रवि लामिछानेका महामन्त्री भारतीय दूतावासमा सुटुक्क

रवि लामिछानेका महामन्त्री भारतीय दूतावासमा सुटुक्क

पूर्व टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल लैनचौरस्थित भारतीय दूतावास पुगेका छन् ।  प्रवक्तासमेत रहेका उनी शनिवार दिउँसो भारतीय दूतावास र खुफिया एजेन्सी ‘रअ’को एउटा गोप्य संवादमा सामेल भएको दूतावासनिकट स्रोतले जनाएको छ।

‘हाम्रो ढकालजी र अर्को एकजना साथी दिउँसो ३ बजेतिर आउनुभएको थियो । उहाँहरूलाई अनिलसा"पले ल्याउनुभएको हो । चिफसापसँग ढकालजीको भेट भएन । प्रसन्न सा"पलाई भेटेर फर्किनुभयो,’दूतावासका एक अधिकारीले बताए ।

महामन्त्री ढकालले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई भेट्न खोजेका थिए । दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव र खुफिया एजेन्सी ‘रअ’का उच्च अधिकारी अनिल गिरीलाई भेटेर उनी फर्किएको बताइन्छ ।

महान्त्री ढकाल र डेपुटी चिफ अफ मिसनबीच नेपाल—भारत आपसी सम्बन्ध र आमनिर्वाचनपछिको नेपाली सत्ता राजनीतिबारे छलफल भएको बताइएको छ । स्रोतका अनुसार दूतावास कार्यालयले औपचारिक रुपमा भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी बनेकोमा यसरी पहिलाेपटक बधाइ शुभकामना दिएको हाे ।

नेपालको सत्ता राजनीतिमा खास अर्थ राख्ने भारतीय दूतावासमा नयाँ पार्टीका शीर्ष नेताको आवतजावतलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रास्वपाका सांसदहरूलाई ‘सार्वजनिक मिडियामा बोल्न अंकुश लगाए’का महामन्त्री ढकाल आफै भारतीय दूतावास पुगेका हुन् । 

‘मुकुल ढकालजी भारतीय दूतावास गएकोवारे हिजो रातिदेखि पार्टीभित्र गाइँगुइँ हल्ला छ । तर सत्य के हो, थाहा छैन । यदि उहाँ यसरी एक्लैएक्लै त्यहाँ जानुभएको हो भने गम्भीर समीक्षा हुन्छ,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना केन्द्रीय सदस्यले बताए । यसवारे थप बुझ्न  खोज्दा महामन्त्री ढकाल फोन सम्पर्कमा आएनन् ।

रास्वपाका एक नेताले बताएअनुसार सभापति रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रवार राति भेटवार्ता गरेका थिए । लगत्तै, लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच नयाँ बानेश्वरको एउटा होटलमा भेटवार्ता भएको थियो ।

टिप्पणीहरू