लाश बनेर घर फर्कनेहरुका दर्दनाक कथा
जब श्रमिकको लाश गाउँ आइपुग्यो त्यो बेला राति ९ बजिसकेको थियो । सर्वत्र अँध्यारो । घरपरिवारले घरमा राखिराख्न ठीक सम्झेनन् । त्यसैले सबै जना नदी किनारतिर लागे, जहाँ चिता बन्दै थियो । चन्द्रमाको मन्दकिरणमा गाउँलेले बञ्चरो र चिम्टाको सहायताले बाकस खोले । त्यसभित्र राकेशकुमार यादवको लाश थियो । ‘अनुहार देखाउनू’ एक जना कराए । लाशको पहिचान भएपछि विधवा बनेकी रेणुकुमारीले भिजेको गालामा म्वाइँ खाइन् र छोराछोरीलाई एकातिर तानिन् । उता, अलिक टाढा चिता तयार भइसकेको थियो ।
बर्सेनि सयौं–हजारौं गरिब नेपाली युवा आफ्नो र परिवारको भविष्य उज्ज्वल होला, गरिबी मेटिएला, आफूले समुद्रपारि श्रम गरेर कमाएको रकम (रेमिट्यान्स) ले देशको अर्थतन्त्रमा सघाउ पुग्ला भनेर बिदेसिने गर्छन् । सुनौलो सपना बुन्दै हजारौँ माइल टाढा श्रम गर्न जान्छन् । विदेशमा श्रम गर्ने क्रममा अरुजस्तै ४० वर्षीय यादव पनि दुबईमा सुरक्षा गार्डको काम गर्दै आएका थिए । उनीजस्तै हजारौँ नेपाली युवा कोही सउदी, कोही मलेसियामा त कोही विश्वकप आयोजना भइरहेको कतारमा कोही सवारी चालक त कोही मजदुरी गर्दै छन् । जीवनमा नेपाली युवाले यस्ता अनेक असमानता र जोखिम सामना गरिरहेकै हुन्छन् । यहाँसम्म कि घरसम्मको अन्तिम यात्रामा समेत यो असमानता र जोखिमले छाडेको हुन्न । नेपालजस्ता विकासोन्मुख मुलुकका संघर्षरत नेपालीले धनी मुलुकको शवगृहमा अनाहकमा सडिनुपर्ने बाध्यता छ । पैसा अभावका कारण थोरै परिवारले मात्र परिवारजनको शव नेपाल फर्काउन सक्छन् । यसो हुनुमा खर्च जोहो गर्न नसक्नु, बिचौलिया, सरकारी कर्मचारीले दिने झन्झट र भौगोलिक असुविधा पनि त्यत्तिकै बाधक बनेको हुन्छ ।
राकेशको शव नेपालको मधेश प्रदेश पुग्दा उनी दुबई पुगेको ३ महिना मात्र भएको थियो र एकपटक पनि कमाएको रकम घर पठाउन पाएका थिएनन् । रेणुले दुबईमा लोग्नेको मृत्यु कसरी भयो भनी म्यानपावर कम्पनीसँग जान्न खोज्दा सजिलो जवाफ आयो, ‘सुतेको बिहान उठ्दै उठेनन् ।’ युनाइटेड अरब इमिरेट्सले दिएको पोष्टमार्टम रिपोर्टमा लेखिएको छ– मुटु र श्वासप्रश्वास फेल भएर यादव स्वदेशमा रोजगारी भेट्टाउन नसकेपछि लाखौँ खर्च गरेर दुबई पुगेका थिए । रोजगारीवाहकले पटक–पटक सम्झौताको म्याद सकिएको जनाउ दिएका कारण उनले धेरै खर्च गर्नुपरेको थियो । गाउँमा उर्वर जमिन छ तर हरेक वर्ष आउने बाढीले आकार सानो बनाइसकेको छ । र, राम्रो जीवनको खोजीमा उनको परिवार ३ ठाउँमा छुट्टिएर बसेको थियो । राकेश विदेश गएपछि उनका ३ किशोर सन्तान गाउँ नजिकैको शहरमा कोठा भाडामा लिई निजी स्कुलमा पढ्न थालेका थिए ।
पत्नी रेणु घरपरिवार र सानो टुक्रा जमिन सम्हालेर बसिन्, बूढा सासू–ससुराको स्याहार गर्दै । बेलाबेला सापटी फिर्ता माग्न आउने साहुमहाजनलाई सम्झाइ–बुझाइ फिर्ता पठाउने गर्छिन् । थोरै बजेट मात्र हुने गरेकाले दाल, चामल, तरकारी र केटाकेटीको खर्च कसेर गर्छिन् । उनको जीवनमा एक्लोपन छाएको थियो, कहिलेकाहीँ राति अबेर मोबाइलमार्फत भिडियो च्याट हुन्थ्यो । छोराछोरीले पढेर डाक्टर, इञ्जिनियर बनेपछि जीवन सुध्रिन्छ होला भन्ने आशा गर्थिन् उनी । उता, राकेश चम्किलो शहर दुबईको एउटा होटलमा चौकीदारी गर्थे । उनले नयाँ पोशाक पाएपछि फोटो खिचेर पठाएका थिए, परिवारलाई । फोटोमा उनी सैनिक जवान जत्तिकै सतर्क भई उभिएका थिए । कोठाको एउटा कुनामा उनले पानी पिउने गरेको फेन्टाको रित्तो बोत्तल थियो । राति परिवारसितको फोनमा हुने कुराकानीमा उनले घरको ऋण तिर्न पुग्ने गरी पर्याप्त काम गर्न नपाएको गुनासो गर्थे । अन्तिम कुराकानी छोरा रामविकाससँग गरेका थिए, मार्च ९ को मध्यराति । त्यो बेला अरु छोरा–छोरी सुतिसकेका थिए । कुराकानी १५ मीनेट चलेको थियो । अन्तिममा बुबा राकेशले ‘गुड नाइट’ बोलेको रामविकास सम्झन्छन् ।
राकेशको मृत्यु त्यसको भोलिपल्टै भएको थियो । अब केटाकेटीको पढाइ खर्च कसले, कसरी उठाउने, ऋण र ब्याज कसरी तिर्ने, परिवारको भरणपोषण कसरी गर्ने ? यी सबै प्रश्नको जवाफ निरुत्तर बन्न पुगेको छ । र, यी सबैको हिसाब किताब गर्नुअगावै परिवारले शव फर्काउनुपरेको थियो । कोरोना महामारीको बेला । हवाई उडानमा पनि प्रतिबन्ध लागेको थियो । यस्तो अवस्थामा आफ्नो प्रियजनको शव फर्काउन महिनौँ दिन लाग्दासमेत उनीहरूले आफूलाई भग्यामानी नै सम्झे । किनभने विदेशमै दाहसंस्कार गर्नुपर्दा पनि झगडा गर्नुपरेको दर्जनौं उदाहरण छ । अझ कतिले त खरानीसमेत पाएको हुन्न । दर्जन बढी बिमा एजेन्सीले मृत्यु र घाइतेलाई कभर गर्ने प्रवासी–कामदार प्याकेज प्रदान गर्छन् । चोटपटक लागे, कामदारले खुट्टा, औंला वा हात–खुट्टा गुमाए वा मृत्यु नै भएको आधारमा फरक–फरक रकम भुक्तानी गरिन्छ । मृत्युको अवस्थामा, बिमाले ८०० डलरसम्मको ढुवानी लागत कभर गर्छ र परिवारले लगभग १० हजार डलर भुक्तानी पाउँछ । एक दशकमा मात्रै २ करोड ९० लाख जनसंख्या भएको नेपालले ४० लाखभन्दा बढी कामदारलाई विदेशमा काम गर्न अनुमति दिएको छ, यसमा छिमेकी भारतसँगको खुला सिमाना पार गरेर काम गर्न जाने अरू लाखौं समावेश छैनन् । नेपाल सरकारले पाँच वर्षमा करिब ३ हजार ५ सय शव ल्याउन सहयोग गरेको छ । हृदयसम्बन्धी समस्या प्रायः मृत्युको कारणको रूपमा उद्धृत गरिएको हुन्छ, त्यसपछि अन्य रोग, ट्राफिक र कार्यस्थलमा हुने दुर्घटना र आत्महत्या हुने गर्छ । यादवको शव अप्रिल १३ मा नेपालको राजधानी काठमाडौं आइपुगेको थियो– मृत्युको पाँच हप्तापछि ।
शवलाई चालक पूर्णबहादुर लामाले ट्रकमा लोड गरेर राकेशको गाउँ पु¥याएका थिए । चालक लामाले यो काम सन् २००६ देखि गर्दै आइरहेका छन् । उनले ७ वर्षको दौरान मात्र १ हजार ५ सय शव बोके । एउटा शव बोकेबापत १५ डलरबराबर नेपाली रूपैयाँ पाउँछन् । उनी राकेशको शव गाउँ पु¥याउँदाको क्षण सम्झना गर्छन् । जब बाकस खुल्यो, धेरैले नाक थुनेका थिए । पत्नी रेणु क्वाँक्वाँ रुँदै छोराछोरी अँगाल्न पुगेकी थिइन् ।
यादव परिवारले बिमाबाट लगभग १० हजार डलर पाएको थियो । त्यसको धेरै अंश दाहसंस्कार, पाहुनाको सत्कार, रीतिथितिमै खर्च भयो । जबकि परिवारले तिर्नुपर्ने ऋण मात्र २० हजार डलर थियो । रेणुले केटाकेटीको स्कुल शुल्क ६ महिनाको तिर्नै बाँकी थियो । समयमै शुल्क नतिर्दा सन्तानले फाइनल परीक्षा दिन पाउँदैनन् कि भन्ने चिन्ताले सताइराखेको छ । यस्तो परिस्थितिमा छोरी अनिशालाई पढाइ छाड्न लगाइन् । ८ कक्षामा पढ्दै थिइन् । गाउँ पुगेर सरकारी स्कुलमा भर्ना भइन् ।
– ‘दि न्युयोर्क टाइम्स’ का लागि मुजिब मशाल, भद्र शर्मा र सौम्या खण्डेलवालले तयार पारेको रिपोर्ट, १ डिसेम्बर २०२२
टिप्पणीहरू