महतोले माछा बाँडेरै हराए गिरिराजमणीलाई
– सन्तोष बराइली
महोत्तरी क्षेत्र नं. ४ मा यसपटक माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेललाई लक्ष्मी महतोले १ हजार ३० मतान्तरले पराजित गरे । यसअघि यिनै पोखरेलसँग पराजित महतोले चुनावको मुखमा जसपाबाट एमाले प्रवेश गरेर टिकट लिएका थिए । लक्ष्मीका छोरा डा.दीपेन्द्र गौशाला नगरपालिकाका मेयर हुन्, स्थानीय चुनाव जसपाबाट जिते ।
‘माओवादीको गढमा एमालेको धावा कसरी भयो भनेर थाहा पाउन कम्युनिष्ट राजनीतिको विगततिर फर्कनुपर्ने हुन्छ । हाल बर्दिबास नगरपालिका–८ अन्तर्गत पर्ने हात्तीलेटमा ऋषि देवकोटा ‘आजाद’ले पञ्चायतकालमै प्रगतिशील बाल संगठन बनाएका थिए । हात्तीलेट कम्युनिष्ट नेताहरू नरबहादुर कर्माचार्य, निर्मल लामा, मोहनविक्रम सिंह, ऋषि देवकोटा (आजाद), विष्णुलाल वाइबा, जयगोविन्द साह लगायत नेताहरूको सेल्टर थियो । मगर समुदायको बाहुल्यता रहेको यो ठाउँ कतिसम्म क्रान्तिकारी थियो भने एसएलसी पास गर्नेबित्तिकै बुवाआमाहरू आफ्ना छोराहरूलाई कम्युनिष्ट पार्टीको होलटाइमर कार्यकर्ता बनाउँथे, आन्दोलन र क्रान्तिमा खटाउँथे ।
पञ्चायतकालमै झडप हुँदा दलबहादुर राना प्रहरीको गोलीबाट मारिएका थिए । तर उनलाई राज्यले अहिलेसम्म शहीद घोषणा गरेको छैन । २०२८ सालमै चौमको पूर्णकालिन सदस्य बनेका बलबहादुर बलम्पाकी भन्छन्– ‘गिरिराजमणीलाई नेता बनाउने पनि हात्तीलेट नै हो । सरकारले प्रतिबन्ध लगाएका बेला विप्लव पनि केही समय यहीं बसेका थिए । ‘हात्तीलेटमै हुर्किएको तत्कालीन एकता केन्द्रको खुल्ला संगठन जनमोर्चा नेपालको संगठन विस्तार र राजनीतिक गतिविधि गर्ने प्रमुख सेल्टर बन्यो बर्दिबास छेउको गौरी डाँडामा स्थापित आधारशिला । आधारशिलाबाटै उतिबेला जनएकता साप्ताहिकको प्रधान सम्पादकसमेत रहेका जनमोर्चा नेपालका स्थायी कमिटी सदस्य पोखरेलले संगठन सुदृढीकरण गरे । मजबुत संगठन भएकैले पार्टी एकीकरणपछि उनी माओवादीबाट तीन–तीनपटक चुनाव जितेका पोखरेल दुई पटक त मन्त्री नै बनेका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएको स्थानीय चुनावमा माओवादीले महोत्तरीको बर्दिबास, गौशाला, रामगोपालपुर, सम्सी नगरपालिकामा जितको झण्डा गाडेको हो । बर्दिबास र गौशाला पोखरेलको निर्वाचन क्षेत्र महोत्तरी – १ मा पर्छ भने रामगोपालपुर र सम्सी–४ नं. क्षेत्रका हुन् । भनिन्छ, माओवादीबाट मेयर जितेकाहरूले जनआकांक्षा पूरा गर्न सकेनन् । बर्दिबासका मेयर विदुर कार्की त व्यक्तिगत आचरणकै कारण सधैं विवादमा आइरहे । पार्टीभित्र अन्तरविरोध झाँगिदै जाँदा पछिल्लो स्थानीय तह चुनावमा बर्दिबासबाट मेयरको उम्मेदवार बनेका माओवादी केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज राजु खड्का हारे भने स्वतन्त्र प्रल्हाद क्षेत्रीले भारी मतान्तरसहित जिते । जितेका अन्य स्थानीय तहमा पनि माओवादी केन्द्रले हार व्यहोर्नुप¥यो ।
भनिन्छ, घेरामा सीमित पोखरेलले राजनीतिक लाभका पदहरूको वितरण पूर्व जनमोर्चाहरूमै वितरण गरे भने जनयुद्ध लडेर आएका माओवादी कार्यकर्ताहरूलाई सँधै कर्नरमै पारिरहे । माओवादीबाट विप्लव नेतृत्वको नेकपा हुँदै हाल एमाले मधेश प्रदेश कमिटी सदस्य रहेका बर्दिबास बुद्ध चोकका अमर धमला भन्छन्– ‘बौद्धिक र विकासप्रेमी नेताको छवि बनाउन सफल पोखरेलको आत्मकेन्द्रित स्वभाव पनि चुनाव हार्नुको मुख्य कारण हो । उता जनमोर्चा नेपालकालिन बर्दिबास–८ हात्तीलेटका नेता टेकबहादुर बलम्पाकीको अस्थिर राजनीतिक उतारचढाव पनि पोखरेल हारको अर्काे कारण बन्यो । जनमोर्चा नेपालबाट माओवादीमा लागेका बलम्पाकी वैद्य हुँदै विप्लव नेतृत्वको नेकपातिर लागे । विप्लवबाट पुनः माओवादी केन्द्र प्रवेश गरेका उनी एमाले–माओवादी एकीकरणपछि बनेको नेकपाको केन्द्रीय सदस्य बनेका थिए । माओवादी केन्द्र, माधव नेपाल समूहको बहिर्गमनसँगै कानुनतः पुनर्जीवित एमालेमै बसेका बलम्पाकीलाई एमालेले केन्द्रीय सदस्य मात्रै हैन, महोत्तरीको जिल्ला अध्यक्षसमेत बनायो । गएको स्थानीय चुनावमा बर्दिबास नगरपालिकाको मेयरमा एमालेबाट उठेका उनी ३ हजार चानचुन मत ल्याएर हारेपछि अन्तर्घात भयो भन्दै फेरि माओवादीमै फर्किएका हुन् ।
तर उनकै अगुवाईमा एमालेमा गोलबन्द भएका पूर्वमाओवादी रूपक कार्की, अमर धमलासहित पुराना छिमलका प्रेमबहादुर राना, बलबहादुर बलम्पाकी पनि बादलको नेतृत्वमा एमालेमै बसे । पोखरेलले स्वास्थ्य र शिक्षामन्त्री बनेका बेला महोत्तरीमा विकास भने गरेका थिए । स्वास्थ्यमन्त्री बनेका बेला बर्दिबासमा अस्पताल खोले, मेडिकल कलेजका लागि बजेट विनियोजन गरे । एक वडा, एक स्वास्थ्य चौकी र एक एचए कार्यान्वयनमा ल्याए ।
प्रसुती र स्वास्थ्य स्वयंसेविकालाई भत्ताको ब्यवस्था पनि गरे । शिक्षामन्त्री हुँदा बर्दिबासलाई शैक्षिक हब बनाउने भन्दै बग्रेल्ती स्कुल, कलेजहरू खोले । किसाननगरमा कृषि कलेज, चौलिखामा इञ्जिनियरिङ कलेज, गौशालामा आयर्वेदिक र अर्काे इञ्जिनियरिङ कलेज, खयरमारामा ५ हजार विद्यार्थी क्षमताको कलेज उनकै पालामा बन्यो । टेकबाहादुर बलम्पाकी भन्छन्– ‘पोखरेलको अप्रत्यासित चुनावी हार बिडम्बना हो । पोखरेलको हारले समग्र बर्दिबासको विकास प्रभावित नहोला भनेर भन्न सकिन्न ।’
पोखरेललाई चुनावमा हराएर चर्चामा आएका महतो २०४८ सालदेखि कांग्रेसनिकट नेविसंघबाट राजनीतिमा लागेका हुन् । २०१९ सालमा महोत्तरीको निगौल–५ मा जन्मिएका उनले राजनीति गरेकै कारण र आफ्नो विद्रोही स्वभावले एसएलसी पास गर्न नपाएको बताए । २०५४ सालमा निगौल गाविसको अध्यक्षमा स्वतन्त्रबाट निर्वाचित उनी गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीमा लागे । मधेश आन्दोलको रापतापबीच उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा छिरेर २०७४ सालको आमचुनावमा महोत्तरी–४ बाट प्रतिनिधिसभाको उम्मेदवार बने ।
छोरा डा. दिपेन्द्र र श्रीमती रामकुमारी पनि राजनीतिमा सक्रिय छन् । रामकुमारी २०७० सालको चुनावमा समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ६ को उम्मेदवार बनेर पराजित भएकी थिइन् भने यसअघि गौशला नगरपालिका प्रमुखमा उठ्दा पनि हारेकी थिइन् । महतोको २ वटा इँटाभट्टा र पेट्रोलपम्प सञ्चालनमा छ । आफूलाई समाजसेवी भन्न रूचाउने राष्टपतिबाट ‘प्रवल जनसेवाश्री’ पदकले सम्मानित हुँदैछन् ।
माओवादीको गढबाट पोखरेललाई हराउन प्रत्येक मतदाताको घरघरमा महतोले माछा बाँडेको चर्चा छ । महतोले चुनावको पूर्वसन्ध्यामा १४ वटा पोखरीको माछा क्षेत्रभरिका मतदातालाई बाँडेका थिए । बताइएअनुसार एकदेखि डेढ बिगाहा क्षेत्रफलमा रहेको १४ वटा पोखरीको करिव १ करोड रूपैयाँ बराबरको माछा बाँडिएको हो । रहु, बिघट, सिल्वर काँट, कमल काँट, नैनी, भोख्रा, जल कपुरलगायत जातका माछा अटो, महिन्द्रा पिकअप, मोटर साइकलमा मतदाताको घरघरमा बाँडिएको थियो । ‘घरमा माछा आउनासाथ मतदाताले बुझ्थे लक्ष्मी महतोले भोट मागेको हो भनेर ।’
महतो पछिल्लो मधेश आन्दोलनताका असई थमन बिक हत्या प्रकरणका आरोपी हुन् । जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदन जयसवालका अनुसार उनीसँगै कर्तव्य ज्यान मुद्दामा प्रदेश सांसद यादव, बिकी साह, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव र अनिल ठाकुर लगायतको समेत सम्पत्ति रोक्का गर्न अदालतले आदेश दिएको थियो । यही मुद्दाका कारण नवनिर्वाचित सांसद महतोले तत्काल सपथ लिन पाउने छैनन् ।
टिप्पणीहरू