महिला र पैसाको विवरण प्रहरीसँग भएका २ वटा मोबाइलमै, महत जर्सा’ब को मृत्युबारे छिट्टै आउँदै छ विवरण

महिला र पैसाको विवरण प्रहरीसँग भएका २ वटा मोबाइलमै, महत जर्सा’ब को मृत्युबारे छिट्टै आउँदै छ विवरण

कोही, कसैले किन आफ्नै मृत्यु रोज्छ ? मर्नेले त भौतिक देह छाडेर गए, बाँचेका आफन्त, साथीभाइ अहिलेसम्म सोधखोजमै छन्, आखिर मर्नु किन परेको ? पूर्व तीन तारे जर्नेल बलदेवराज महतले घरमै पर्दाको छेउ काटेर घाँटीमा पासो लगाई शनिवार आत्महत्या गरे । भाइ सोभेन्द्र भर्खरै सहायक रथीमा बढुवा भएका थिए । भारतबाट एनडिसी कोर्ष गरेर फर्किएका ललितपुर बस्ने उनले दाइको समयका हिसाबले बढुवा भोज दिन चाहेका थिए । जुम्लास्थित २४ बाहिनीको पोष्टिङमा हाजिर हुन ढिला भएर दिक्दार सोभेन्द्रलाई दाइले केही दिनदेखि टार्दै–टार्दै बल्ल आइतवार साँझको समय दिए । तर, आफूले भने अघिल्लै दिन यो धर्तिबाट स्वेच्छाले बिदा लिए ।

त्यस्तो मान्छे, हाँसखेल मात्रै गरिरहनुपर्ने । तर, राति ‘फुटबल हेर्छु’ भनेर टिभी कोठा छिरेका महत बिहान मृत भेटिए । मण्डिखाटारस्थित शिरडी कोलोनीमा १०–१२ वर्षदेखि बसोबास गर्दै आएका बलदेवले नेपाली सेनाको बलाधिकृतबाट ०७४ कात्तिकमा अवकाश पाएका थिए । अरुले जागिर छोडेपछि व्यापार–व्यवसाय गर्छन् वा दिन काट्न विभिन्न विलासी उपाय अपनाउँछन् । तर, उनले जागिर सकिएपछिको पाँच वर्षभित्रमा अनगिन्ती हाँस्य विधाका पुस्तक लेखे । उनको जीवनशैली, बानी–व्यहोरा, लेखनीदेखि साथी–संगातिसम्म बुझ्ने निकटस्थहरू अहिले पनि पत्याउँदैनन्, त्यस्ता मान्छेले गरेकै होलान् त आत्महत्या !

यो आत्महत्यालाई कसैले आर्थिक कारणसँग जोडेका छन् भने कसैलेचाहिँ कोही महिलासँगको निकटतासँग गाँसेका छन् । आर्थिक पाटोमा दशैँताकादेखि केही विवाद–तनावमा त थिए तर दुई–चार करोडकै कारणले ज्यानै फाल्नुपर्ने स्थिति भने होइन । उनका केही पारिवारिक चिन्ता पनि थिए । तर, ती पनि मर्नुपर्ने तहका थिएनन् । छोरा बुद्ध एयरका सिनियर पाइलट । उनले जागिरकै क्रममा एयर होस्टेससँग प्रेम विवाह गरे । तर, ७ वर्ष बित्दा पनि सन्तान भएनन् । कान्छी छोरी नेपाल इन्भेष्टमेण्ट बैंककी जागिरे । ३१ वर्षकी उनले विवाह गर्न नमान्दा बलदेव चिन्तित थिए । अर्की छोरीको विवाह भएको छ, कर्णेलसँग । पारस शाह तिनै हुन्, जो पानीपोखरीको एक रेष्टुरेण्टमा पेस्तोल हराएपछि कारवाहीमा परेका थिए ।

पारिवारिक पाटोमा केही निराशा भने पक्कै थियो । यसपछि साथीहरूको बीचमा चर्चा हुने गरेको छ, बाहिरी सम्बन्धबारे । मण्डिखाटारमै घर भएका प्रहरीका भूपूइन्स्पेक्टर ज्योति गुरुङसहितका केही साथी थिए, जोसँग हरेक किसिमका मनोरञ्जनात्मक सम्बन्ध थियो । कसै–कसैले भन्ने गरेका छन्, लिंकन कलेजकी कुनै एक अध्यापिकासँग बलदेवको निकटता थियो । महिलाको फोन आउँदैमा पुरुषहरूले मरिहाल्नुपर्ने कारण त हुँदैन । तर, बेग्लै सम्बन्ध भएका कारण त्यहाँ कुनै किसिमको तनाव थियो कि भन्ने कोणबाट साथीहरूले चर्चा गरेका छन् ।

उनका दुइटै मोबाइल प्रहरीको हातमा छ । अनुसन्धानले यी सबै सम्बन्धबारे एउटा निश्कर्ष निकाल्ला नै ! भनिन्छ, डिल्लीबजारस्थित सत्याल पब्लिकेशन्समा बलदेवको लगानी थियो । सैनिक सेवामा हुँदाकै लगानी पब्लिकेशन्सको कारोबारमा मन्दी आएपछि डुब्दै–डुब्दै गएको थियो । जागिर सकिएपछि सत्याल थरका बृद्धसँग हरहिसाब मिलाउनलाई धेरैपटक ताकेता गरे । ‘आज–भोलि’ भन्दाभन्दै हिसाब मिलाउने समय आएन, बरु बीचैमा सत्यालको निधन भयो । उनको त्यहाँ चारदेखि पाँच करोड रूपैयाँ डुबेको अनुमान छ । यति धेरै पैसा डुब्दा पनि अनुहार र बोलीमा कुनै चिन्ता थिएन, बरु हाँसेरै उडाउँथे । भन्थे, ‘त्यो किताब बेच्ने बूढोले मेरो त्यत्रो पैसा लिएर गयो, स्वर्गमा मेरै पैसामा मोज गर्दै होला, म गएपछि त माग्छु नि...†’ उनका कुरा सुनेर साथीहरू हाँस्थे, तर साँच्चै समयभन्दा अगाडि नै उनको प्राणान्त भयो । ‘शायद, यस्ता पीरले पनि उनको मनमा ठूलै घर बनाएको थियो कि ?’, एक निकटस्थले सुनाए ।

सेनामा पनि उनी मुछिएको आर्थिक मामिलामा एउटा निर्णय तीन–चार दिनअघि मात्रै भएको थियो । राजेन्द्र क्षेत्री प्रधानसेनापति हुँदा पूर्णचन्द्र थापापछि तेस्रो वरीयताका बलदेव उनका विश्वासपात्र थिए । त्यसभन्दा अगाडि नै न्युरोड र वीर हस्पिटलबीच भुइँतला नै १६ तला बनाउन मिल्ने त्रिचन्द्र मिलिटरी हस्पिटलपछाडि सपिङ मल भाडामा दिने प्रक्रिया शुरु भयो र उनैलाई कमिटीको अध्यक्ष तोकियो । यो कारोबारमा भूपूमेजर शिवहरि पुडासैनी पनि जोडिएको बताइन्छ । 

अहिले उक्त कम्प्लेक्सको एक छेउमा सेनाले डेन्टल, फिजियोथेरापीजस्ता सेवा भूपूहरूलाई उपलब्ध गराउँछ । बाँकी सबै कम्प्लेक्स भाडामा लगाइएको थियो । तर, जगत मगर नाम गरेका ठेकेदारले तिर्नुपर्ने रकम तिरेनन् । हालका प्रधानसेनापति प्रभुराम शर्माले ५० करोड रूपैयाँ तिर्नुपर्ने गरी दशैँताका उक्त सम्झौता रद्द गरेको र यस प्रकरणमा बलदेवको पनि केही दायित्व थियो भन्ने चर्चा छ । सेनाका केही अधिकृतले भन्ने गरेअनुसार, त्यो मामिलामा बलदेवले चार–पाँच करोड तिर्नुपर्ने भयो । तर, बागबजारको घर र बैंककै ब्याजबाट समेत महिनावारी लाखौँ रूपैयाँ भाडा उठाउने उनका निम्ति त्यस्ता केही करोडले ज्यान माया मार्नुपर्ने स्थिति भने पक्कै होइन ।

हरेक बिहान ६ बजे घरमा कालो चिया पिएर मर्निङवाकको निम्ति शिवपुरी र जगडोलको डाँडा उक्लिने उनको दैनिकी थियो । शनिवार पनि घरका सहयोगीले कालो चिया तयार पारे । तर, आफू बस्ने तलाका ४ कोठामध्ये लाइब्रेरी भएपट्टि आफू एक्लै ब्राजिल हारेको म्याच हेरी सुतेका उनले बिहान उठी ट्र्याकसुट लगाइसकेर पनि मुड चेन्ज गरे र भान्छाबाट मुढा ल्याएर २–३ चोटि झुण्डिन कोसिस गरे । यस क्रममा लडेर गोडामा चोट लागेको देखिन्छ । बिहान ८ बजेसम्म कोठाबाट निस्किएनन् । घरका मान्छेले ढोका फोडेर हेरे, उनी त तलबाट कैँची लगेर काटिकुटी झ्यालको पर्दा घाँटीमा बेरेर झुण्डिएका थिए । प्राण गइसकेको थियो ।

छोरीहरू सम्झिँदै छन्, जतिबेला उनी शान्ति सेना मिशनमा युगोस्लाभिया गएका थिए । त्यहाँ विद्रोहीको फेला परेर महिनौँ थुनिए । प्रहरीबाट उनका दाइ पर्ने ज्ञानेन्द्रविक्रम महत पनि त्यतै गाडी दुर्घटनामा परेका थिए । विद्रोहीले यसरी बन्दी बनाएपछि सेनाकै कतिपय सहकर्मीले जिउँदो फर्किंदैनन् भन्दा घरमा रुवाबासीमात्रै भएन, काजक्रियाकै तयारी भएको थियो । तर, उनी मृत्युलाई पराजित गर्न जिउँदै फर्किए । साथीहरूलाई हँसाउँथे, ‘म जिउँदै छु भनेर पनि आफैँले भन्नुपर्ने यार †’

उनका दाइ केशव महत एकतारे जर्नेल थिए, उनको हृदयघातका कारण निधन भयो । परिवारमा सेनाको सबभन्दा ठूलो दर्जामा पुग्ने उनै हुन्, जसले तीन तारे जर्नेलबाट अवकाश पाए । भाइ पनि माथि उक्लिने सम्भावना छ । 
 

टिप्पणीहरू