ओली र प्रचण्डकोमा दूतहरुको कुदाकुद

ओली र प्रचण्डकोमा दूतहरुको कुदाकुद

नयाँ सरकार गठनका लागि प्रमुख राजनीतिक दलहरुबीच रस्साकस्सी चलिरहेका बेला नेकपा एमाले र माओवादी केन्द्रमा वाम एकता पक्षधर भनेर चिनिने नेताहरुले भेटघाट तीब्र बनाएका छन् । 

केही दिनअघि एमाले अध्यक्ष केपी ओलीलाई सुटुक्क भेटेका माओवादी केन्द्रका महासचिव देव गुरुङ हिजो साँझ पुन: बालकोट पुगेका थिए । अपरान्ह चार बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफल गरेपछि लगत्तै गुरुङ बालकोट हान्निएको माओवादी स्रोतले जनाएको छ । 

त्यसअघि मंगलवार साँझ गुरुङले ओलीसँग सवा घण्टा भेटवार्ता गरेका थिए । दुबै पार्टीका नेताहरुले औपचारिकरुपमा धारणा सार्वजनिक नगरे पनि भेटवार्ता वाम एकता र नयाँ सरकार गठनका विषयमा केन्द्रित रहेको दावी गरिएको छ ।  

यता,महासचिव गुरुङले ओलीलाई भेटेकै समयमा एमाले सचिव रघुवीर महासेठले माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । केही दिनअघि मात्रै दिल्ली गएका उनी हिजो काठमाडौँ फर्केलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगेको बताइएको छ । 

मङ्सिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन र एमालेको प्रतिपक्ष गठबन्धन दुबैले बहुमत ल्याउन नसकेपछि सरकार गठनका लागि अनेक विकल्पमा छलफल भैरहेको छ । माओवादी आफैँ सरकारको नेतृत्व लिने दौडमा छ भने गठबन्धन तोड्ने शर्तमा एमाले प्रचण्डलाई समर्थन गर्न तयार रहेको चर्चा छ । 

एमालेका दोस्रो तहका केही नेता निरन्तर खुमलटारको सम्पर्कमा रहनुले पनि वाम सहकार्यको सम्भावना बढाएको धेरैको अनुमान छ । एमाले उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ्ग,सचिव रघुवीर महासेठलगायतले प्रचण्डलाई भेटी मिलेर जान प्रस्ताव गरेको खबर आइरहेका छन् ।

टिप्पणीहरू