सिंगै जहाजमा अमेरिकी हतियार
देशमा अहिले कुनै अशान्ति त छैन, तर हतियारको ओइरो लागेको छ । नेपाली सेनाका लागि अमेरिकाबाट चार्टर फ्लाइटमा गत शुक्रबार दिउँसो ९७ हजार केजी हतियार काठमाडौं झारिएको हो । रक्षा मन्त्रालयले ०७५ सालमै पुराना हतियारलाई विस्थापित गर्दै सेनाका लागि ६ हजार ४ सय ९२ नाल नयाँ हतियार खरिद प्रक्रिया अगाडि बढाएको थियो ।
हतियारका लागि २ अर्ब १९ करोड ४१ लाख रकम छुट्याइएकोमा उक्त सम्झौताअनुसारको हतियार भने आउन बाँकी नै छ । त्यसका लागि नेपालबाट पुरानो भुक्तानी त गयो तर नयाँ निकासा नभएसम्म फ्याक्ट्रीबाट अर्डरबमोजिमको हतियार उत्पादन थाल्न सम्भव छैन । क्याबिनेटले रक्षालाई नयाँ हतियार किन्न थप रकमको सुनिश्चितता दिए पनि विदेशी मुद्राको सञ्चितीमा असर पर्ने भन्दै पूर्वअर्थसचिव मधुकुमार मरासिनीले लगाएको रोक फुकुवा भइसकेको छैन ।
अहिले पुरानो ल्याउनुपर्ने बाँकी हतियारमा ५५ सय थान आएको रक्षास्रोतले जनाएको छ । अब नयाँ अर्डरअनुसार १२ हजार थान हतियार आउन बाँकी छ । नेपाल सरकारबाट स्वीकृत सवा २ अर्ब १९ करोड ४१ लाख रकम नगएका कारण सो हतियार नआएको हो ।
पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा उनले ल्याएको के टु सिरिजका कोरियन हतियार प्रभावकारी देखिएनन् । सशस्त्र द्वन्द्वकालमा सेनाले चलाएको केही थान इन्सास भने सशस्त्र र नेपाल प्रहरीले चलाइरहेका छन् । अहिले फेरि सेनाले अमेरिकी एम १६ राइफल नै ल्याउन थालेको छ ।
टिप्पणीहरू