आफूलाई बेवास्ता गरिएकोमा माधव नेपालको दुःखेसो

आफूलाई बेवास्ता गरिएकोमा माधव नेपालको दुःखेसो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताउनुभएको छ । 

ठूला दलहरु मनपरी ढंगले चल्ने र एकीकृत समाजवादीलाई बेवास्ता गर्नेकुरा निन्दनीय र आलोच्य भएको उहाँले टिप्पणी गर्नुभएको छ । खुला छलफल गर्न आफ्नो पार्टी तयार रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले राष्ट्रियता, लोकतन्त्र र परिवर्तनको सवालमा दलहरुबीच सहकार्यको खाँचो औल्याउनुभयो । 

नेपाली काँग्रेस–एमालेले संविधान संशोधन गर्नेमा आशंका व्यक्त गर्दै उहाँले नियत सफा भए मध्यरातमा सम्झौता गर्न आवश्यक नरहेको बताउनुभयो । जनताले प्राप्त गरेका अधिकार समाप्त गर्न संविधान संशोधन स्वीकार्य नहुने नेपालको चेतावनी छ ।

‘वास्तवमा संविधानमा संशोधन गर्नुपर्ने कुरा नभएका होइनन् । तर, त्यसलाई मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुनै आवश्यकता थिएन । नियतमाथि प्रश्न खडा भएको छ । म त्यसमा धेरै प्रवेश गर्न चाहन्न’, उहाँले भन्नुभयो, ‘पहिला कुरा आओस्, हामी सबै कुरामा छलफल गर्न तयार छौँ । तर, जनताको अधिकारलाई कमजोर बनाउने गरी, जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी र यसका राम्रा कुरालाई समाप्त पार्नेगरी कुनैपनि कुरा आउँछन् भने त्यो हामीलाई स्वीकार्य हुनेछैन ।’

गणितीय हिसाबले पनि काँग्रेस–एमालेले संविधान संशोधन गर्न नसक्ने अध्यक्ष नेपालको ठहर छ । ‘राष्ट्रिय सभामा हामी एकताबद्ध भयौँ भने, त्यहाँ दुई तिहाई पुग्नेवाला छैन । त्यसो भएकाले चेतना भया, समयमै यो कुरामा होस् जाओस् । मनपरी ढंगले चल्ने र हाम्रो पार्टीलाई बेवास्ता गर्ने, अण्डरमाइण्ड गर्ने यस्तो प्रवृत्ति अत्यन्तै निन्दनीय छ । आलोच्य छ’, उहाँको आक्रोश छ । 

अध्यक्ष नेपालले सांसदसमेत रहेका पार्टीका उपमहासचिव मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भनिसकेपछि थप विवाद गर्न जरुरी नरहेको पनि स्पष्ट पार्नुभयो । सामाजिक सञ्जामा अबदेखि पार्टीविरुद्ध जथाभावी नलेख्न उहाँले नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू