जापानबाट सम्मानित नेता पौडेलद्वारा रात्रिभोजको आयोजना

जापानबाट सम्मानित नेता पौडेलद्वारा रात्रिभोजको आयोजना

जापान सरकारबाट हिजो विधिवत सम्मानित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीका सदस्यहरुका लागि रात्रिभोजको आयोजना गर्नुभएको छ । 

नेपाल–जापान सम्बन्ध प्रवर्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारबाट सम्मानित उहाँले हिजै साँझ काठमाडौंको लैनचौरस्थित ‘लैनचौर ब्याङ्क्वेट’ मा रात्रिभोज दिनुभएको हो । 

‘द ग्रान्ड कर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएको खुशियालीमा उहाँले आयोजना गर्नुभएको रात्रिभोजमा पार्टीका शीर्ष नेताहरु तथा सदस्यहरुको सहभागिता थियो । 

कार्यक्रममा पार्टी सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ्ग, पूर्णबहादुर खड्का,नेता शेखर कोइराला,महामन्त्री गगन थापाको उपस्थिति थियो ।

त्यस्तै,केन्द्रीय सदस्य अर्जुननरसिंह केसी,पूर्व रक्षामन्त्री मीनेन्द्र रिजाल, कांग्रेसका प्रतिनिधि सभा सदस्य संखुवासभाबाट दिपक खड्कालगायत पाँच दर्जन रात्रिभोजमा थिए । 

काठमाडौंस्थित जापानी दूतावासमा भव्य कार्यक्रमको आयोजना गरेर उहाँलाई सम्मान गरिएको हो । 

विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्येमा पर्छ । जापानका सम्राट मेइजीले सन् १८७५ मा यो विभूषण स्थापना गरेका थिए ।

टिप्पणीहरू