सरकारमा नजाऊँ, सिध्याइदिने सन्ताप

सरकारमा नजाऊँ, सिध्याइदिने सन्ताप

सरकारमा जाने, नजाने कुरा राजनीतिक विषयमात्रै रहेन, पार्टी जोगाउने मामिला पनि बन्दा उपेन्द्र यादवलाई अप्ठेरो छ । पोल्टामा पुगिसरि थियो । भुइँबाट दुई–चार हात लाग्ला भनेर गरेको गठबन्धनले अरुसहित आफैँ बढारिनुपरेको छ । अर्थात्, गठबन्धनका नाममा एमालेबाट भएको ‘भयंकर धोका’ पछि जसपा अध्यक्ष यादवले एमालेको बाटो हेर्न मात्रै हैन, केही कुराको आश पनि गर्न छाडेका छन् । यसपछि प्रचण्ड–माधव नेपालहरूसँगको सघन छलफलमा नियमित भएका उनलाई अर्को पिरलो छ, अशोक राईले छोडेर जालान् भन्ने ।

किनभने, अशोकले एमालेसँग तालमेलका कारण सुनसरी–१ बाट जितेका हुन् । भर्खरै एमालेसँग तालमेल गरेर चुनाव जित्नु र जितेलगत्तै उसलाई धोका दिनु राम्रो हुँदैन भन्ने अशोकको ठहर छ । तर, यसमा उपेन्द्र सहमत छैनन् । सिंगो पार्टी जीवनमाथि एमालेबाट भएको धोकाका अगाडि एउटा उम्मेदवारले जित्यो कि हा¥यो भन्ने कुराको हिसाब गरेर नहुने उपेन्द्रको निचोड छ । अशोकको अडानलाई नैतिकताको कसीमा बाँधेर एमालेसँगै सहकार्य गरौँ, उसले सरकार बनाउन सक्दैन । जसो गर्दा पनि एकथरि सांसदले विद्रोह गरिदेलान् कि भन्ने पीर छ । 

अहिले प्रचण्ड–माधवसहित सत्ता गठबन्धनसँग नजिकिँदा अशोकले छोड्लान् भन्ने तनाव, त्यसो गरेर सरकारमा नगए अर्काथरिले दुःख देलान् भन्ने चिन्ता † किनभने, जसपा यो स्थितिमा आउनुका पछाडि भारतीय भूमिका कारक हो भन्ने ठहर उक्त पार्टीका नेताहरूले गरिसकेका छन् । उपेन्द्र यादवलाई चुनाव हराउन गुप्तचर संस्था ‘रअ’ ले राजविराजको ठूलो होटलमा बसेर रमिता नै ग¥यो । फेरि पनि उनको पार्टीविरुद्ध सांसदलाई उचाल्ने–थेचार्ने काम जारी रहने नै भयो । त्यसमध्ये अशोक राईसँग दल त्याग्ने वा अर्को दलसँग हिमचिम गर्ने कानुनी आधार कमजोर छ । १२ सांसद रहेको उक्त पार्टीको संसदीय दलमा अशोक राईसँग जम्मा दुई मत छ, एउटा आफू र अर्की पत्नी सुशीला श्रेष्ठको ।

तर, सरकारमा नजाँदा र केही व्यक्तिलाई मन्त्री नबनाइँदा भारतले खेल्ने कारण जसपाभित्र खतरै खतरा छ । अशोकबाट हुनसक्ने क्षतिभन्दा अरुबाट हुने असर ठूलो हुनसक्ने कारण उपेन्द्रलाई सत्ता गठबन्धनसँग नजिकिन सहज भएको हो । अशोकका हकमा एमालेभित्र उनी पहिला पनि केपी ओलीको सदाशयताप्राप्त व्यक्ति मानिन्छन् । बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा उपाध्यक्षतर्फ सबैभन्दा बढी मत ल्याउनुको पछाडि केपीकै सहयोग थियो । त्यसबेला केपी पक्षीय प्रतिनिधिले पनि उनलाई भोट हाल्दा धेरै मत ल्याएर जितेका हुन् । अहिलेको चुनाव एमालेले जिताउने नै भनेर उनले जितेका हैनन् । उनका लागि एमालेले सुनसरी–१ छोडेपछि धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्वोले स्वतन्त्र उम्मेदवारी दिए ।

चुनावी लहर मेन्याङ्वोकै पक्षमा थियो तर घण्टीको लहर चल्दा मत त्यता गयो र उनले हारे । नत्र, अशोकलाई यसचोटि पनि जित्न मुश्किल थियो । उनले यो कुरा बुझेका छैनन्, मात्रै एमालेले चुनाव जिताएर गुण लगायो भन्ने परेको छ । केही समयअघिबाटै एमालेमा जानुपर्छ भन्ने पक्षका हुन् । भोजपुरका हेमराज राईहरूसँगै एमालेमा जान खोजेका थिए । तर, एमालेबाटै अशोक खेमाका नेता रकम चेम्जोङ र राजेन्द्र श्रेष्ठहरू फसाइएका छन् । एमालेले रकमलाई धनकुटा र राजेन्द्रलाई काठमाडौं–७ नं. क्षेत्र छोड्ने सल्लाह थियो तर छाडेन मात्रै हैन, आफ्नै उम्मेदवार खडा गरेर बिचल्ली पारिदियो । रकम प्रदेशमा उठेर हारे । राजेन्द्रले पनि काठमाडौं–७ मा उम्मेदवारी त दिए तर जमानत जफत भयो । जबकि निर्वाचनअघि जसपाका नेतालाई स्वयं केपी ओलीले ‘पहिल्यै सझदारी भएको कुरा भइहाल्छ’ भनेर ढुक्क बनाइदिनुभयो तर मैदानमा जाँदा त केही न केही !

चुनावलगत्तै विराटनगर विमानस्थलबाट उपेन्द्रले एमालेसँग तालमेलको चरण समाप्त भएको घोषणा गरे । तर, अशोकले त्यो कुरालाई उपेन्द्रको ‘व्यक्तिगत’ भनेर उडाइदिए । उपेन्द्रचाहिँ अघिल्लो मंगलबारदेखि प्रचण्डका भाञ्जा गोकुल भण्डारीको हात्तीबनस्थित सिटीस्केप हाउजिङमा प्रचण्ड–माधवसहित छलफलमा जुट्न थाले । त्यहाँ प्रचण्ड, माधव, नारायणकाजीहरूसँग समसामयिक छलफल भएको छ । पार्टी सहकर्मीसँग उपेन्द्रले यही शैलीमा अगाडि बढेर जनतामा स्थापित नहुने बताएका छन् । ‘आक्रामक ढंगले गइएन भने गाह्रो छ’ भन्दै उनले केही सहकर्मीलाई बताए, ‘जनतामा मधेसको मुद्दा छुट्यो भन्ने परेको छ । पहाडमा पनि पहिचानको मुद्दा छोडेको भन्न थालेका छन् ।’

 

टिप्पणीहरू