सुरक्षा निकायका जम्मै हाकिमलाई माफी मगाइयो

सुरक्षा निकायका जम्मै हाकिमलाई माफी मगाइयो

याग्दी जिल्लास्थित सबै सुरक्षा प्रमुख र स्थानीयबीच हंगामा भएको सिसिटिभी फुटेज फेला परेको छ । सुरक्षा टोलीले मदिरा सेवन गरी राति नशा उतार्न जाँदा तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको र जनता उर्लेर तिनलाई माफी मगाइएको भिडियोमा देखिन्छ । देश विदेशबाट पर्यटक र विशिष्ट पाहुनाहरू प्राकृतिक उपचार गराउन आउने थलोमा सुरक्षा निकायका हाकिमहरू मदिरा सेवन गरेर पुगेका थिए । कुण्ड बन्द गर्ने बेला नशा चढाएर पुगेका हाकिमहरूले त्यहाँका कर्मचारीलाई जबर्जस्ती गर्दै नानाभाँती बोलेपछि राति तनाव उत्पन्न भएको थियो । विगतमा पनि धम्काउँदै र थर्काउँदै गरेका उनीहरूलाई यसपटक भने कुण्ड व्यवस्थापन समिति तथा त्यहाँका युवाहरूले माफी माग्न लगाएका छन् ।

के थियो घटना ?

तातोपानी कुण्ड बिहान ६ बजेदेखि रातको ९ बजेसम्म सञ्चालन गर्ने प्रचलनछ । भित्रको ठूलो कुण्ड भने बेलुका ५ बजेसम्म मात्र खोल्ने गरिएको छ । बेलुका नुहाउन आउनेका लागि बाहिर सानो पोखरी छ । तातोपानी कुण्डमा दैनिक तीन सय ५० जना आउने गर्दछन् । भित्रको कुण्डमा पालैपालो नुहाउने सिष्टम छ । बाहिरको कुण्डमा एकचोटिमा २५ जनासम्मले नुहाउन सक्छन् । त्यही ठाउँमा दुई साताअघि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानासहित एक टोली नुहाउन भनेर कुण्डमा पुगेको थियो । डिएसपी तिलक भारती, नेपाली सेनाका मेजर सशांकराज अर्याल, सशस्त्र प्रहरीका डिएसपी र राष्ट्रिय अनुसन्धान विभागका डिएसपीको टोली राति नशा चढाएर कुण्ड पुगेपछि लफडा भएको हो । ८ बजेर ३४ मीनेटमा पुगेको टोलीलाई व्यवस्थापन समितिका कर्मचारीले साविक झैंं सरसफाईका निम्ति कुण्डको पानी फ्याँकिसकेको जवाफ दिए । सो दिन पनि यसरी नै कर्मचारी घर फर्किन लागेका थिए । तर, अचानक पुगेको टोलीले नुहाउने ढिपी कस्यो । समितिका अध्यक्षसँग कुरा गर्ने भन्दै कर्मचारीसँग फोन नम्बर मागियो । 
यता, अध्यक्षले पानी हाल्दिनु भनी निर्देशन दिएपछि कर्मचारीले चुप लागेर आदेश पालना गरे । नुहाउन पसेको उक्त टोलीले त्यसपछि पनि नानाथरी भन्न नछोडेपछि कर्मचारीले अध्यक्षलगायतलाई फोनमा गुनासो पोख्ने नै भए । तल्लो तहको कामदार भनेर हेप्दै उनीहरूले तथानाम गाली गरेको स्रोत बताउँछ । ‘दिमाग नभएका, बोल्न नजान्ने, तिमीहरू जस्ताले हाम्रो के बिगार्छौ, लगायत शब्द प्रयोग गरेको’, अडियोमा सुनिन्छ । यसबाट हात हालाहालको अवस्था बनिसकेको थियो । 
समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले त्यहाँ पुगेर बल्लतल्ल झगडा सुल्झाएको र स्थानीयले सुरक्षा निकायका हाकिमलाई घेरेर अर्कोचोटिबाट गल्ती नदोहोरिने भन्दै हात जोडेर माफीसमेत मगाएको सिसिटिभी फुटेजमा देखिन्छ ।

सानो झगडा हो, सुल्झिसक्योः अध्यक्ष शाक्य

समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले घटना घटेको स्वीकारे । कर्मचारी र सुरक्षा टोलीबीच भनाभन भएको उनको भनाइ छ । ‘जिल्लाबाट ठुल्ठूला व्यक्ति नुहाउन आउनुभएको रहेछ, ख्याल गरिएन् । यस्तो घटना घट्यो । उहाँहरूले कर्मचारीलाई पानी थपिदिन भन्नुभएछ, कर्मचारीको छुट्टी हुने बेला भइसकेको थियो । त्यही भएर रिसाउनु भएछ’, उनले भने, ‘उहाँहरूले कर्मचारीलाई गाली गर्नुभएछ । त्यसपछि कर्मचारीले मलाई बोलाए । व्यवस्थापन समितिका पदाधिकारीहरू गएर त्यसलाई सुल्झाइहाल्यौं । उहाँहरूले माफी माग्नुभयो । त्यस्तो ठूलो केही भएको होइन ।’

कर्मचारीमाथि भएको दुव्र्यवहार उचित लागेनः उपाध्यक्ष

समितिका उपाध्यक्ष कुमार केसीले सुरक्षा निकायका हाकिमहरूले गरेको व्यवहारले मन खिन्न भएको बताए । उक्त घटनाले सबैलाई नराम्रो भएको उनी बताउँछन् । ‘माफी माग्नुपर्दा जिल्लाबाट आएका हाकिमहरूलाई नराम्रो नलाग्ने त भइहाल्यो’, उनी भन्छन्,‘हामीलाई पनि नराम्रो लाग्यो ।’ समयमा नआउने अनि कर्मचारीमाथि दादागिरी देखाउने भन्दै उनले आक्रोशसमेत पोखेका छन् । टोलीले माफी मागेकाले जिल्लामा खबर नगरिएको उनले सुनाए । ‘उहाँहरूले माफी नमाग्नुभएको भए जिल्लामा खबर गरिदिन्थ्यौं, फौजी हाकिम हो भन्दैमा हेप्न पाइन्छ रु’ उपाध्यक्ष केसीले भने । सय रुपैयाँको टिकटका लागि पनि माथिबाट सिफारिस आउने गरेको उनले जानकारी दिए । 

माउभन्दा चल्ला बाठा भएः सचिव खड्का

यता, समितिका सचिव कृष्ण खड्का भन्छन्– ‘कर्मचारीले चुप लागेर एकछिन बढी काम गरिदिएको भए खासै हंगामा हुँदैनथ्यो । भर्खरका ठिटालाई ल्याएर काम लगाइएको छ । कसैले केही बोलेको सुन्नै सक्दैनन् । को मेजर, को सिडिओ रु तिनीहरूलाई दर्जाको महत्व के थाहा रु’, उनले भने । माउभन्दा चल्ला बाठो हुन खोजेपछि यस्तो घटना घट्ने उनको प्रतिक्रिया छ । सुरक्षा टोलीको घानमा परेका समितिका कर्मचारी भीम भण्डारी धेरै बोल्न चाहेनन् । ‘हामी त काम गरेर खाने मान्छे हौं, यस्तो विषय मनमा लिएर बस्नु भएन’, उनले न्याउरो स्वरमा भने, ‘सर्वसाधारणबाट यस्तो घटना हामीसंग दिनहुँ घटिरहन्छ । तर जिल्लाका राजाहरूबाट भएको यसखाले अपमान चाहिँ यो पहिलो हो ।’

यता, म्याग्दीका सिडियो चिरञ्जीवी रानाले त्यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । ‘मलाई त्यो घटनाबारे जानकारी त आएको छ’, उनले भने,‘तर, म टोलीमा थिइन ।’ डिएसपी तिलक भारतीले आफूमाथि लागेको आरोपलाई नकारेका छन् । उनले घटना हुने बेला आफू कुण्डबाट गइसकेको दाबी गरे । ‘हामी एक टोली नुहाउन भनेर कुण्ड गएका थियौं’, तिलक भन्छन्,‘तर, घटना हुने बेला म त्यहाँ थिइन ।’ के कारणले लफडा भएको यसबारे आफू जानकार नरहेको भन्दै उनी पन्छिए ।

मतदानस्थलको निरीक्षण गर्ने भन्दै दारु पार्टी 

म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारीमाथि हातपात गर्न खोज्ने सुरक्षा निकायका हाकिमका अरु थुप्रै कर्तुत पाइएको छ । 

प्रजिअ चिरञ्जीवी राना, न्यायाधीश कृष्णप्रसाद नेपाल, नायब उपरीक्षक ९डिएसपी० तिलक भारती, मेजर शशांकराज अर्याल, गुप्तचर अधिकृत विजय पौडेल, सशस्त्र डिएसपी प्रदीप थापा, कोष नियन्त्रण तथा लेखापरीक्षण कार्यालय प्रमुख रामभक्त रानाभाटलगायतले मादक पदार्थ सेवन गरेर बवण्डर मच्चाएको स्थानीयको आरोप छ । 

गत आमनिर्वाचनमा फिल्ड निरीक्षण गर्न पुगेको उक्त टोलीले गाउँपालिकाको खर्चमा रक्सी पार्टी गरेको स्रोत बताउँछ । अन्नपूर्ण गाउँपालिका–८ नागी पुगेर ११ जनाले १० हजार दुई सय रूपैयाँको रक्सी पिएका थिए । नशाको सुरमा जथाभावी बोल्दै समाजमा अशान्ति फैलाएको त्यहींको स्कुलका शिक्षक वैज्ञानिक महावीर पुनका आफन्तहरूको गुनासो छ । मतदानको केही दिनअघि उक्त टोली स्थलगत भ्रमणका लागि भनेर नागी पुगेको थियो । अन्नपूर्ण गाउँपालिकाले दुई वटा बोलेरोको व्यवस्थापनसमेत गरिदिएको थियो । २० हजार रूपैयाँ खर्चेर गाउँपालिकाले बुक गरेको बोलेरोमा टोलीले दिनभर रमाइलो गरेको हो । अनुगमन गर्नुको साटो टोलीले आनन्दसँग घुमघाम गरेको र वडा नम्बर ८ का अध्यक्ष खमबहादुर गर्बुजाले दारूपानीको १० हजार २ सय रूपैयाँ तिरेको बताइन्छ । 

एक स्थानीयले भने, ‘जिल्लाका हाकिम सबै टुप्पोबाट पलाएका छन्, जराबाट पलाएको भए पो गर्न हुने र नहुने थाहा हुन्थ्यो । समाजमा शान्ति दिन बसेको भनेको छ तर हेर्दा पनि लाजै लाग्ने क्रियाकलाप गर्दै हिँड्छन् ।’

सिडिओको आडमा यस्तो भएको होः प्रधानाध्यापक

स्थानीय एक विद्यालयका प्रधानाध्यापकले सिडिओ चिरञ्जीवी रानाको आडले गर्दा प्रहरीहरू हौसिएको आरोप लगाएका छन् । ‘सर्वसाधारणसँग कसरी बोल्ने त थाहा छैन । मुखमा जे आयो त्यही बोल्छन्’, उनले भने । उनकै स्वभाव र बानी व्यवहार अरुले सिको गरेको ती प्रधानाध्यापकको बुझाइ छ । ‘तिनीहरूले दारूपानीको पैसा त तिरेका छैनन् । कहिले गाउँपालिका अध्यक्ष त कहिले वडाध्यक्षले तिर्दै आउनुभएको छ । यस्ताले पनि सुरक्षा दिन्छन् भनेर के अपेक्षा गर्नु रु’ उनी भन्छन् । 

खाएको पैसा मैले तिरिदिएँ: वडाध्यक्ष

वडाध्यक्ष खमबहादुर गर्बुजा उनीहरूले खाजा खाएको पैसा आफूले तिरेको बताउँछन् । ‘खाजा खर्च १० हजार २०० सय रूपैयाँ मैले नै तिरिदिएको हुँ, यही गाउँको लोकल होटलमा खाएर तिर्नुभएको रहेनछ, अनि आफैंले तिरेर आएँ’, उनले भने । मदिराको विषयमा उनी भन्छन्, ‘उहाँहरूले रक्सी खानुभयो कि भएन त्योचाहिँ थाहा भएन । होटल सञ्चालकले पैसा मागेपछि मैले चुक्ता गरिदिएको हुँ ।’
अध्यक्षले भनेपछि दुईवटा गाडी बुक गरिदिएको हुँः प्रमुख प्रशासकीय अधिकृत

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले दुई वटा गाडी बुक गरिदिएको स्विकारेका छन् । सिडिओ रानाले आफ्नो गाडीमा जान गाह्रो भएको बताएपछि अध्यक्ष भरतकुमार पुनले व्यवस्था मिलाइदिन निर्देशन दिएको उनको भनाइ छ । उनीहरूले काफलदाना–राम्चे–नागीसम्म यात्रा गरेको उनले जानकारी दिए । ‘यहाँ एउटा मतदान केन्द्र थपिएको थियो, त्यसको अनुगमन गर्न भनेर आउनुभएको थियो । तर, आफ्नो गाडीमा जान गाह्रो भएको भनेर सिडिओ सा’बले अध्यक्षलाई फोन गरेपछि मैले नै गाडी मिलाइदिएँ । त्यो गाडी लिएर उहाँहरू यहाँबाट निस्किनुभयो । त्यसपछि के भयो, केही थाहा छैन ।’ 

बेथिति भेटिँदा कारबाही गर्ने अड्डामा आफैं हाकिम रहेका उनीहरूलाई चाहिँ कसले कारबाही गर्ने ?
 

टिप्पणीहरू