नेकपा (एस) निकट अखिलको केन्द्रीय टोली लेबनान प्रस्थान

नेकपा (एस) निकट अखिलको केन्द्रीय टोली लेबनान प्रस्थान

विश्व प्रजातान्त्रिक युवा महासंघको २१ औं साधारण सभामा सहभागी हुन नेकपा एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको टोली लेबनानतर्फ लागेको छ । लेबनानको बेरुतमा हुन लागेको ‘वर्ल्ड फेडरेशन अफ डेमोक्रेटिक युथ’ को बैठकमा सहभागी हुन उक्त टोली उतातिर प्रस्थान गरेको हो । 

संसारभरिका झण्डै दुई सय प्रगतिशील,समाजवादी संगठनहरु आबध्द रहेको उक्त कार्यक्रम डिसेम्बर १५ देखि २० गतेसम्म सञ्चालन हुँदैछ । दोस्रो विश्वयुध्दपछि साम्राज्यवादविरुध्द र समाजवादको पक्षमा युवा विद्यार्थीहरुको संघर्षमय अभियानस्वरुप सन् १९४५ मा बेलायतको लण्डनमा फेडरेशन स्थापना भएको थियो । 

एउटा मुलुकले अर्को मुलुकलाई गर्ने नाङ्गो हस्तक्षेपविरुध्द संसारभर आन्दोलन सिर्जना गरी हरेक मुलुकको सार्वभौमसत्ता जोगाउन संघर्षरत संगठनमा नेपालबाट युवा संघ र अनेरास्ववियु आबध्द रहँदै आएका छन् । 

सामाजिक जागरणमा स्थापित ठूलो संगठनले आफ्नो भावी कार्ययोजना, फेस्टिभलहरुको आयोजना र सम्मेलनको मिति तय गर्दछ । नेपाली कम्युनिष्ट आन्दोलनका केही नेताहरु यो संगठनबाट स्थापित भएको बताइन्छ । 

योगेन्द्र शाही,उदयराज पाण्डेलगायत केही नेता यस संगठनको उपाध्यक्ष भइसकेका छन् । आबध्द भएदेखि निरन्तर सक्रिय सहभागिता जनाउँदै आएको अनेरास्ववियुको तर्फबाट सहभागी हुन अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त,सुदीप शर्मा र महासचिव आरती लामाको टोली लेबनान प्रस्थान गरेको छ । 

बैठकमा सहभागी नेताहरुले समग्र एशिया र नेपालको प्रगतिशील युवा विद्यार्थी आन्दोलनका चुनौती र उपलब्धिबारे धारणा राख्नेछन् । त्यस्तै,आगामी कार्यभारको विषयमा पनि छलफल गरिने केन्द्रीय उपाध्यक्ष पन्तले बताए ।

टिप्पणीहरू