कमरेडका बीचमा क्रिश्चियनका कुरा
चुनाव परिणामपछि वामपन्थी नेताका बीचमा भित्रभित्रै पाकिरहेको विषय हो– एकता ! तर, यो क–कसका बीचमा ? एमालेबाहेकका कम्युनिष्ट नेताहरू यसरी दिनैपिच्छेजस्तो यसबारे छलफलमा जुट्न थालेका छन् । र, ती जमघटमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि नियमित भाग लिन्छन् । पछिल्लो समय गत शुक्रवार बेलुकी थापागाउँस्थित पे्रसिडेन्सियल कलेजमा माधवकुमार नेपाल, प्रचण्ड, नारायणकाजी श्रेष्ठ, पम्फा भुसालसहितका नेताहरू जुटे ।
छलफलको विषय थियो, ‘अब कसरी अगाडि बढ्ने ?’ वामपन्थीबीच एकता र सहकार्य हुनुपर्छ, तर त्यसमा एमालेको भूमिका के हुने ? छलफलका क्रममा नसुल्झिएको प्रश्न यही थियो । एमाले अध्यक्ष केपी ओलीले वामपन्थीहरूका बीचमा सहकार्य हुनुपर्छ भन्ने विषयलाई नै स्वीकार गर्नुभएको छैन । स्वीकार गरिहाले आफू सर्वेसर्वा हुने स्थितिबाहेक अरुलाई नगन्ने नै छाँटकाँट छ । त्यहीे कुरा अरु नेतालाई मञ्जुर भएन ।
छलफलका क्रममा सूचना शेयर भयो– एमाले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गर्ने क्रम बढेको छ । ‘प्रायःजसो फोन आइरहन्छ, कुरा गरौँ, भेटौँ भन्छन्’, प्रचण्डले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘केपीमा रियलाइजेशन हुन्थ्यो भने त उनीहरूसँग कुरा गर्न सकिन्थ्यो, स्वयं ओलीमा गल्ती महसुस छैन भने उनीहरूले गर्ने फोनको के अर्थ छ र ?’
त्यसमाथि प्रधानमन्त्री शेरबहादुर देउवा आगामी सरकार निर्माणमा पनि गठबन्धनलाई नै मिलाएर जाने मनस्थितिमा भएपछि एमालेले गर्न खोजेको संवादको अर्थ नरहने ती नेताको ठम्याई छ । बरु, संसदको पहिलो कार्यकालको प्रधानमन्त्रीका रूपमा प्रचण्डले आफ्नो दावी रहिरहने कुरा उक्त छलफलमा पनि उठाउनुभयो ।
अर्कातिर, माओवादीलाई आफ्नो मतमा भएको क्षतिका प्रसंग पनि त्यहाँ निस्किए । ऊर्जामन्त्री तथा उपमहासचिव पम्फा भुसालले भनिन्, ‘०६४ मा प्रायःजसो क्रिश्चियनले माओवादीलाई भोट हाले । ०७० मा आधाउधीले मात्रै साथ दिए । ०७४ मा छ्यासमिस भोट हाल्ने क्रिश्चियनले अहिले भने ठ्याम्मै वास्ता गरेनन् ।’
टिप्पणीहरू