मधेशमा एमाले फुटको यस्तो असर
मधेसमा एमालेले प्रत्यक्षतर्फ संख्या थप्यो, तर समानुपातिक मतचाहिँ एकीकृत समाजवादीका कारण क्षति भएको छ । कतिपय निर्वाचन क्षेत्रमा एमालेभन्दा एकीकृत समाजवादी अगाडि देखिन्छ । एमालेमा मधेसकै पुराना नेता सत्यनारायण मण्डलबाहेक कोही बचेनन् । केन्द्रीय कमिटीका १७ मध्ये सबैजसो समाजवादीमा गए । प्रभावशाली मानिने नेताहरु रामचन्द्र झा, धर्मनाथप्रसाद साह, शत्रुघ्न महतो एकीकृत समाजवादीमै छन् । पुरानो र १० बुँदे पक्षधरमध्येकी मेनुका गिरी मात्रै बाँकी रहिन् ।
पार्टी नफुट्दा केन्द्रीय कमिटीमा ओलीसँग ९६ जना र अर्काेतिर ८८ जना थिए । अहिले मधेस प्रदेशसभामा एमाले १३ बाट १५ मा उक्लिएको छ । सबभन्दा घाटाचाहिँ माओवादीलाई भएको देखिन्छ । ०७४ मा गिरिराजमणि पोखरेलसहित पाँच जितेकोमा यसचोटि जम्मा एउटा, त्यो पनि बाबुराम समूहका महेन्द्रराय यादवले सर्लाहीबाट बाजी मारेका छन् । पहिला माओवादीले जितेको ठाउँमा कतै पनि एमाले, समाजवादीले जितेनन् । बाँकी ३ कांग्रेस र लोसपाले लगे । दुईवटा एमालेले लगेको छ । यदि यसचोटि वामपन्थी मिलेको भए मधेसमा एकछत्र हुने रहेछ ।
रौतहटमा प्रभु साहबाट गड्बड नभएको भए एमालेको चारै सीट आउने थियो । महोत्तरीमा वामपन्थी जित्ने एउटै क्षेत्रबाट एमालेले जित्यो तर जितेका लक्ष्मी महतो पनि फरारको सूचीमा छन् । सप्तरी १ एमालेले जित्थ्यो । तर, विभाजनले त्यहाँ क्षति पु¥याएको छ । अहिले मधेसमा प्रतिनिधिसभातर्फ जसपा ९ बाट ७, लोसपा ११ बाट ४ मा झरेको छ । प्रदेशतर्फ जसपा ३१ बाट १३, लोसपा २७ बाट १० मा ओर्लिएको छ । यिनीहरुको सीट कांग्रेस, एमाले, जनमत र समाजवादीले लिएका छन् । अब मधेसमा समानुपातिकबाट जनमत तेस्रो हुने अवस्था छ ।
एमालेमा रातारात प्रवेश गराएर टिकट दिइएका उमाशंकर अरगरिया, एकबाल मियाँ, जालिम मियाँहरुले चुनाव हारेका छन् । प्रदेशमा उठाइएका सन्तोष यादव पनि पराजित भए । उनलाई कांग्रेसबाट रघुवीर महासेठले ल्याएका हुन् । माधव नेपालसँग भिड्ने अजय गुप्ता, राजकिशोर यादवले पनि हारेको देखियो ।
समानुपातिकतर्फ सप्तरीको क्षेत्र नं. ४ मा एमालेलाई एकीकृत समाजवादीले उछिनेको छ । एकीकृत समाजवादीको ६ हजार ३ सय ३८ मत आउँदा एमालेले ४ हजार ७ सय ७५ मत पायो । रौतहट ३ मा एकीकृत समाजवादीले ६ हजार ८ सय ६८ मत ल्याउँदा एमालेले ३ हजार ९ सय ९३ मत ल्यायो । यीबाहेक कम मतान्तरले हारेका थुप्रै ठाउँमा एमालेलाई गठबन्धनले नभई एमालेभित्रैका असन्तुष्ट र एकीकृत समाजवादीले क्षति पु¥याएको देखिन्छ ।
टिप्पणीहरू