ गठबन्धनका नेताहरूको आकर्षण बढेको छ । बालुवाटारमा छलफल भयो, उनलाई जेलबाट निकाल्ने कसरी ! त्यो काम अब बन्ने सरकारले गर्ने सल्लाह भएको छ । कुन प्रक्रियाबाट गर्ने भन्नेबारे कानुन क्षेत्रका मानिससँग सल्लाह गर्ने सहमति नेताहरूबीच सोमबार जुटेको बताइन्छ ।
तर, युवा नेतृत्व भन्दै गगन थापासँग मोर्चाबन्दी गरेका रवि लामिछानेले अनेक च्यानलबाट खबर पठाए पनि उनलाई सरकारमा लैजान कोही पनि तयार देखिएनन् । गठबन्धनको मनस्थिति रविसँग सहकार्य नगर्ने नै छ । एकाएक राजनीतिक परिदृश्यमा कसरी आए भन्ने कुरा नै रहस्यमय भएको कारण उनलाई सरकारमा नभित्र्याउने सहमति छ । त्यस्तै, राजसंस्थाबारे जनमत संग्रहमा जानुपर्छ भन्ने लाइन लिएको राप्रपासँग सत्तासाझेदारी नगरिने भएको छ ।
उता, ‘कम्युनिष्टहरू मिल्नुप¥यो कमरेड’ भन्दै एमाले नेता रघुवीर महासेठ घरी प्रचण्डकहाँ, घरी माधव नेपालकहाँ पुगिरहेका छन् । उनले भनेको कुरालाई ती नेताले त्यति महत्व दिएका छैनन् । उनैले हो, चुनावअघि सत्ता गठबन्धनसँगको सहकार्य त्याग्ने गरी जसपा अध्यक्ष उपेन्द्र यादवलाई मध्यराति केपी ओलीसँग सम्झौता गराएको । तर, चुनावी तालमेल गर्दै ठाउँठाउँमा जसपालाई नै सिध्याउने काम एमालेबाट भएको उपेन्द्रको बुझाइ छ । सत्ता गठबन्धनमा जसपाले पाएभन्दा धनकुटा र काठमाडौं– ७ मात्रै बढी मागेको थियो । गठबन्धनमा सामेल कांग्रेसबाहेकका दलले लोसपाभन्दा जसपासँगको सहकार्य फलदायी हुन्छ भनेका थिए । उपेन्द्र यादवहरूको भनाइ थियो, ‘एक्लै लड्दा पाउने सीटमा सीमित नगरियोस्, कि अर्को विकल्प खोजौँ ?’
टिप्पणीहरू