चुनावमा खटिएका सबैको उचित इन्तजाम

चुनावमा खटिएका सबैको उचित इन्तजाम

निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा म्यादी प्रहरीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा शान्तिसुरक्षा दिलाउन बसेका सुरक्षाकर्मी, नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीको उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्न लागेको हो । 

त्यस्तै,मृत्यु भएका सुरक्षाकर्मी र म्यादी प्रहरीको आश्रित परिवारलाई २० लाख रुपैयाँ उपलब्ध गराउने गृह मन्त्रालयले जनाएको छ । गृहले सबै सुरक्षा निकायलाई पत्राचार गर्दै सुरक्षाकर्मीको उपचार खर्च,बीमा तथा कमाण्ड पोस्ट र निर्वाचन सेवामा खटिएका कर्मचारीलाई तोकिएअनुसार सेवासुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । 

गत मंसिर २० गतेको निर्णयानुसार सेवासुविधा उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देश गरिएको छ । जिल्ला कमाण्ड पोस्ट र जिल्ला निर्वाचन सेलमा खटिएका कर्मचारीलाई दोहोरो नपर्ने गरी शुरु तलब स्केलको ६५ प्रतिशत भत्ता उपलब्ध गराउन गृहले भनेको छ । 

त्यस्तै, नेपाल प्रहरी केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय गरी ९४ वटा कार्यालयमा बढीमा पाँच जनाको निर्वाचन सेल गठन गरी एक महिनाका लागि तलब स्केलको ६५ प्रतिशत भत्ता उपलब्ध गराउनुपर्ने पत्रमा उल्लेख छ । 

सशस्त्र प्रहरी बल, नेपालतर्फ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरुसमेत गरी ८६ वटा कार्यालयमा बढीमा पाँच जनाको निर्वाचन सेल गठन गर्नुपर्नेछ । उनीहरुलाई पनि तलब स्केलको ६० प्रतिशत भत्ता उपलब्ध गराइनेछ । 

राष्ट्रिय अनुसन्धान विभागअन्तर्गतका सबै सेलका लागि तोकिएको संख्यामा बढीमा एक महिनाका लागि ५८ लाख रुपैयाँको सीमा राखिएको छ । सुरक्षाकर्मीहरुले शुरु तलब स्केलको ६० प्रतिशत भत्ता पाउनेछन् । 

यता, अन्य भत्ता (निर्वाचन सेल तथा सहायक कर्मचारी) बापत अधिकत्तम तीन करोड २६ लाख २७ हजार रुपैयाँ कायम गर्न निर्देशन दिइएको छ । त्यस्तै, विविध खर्च (बैठक खर्च, खाजा खर्च र विविध) बापत अधिकत्तम दुई करोड २८ लाख ५३ हजारको सीमा कायम गर्न भनिएको छ । उक्त रकम अर्थ मन्त्रालयले गृहको नाममा निकास दिने सुसूचित गराइएको छ ।

टिप्पणीहरू