माओवादी महासचिव ओलीको दैलोमा

माओवादी महासचिव ओलीको दैलोमा

नयाँ सरकार गठनका लागि प्रमुख राजनीतिक दलहरुबीच रस्साकस्सी चलिरहेका बेला वाम एकता पक्षधर भनेर चिनिने माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ । हिजो साँझ ओली निवास बालकोट पुगेर गुरुङले सवा घण्टा भेटवार्ता गर्नुभएको हो । 

बताइएअनुसार दुई नेताबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको छ । सत्ता गठबन्धन टुटाएर माओवादीको समर्थनमा सरकारको नेतृत्व लिने भित्री प्रयासमा रहनुभएका ओली र वाम एकताका पक्षधर गुरुङबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।   

मङ्सिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन र एमालेको प्रतिपक्ष गठबन्धन दुबैले बहुमत ल्याउन नसकेपछि सरकार गठनका लागि अनेक विकल्पमा छलफल भैरहेको छ । माओवादी आफैँ सरकारको नेतृत्व लिने दौडमा छ । त्यसका लागि पहिलो प्राथमिकता अहिलेको गठबन्धन भए पनि अर्को सम्भावनालाई पनि माओवादी नेताहरुले अस्वीकार गरेका छैनन् । 

सत्ता गठबन्धन टुटाउने शर्तमा अध्यक्ष ओली माओवादीलाई सरकारको नेतृत्व दिन लचिलो हुने कतिपयको अनुमान छ । एमालेको दोस्रो तहका केही नेता निरन्तर खुमलटारको सम्पर्कमा रहनुले पनि त्यसको प्रष्ट संकेत गरेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ्ग,उपमहासचिव रघुवीर महासेठलगायतले प्रचण्डलाई भेटी मिलेर जान प्रस्ताव गरेको खबर आइरहेका छन् । निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा ओली स्वयमले प्रचण्डलाई फोन गरेर सहकार्यको प्रस्ताव गर्नुभएको थियो ।

यता, कांग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार निर्माण प्रयास थालिरहेको छ । जनमत पार्टी,नागरिक उन्मुक्ति लगायतका साना दलहरुलाई विश्वासमा लिएर आफूहरु बिना नै बहुमत जुटाउने कांग्रेसको रणनीति बुझेको माओवादीले एमालेसँग वार्ताको ढोका खोलेर 'काउन्टर रणनीति' बनाएको चर्चा पनि छ । 

यसै सन्दर्भमा माओवादीमा अध्यक्षपछिको शक्तिशाली मानिने महासचिव बालकोट पुग्नुले वाम सहकार्यको सम्भवना बढेको टिप्पणी धेरैको छ । लमजुङ्गबाट प्रतिनिधिसभा सदस्यमा पराजित गुरुङले विजेता एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिने क्रममा वाम एकताको पक्षमा भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।

महासचिव गुरुङले भने ओलीसँगको भेटलाई सामान्य भन्नुभएको छ । 'सरकार गठनका लागि अझै लामो प्रक्रिया बाँकी नै छ । हिजोको भेटमा सामान्य बधाई आदान प्रदान मात्रै भएको हो । सत्ता सहकार्यबारे कुनै छलफल भएको छैन', उहाँले भन्नुभयो ।  कम्युनिष्टहरुले भेटवार्ता गर्नु,आपसमा मिल्ने कुरा गर्नु कुनै अनौठो विषय नभएको महासचिव गुरुङको प्रतिक्रिया छ । 

तर,माओवादी-एमाले नेताहरुको बाक्लिँदो भेटलाई लिएर कांग्रेस भने सशंकित देखिन्छ । कांग्रेसका केही नेताहरुले एमालेसँग मिलेर सरकार गठन गर्ने बताउनुको अर्थ त्यही हो भनिन्छ । 'हामीले भेट्दा कांग्रेस किन सशंकित बन्यो त्यो उहाँहरूलाई नै थाहा होला । उहाँहरूले पनि ओलीजीसँग भेटवार्ता गरिरहनु भएकै छ नि,यसलाई अरुले कसरी बुझ्ने ? यस्ता कुरा सामान्य हुन्,' गुरुङको भनाई छ । 

उहाँले सरकार गठनबारे नेपाली कांग्रेससँग कुनै ठोस सहमति भइनसकेको पनि बताउनुभयो । निर्वाचनअघिको गठबन्धनलाई अघि बढाउनेबारे दलहरू एकमत रहेको निष्कर्ष निकाल्दै यसअघि बैठक समेत बसिसकेका छन् । यद्यपि सरकार गठनबारे गठबन्धनबीच ठोस सहमति नहुँदा अन्यौलता देखिएको छ ।

टिप्पणीहरू