एमाले उपाध्यक्ष विष्णु पौडेलविरूध्द लुम्बिनीमा महासचिवका ‘ग्याङ्ग अफ थ्री’

एमाले उपाध्यक्ष विष्णु पौडेलविरूध्द लुम्बिनीमा महासचिवका ‘ग्याङ्ग अफ थ्री’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको एउटा राजनीतिक जीवनमा दुईतिर फैलिएका किनारा हुन्—विष्णु पौडेल र शंकर पोखरल । ‘जनताको बहुदलीय जनवाद’ रहँदासम्म यी दुई किनाराको संगम भेट्न लगभग मुश्किलै छ। ‘गुटीय’ राजनीतिदेखि पदाधिकारीसम्म बराबर हैसियतमै हाँकिरहेका यी दुई पात्र एमालेभित्र वारपारको लडाइँमा छन् । ‘नेकपा’का तत्कालीन महासचिव विष्णु पौडेल चितवन महाधिवेशनबाट एमालेको शक्तिशाली महासचिव बन्न चाहन्थे । तर बाधक बने शंकर पोखरेल ।

अध्यक्ष ओलीले पौडेललाई उपाध्यक्षमा थन्काउँदै पोखरेललाई महासचिव बनाइदिए । बालकोटनिकट स्रोतका अनुुसार ओलीले उपाध्यक्ष पौडेलभन्दा महासचिवप्रति थप माया दर्साइरहेका छन् । एक वर्षअघि चितवन महाधिवेशन सकिएलगत्तै उपाध्यक्ष र महासचिवबीचको सम्बन्ध पानी बाराबारजस्तै छ । उनीहरू सायदै एउटै मञ्चमा देखिएका छन् । राजनीतिक वृत्तमा ओलीको उत्तराधिकारी खोजी भइरहेका बेला महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेलविरूध्द ‘लुम्बिनी’को मैदानमा ‘ग्याङ्ग अफ थ्री’लाई उतारेका छन् । त्यो पनि ओलीकै आडमा ।

समानुपातिक सांसदको जोडघटाउ सकिएसँगै ‘पौडेल—पोखरेल’ एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतृत्व लिने दाउमा छन् । ‘महासचिव शंकरजीले फेरि एमाले विभाजनको रेखा लुम्बिनी प्रदेशबाट कोर्दै हुनुहुन्छ । नचाहिँदो ठाउँमा हात हाल्न खोजिरहनुभएको छ । लीला गिरी जत्तिको सिनियर नेतालाई पन्छ्याउँदै आफूनिकटलाई संसदीय दलको नेता बनाउन खोज्नु सकारात्मक सन्देश होइन,। ’ एमालेका एक पोलिटव्यूरो सदस्यले भने । उपाध्यक्ष पौडेलनिकट मानिएका गिरी महासचिव पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री पनि बने ।

 

तर उनै ‘सिनियर’ नेता गिरीलाई यसपटक प्रदेशसभा सदस्यमै थन्काउन खोजिएको छ । महासचिव पोखरेल हालसम्म उनीप्रति सकारात्मक देखिएनन् । उनी आफूनिकट केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्यलाई संसदीय दलको नेता बनाउनुपर्ने मत राख्छन् । महासचिव पोखरेलले ‘ग्याङ्ग अफ थ्री’ अर्थात् बलराम अधिकारी, हरिप्रसाद रिजाल र चेतनारायण आचार्यलाई मैदानमा उतारेका छन् । मंगलबार एकाबिहानै पोखरेलनिवास पुगेका अधिकारी,रिजाल र आचार्यले साढे दुई घण्टा गोप्य सल्लाह गरे । लगत्तै उनीहरू ओलीनिवास बालकोट पुगेर उपाध्यक्ष विष्णु पौडेलविरूध्द खनिएका छन् ।

‘महासचिव कमरेडले पार्टीभित्र जे भन्नुहुन्छ,त्यही हुन्छ। उहाँलाई अध्यक्ष कमरेडको दह्रो साथ छ। लुम्बिनी प्रदेशमा लीला कमरेडले मन्त्री हुँदा पनि राम्रो काम देखाउनुभएन,त्यसैले अध्यक्ष र महासचिवको सल्लाहअनुसार विकल्प खोजिएको सत्य हो,’ शंकरनिकट एक केन्द्रीय सदस्यले भने । केन्द्रीय सदस्य अधिकारी, रिजाल र आचार्यले प्रदेशसभा सदस्यको सूची तयार पारेका छन् । उनीहरूले बालकोट पुगेर ओलीसामु सोही सूची प्रस्तुत गरे । तर संसदीय दलमा विष्णु पौडेल (लीला) र शंकर पोखरेल (चेतनारायण) समूहबीच चुनाव हुँदा लगभग हारिने आँकडा निकाले । लगत्तै महासचिवले खटाएको टोलीले एउटा आग्रह बिसायो, ‘प्रदेशभर विष्णु पौडेललाई कमजोर पार्नका लागि सीधै केन्द्रबाट संसदीय दलको नेता तोकियोस् ।’

 

महाधिवेशनयता महासचिव शंकरप्रति दया—माया प्रकट गर्दैैआएका ओली उनलाई बलियो बनाउन सकारात्मक देखिएका छन्। ‘पार्टी केन्द्रले ३—४ जना गुटबन्दी गर्ने नेताहरूको कुरा सुनेर लुम्बिनीमा गम्भीर गल्ती नगरोस् । हामीहरू हाम्रो प्रदेशमा हामीबीचबाटै छान्छौँ, अध्यक्ष ओलीले तोकेर पठाउने कुरा ठीक होइन,’ एमाले लुम्बिनी प्रदेशसभाका एक सदस्यले भने । एमाले वृत्तमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको गुटीय चर्चा भइरहेका बेला लुम्बिनी प्रदेशको संसदीय अंकगणितलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सम्भवतः अध्यक्ष ओलीको आडमा महासचिव पोखरेलले सात वटै प्रदेशमा आफूनिकट सांसदलाई संसदीय दलको नेता छान्दैछन् ।

 

टिप्पणीहरू