धरानमा कार्यपालिकाको बैठक बस्न सकेन

धरानमा कार्यपालिकाको बैठक बस्न सकेन

सदस्यहरु नआइदिँदा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि बस्न सकेको छैन । बिहान ८ बजे समय तोकेर बोलाइएको बैठकमा ४ जना वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु मात्रै उपस्थित भएको बताइन्छ ।

वडा नं १७ का वडाअध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), वडा नं १५ का अध्यक्ष नरेश इवारम,वडा नं १८ का नरेन्द्रकुमार राई (प्रविण) र वडा नं ६ का भुपेन्द्र भट्टराईको मात्रै उपस्थिति रह्यो । बैठकमा कार्यपालिका सदस्य दिनेश गजमेर र वडा नं १४ बाट प्रतिनिधि भएर आएकी झरना सुनुवार केहीबेर बसेर बाहिरिएको बताइएको छ।

"कार्यक्रम नहुने भएपछि हामी निस्केर हिडेका हौं । बहिष्कार गर्नको लागि होइन अरु वडा अध्यक्ष ज्यूहरुले चाहिँ मेयरले माफ माग्नुपर्छ भन्दै हुनुहुन्थ्यो" -प्रतिनिधि झरना सुनारले जनआस्थासँग भनिन् ।उनीहरु बाहिरिएपछि बैठकमा प्रतिनिधिमुलक ४ जना वडाअध्यक्ष मात्र रहेका थिए ।

कार्यपालिका सदस्यहरुको तर्फबाट वडा १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता भट्टराईले मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि बैठकमा सहभागी नहुने बताए।

उता,मेयर हर्क साम्पाङले भने आफूलाई तल पार्न खेल खेलेको आरोप लगाएका छन् । "राम्रो काम गर्यो भनेर मलाई असफल बनाउन खोजेका हुन् । मैले उहाँहरुको अपमान गरेको होइन,उनीहरूले मेरोचाहिँ अपमान गरेका छन् । मेरो काम बोलाउने हो,बोलाइ रहन्छु। आउने, नआउने उहाँहरुको बिचार हो ।" साम्पाङले हाँस्दै जनआस्थासँग भने ।

टिप्पणीहरू