अकस्मात छापा मारिँदा आइतबार...

अकस्मात छापा मारिँदा आइतबार...

राजश्वको लक्ष्य पूरा भएन, पूरै देश कालोसूचीमा पर्ने खतरा भयो भनेर हामी चिन्तित त हुन्छौँ, तर कारण बुझ्दै जाँदा दिक्कलाग्दो तथ्य फेला पर्छन् । यही आइतबार बिहानको एउटा हेरौँ, काठमाडौंस्थित भेडासिंह गल्लीको । गत वर्ष जेठमा राजश्व मुद्दा चलेर एक करोड धरौटी बुझाएपछि नितिश इम्पेक्सका गिरिधारीलाल टिवडालाई विशेष अदालतले हिरासतमुक्त ग¥यो । एक करोड त अदालतको धरौटी भयो, अर्को चार करोड रूपैयाँ धरौटी ‘खुलाइदिने’ बिचौलियाका लागि खर्च गरेको निकटस्थलाई सुनाउँदै हिँडे । अहिले फेरि प्रहरीले सूचना पायो, उनका सात वटा गोदाम छन् । १० करोडभन्दा बढी भन्सार छलेर ल्याइएका तस्करीका कपडाको खात लागेको छ ।

सूचनाअनुसार आइतबार बिहान अपराध महाशाखाबाट प्रहरी टोली भेडासिंह पुग्दा ‘अरे बाप रे बाप, पुलिस आ’गयो...’ भन्दै धोती च्यापेर, स्याँ–स्याँ र फ्याँ–फ्याँ मुद्रामा क्षेत्रपाटीतिर भागे । साहु नै भागेपछि कर्मचारीहरू पनि बसेनन्, कोही पिसाब लाग्यो, कोही दबाई किन्न भन्दै तितरबितर भए । प्रहरीले सात वटै गोदाममा लाहाछाप लगायो र राजश्व अनुसन्धान विभागलाई खबर ग¥यो । खासमा यस्तो मुद्दामा प्रहरी आफैँले कारवाही गर्न पाउँदैन । गैरकानुनी कारोबारको सूचना पायो भने अनुसन्धानसम्म गर्न सक्छ र नेपाल सरकारको सम्बन्धित निकायलाई सूचना दिएर थप कारवाही प्रक्रिया अगाडि बढ्छ । आइतबार बिहानै राजश्व अनुसन्धानले खबर पायो तर हरिहरभवन, पुल्चोकमा कार्यालय रहेको टोली जम्मा तीन किलोमीटरको दूरी छिचोलेर त्यहाँ पुग्न भ्याएन ।

सोमबार साँझपख राजश्व अनुसन्धानको नाममा एउटा टोली पुग्यो । हातमा रजिष्टर बोकेको उक्त टोली शुरुमा चियापानीमा लाग्यो । फर्किने बेला एकजना कर्मचारी गोदामको ढाेकामा उभिए । पसलका कर्मचारीलाई बोलाएर सोधे, ‘भित्र कति थान कपडा छ ?’ उनले ‘सय थान हजुर’ भने । कर्मचारीले त्यही टिपे । ‘राजश्व तिरेको रसिद छ ?’ भनेर सोधियो । ‘छ हजुर’ भन्दै एउटा रातो चिर्कटो देखाए । त्यो हेरेपछि मुचुल्का बन्यो, ‘विशेष सूचनाका आधारमा खानतलासी लिँदा गैरकानुनी कारोबार नभेटिएको...’ भन्दै प्रहरीले लगाएको शिल तोडियो । र, राजश्व अनुसन्धानको टोली फिर्ता भयो ।

रमाइलो त के छ भने, प्रहरीलाई सूचना दिएको अर्थ मन्त्रालयका एकजना जिम्मेवार हाकिमले । ती हाकिमलाई पनि वीरगञ्ज भन्सारबाट सूचना पुगेको । अर्थका हाकिमले प्रहरीलाई सुराक दिनुअघि पक्कै पनि आफैँ मातहतको राजश्व अनुसन्धानलाई भनेकै हुनुपर्छ, तर हाकिमले सूचना दिएपछि गोदाममा छापा मार्नुपर्ने, यसर्थ साहुको गल्लामा छापा मारियो र भएभरका पैसा झ्वाम पारियो ! वीरगञ्जबाट सामान छुट्नुअघि त्यहीँको राजश्व भन्सार, सशस्त्रको गस्ती, प्रहरीको सीमा सुरक्षा कार्यालय हुँदै काठमाडौं छिर्नुअघि नागढुंगा चेकपोष्टसम्म चेकजाँच हुन्छ । ती सबै नाका छल्दै करोडौँको सामान काठमाडौं आइपुग्दासम्म कुनै खोजीखबरी भएन ।

प्रहरीले गएर शिल हान्दा त राजश्व अनुसन्धानको टोली जुरुक्क उठेर, खुरुक्क पुग्नुपर्ने । तर, भोलिपल्ट लखरलखर गएर, चियापानी गरेर, अनि गोदाम आफैँले नहेरी उसैको कर्मचारीलाई सोधेर मुचुल्का बनाई कर्मकाण्ड सिध्याइयो । यता, अर्थ मन्त्रालयका हाकिमचाहिँ राजश्व लक्ष्य पूरा भएन । देश नै कालोसूचीमा पर्ने भयो भनेर टाउकोमा हात राखिरहेका छन् ।
 

टिप्पणीहरू