नैतिक शिक्षा चाहिएन नेपाललाई ?
कतिपय निर्णय कस्ता भने, रूपमा ‘एक थान’ हुन्छ, सारमा त्यसले हजारौँ मन, मस्तिष्कलाई असर पु¥याइरहेको हुन्छ । आजकलका कतिपय बालबालिकामा नैतिक दायित्वबोध छैन, तनाव व्यवस्थापनको क्षमता न्युन छ ।
०६२/६३ को परिवर्तनलगत्तै विद्यालयको प्राथमिक तहबाट नैतिक शिक्षा र सामाजिक विषयको पाठ्यक्रम हटाइएको छ । देश धर्मनिरपेक्ष भएसँगै हिन्दू धर्म र त्यसले निर्धारित गरेका सामाजिक मर्यादामा आधारित ती पाठ्यक्रम हटाइँदा बालबालिकामा सौहाद्र्रता र शिष्टाचारका कतिपय पक्ष फितलो बनेको पाइएको छ । बालबालिकालाई सामाजिक सञ्जालमा सहज पहुँच दिइँदा त्यसले उत्पन्न गरेका थुप्रै विसंगत पाटोबाट उनीहरू प्रभावित हुने क्रम बढेको छ । त्यसले तनाव व्यवस्थापन र सम्वन्ध निर्माणका पक्षलाई कमजोर बनाएको मनोविज्ञहरू बताउँछन् । यसैको परिणाम हो, अघिल्लो बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको कक्षा ११ मा अध्ययनरत १६ वर्षीया बालिका सदीक्षा चौधरीको सानेपास्थित डेरामा झुण्डिएर आत्महत्या । डिसिप्लिन इन्चार्ज (डिआई) नवराज लोहनीले दिएको अनुशासन र नैतिकताको सुझाव सहन नसक्दा उनले प्राण त्यागेको बताइन्छ ।
कारण सदीक्षाको जस्तै हो, तर पुरुष हुनाले त्यति धेरै चर्किएन । ललितपुर, बागडोलस्थित पाठशालामा अध्ययनरत दुई किशोर, किशोरीले विद्यालयमा दिइएको तनाव झेल्न नसक्दा बन्दै गरेको अग्लो घरबाट केही महिनाअघि हाम्फालेर आत्महत्या गरे । स्कूलमा प्रेम सम्बन्धबारे प्रश्न उठेको र गाली गरिएका कारण निराश भएका उनीहरूले तनाव व्यवस्थापन गर्न नसक्दा मृत्युको बाटो रोजेको चर्चा छ । आत्महत्या गर्नेमा पुरानो सिनामंगल निवासी १४ वर्षीय किशोर अनिकेत राय र घट्टेकुलो बस्ने १४ वर्षीया किशोरी कृपिता जयसवाल थिए । गत वैशाखमा आफ्नी प्रेमिकालाई जिस्क्याएको बहानामा किशोरहरूका बीच झगडा भयो । छुरा हानाहान हुँदा ललितपुर, प्रयागपोखरीका किशोर अन्सल शाक्यले पनि यसरी नै ज्यान गुमाए ।
टिप्पणीहरू