माननीयलाई सुनचाँदीको लोगो, दललाई अफिस तयार
विदेशीसँग खाजा र बैंकसँग जब पैसा मागे वरिष्ठले
संसदका महासचिव डा. भरतराज गौतमको पत्र काण्डले हंगामा मच्चिइरहेका बेला संसद् सचिवालयकै एक सहसचिवले भने विभिन्न वाणिज्य बैंकलाई पत्राचार गर्दै सहयोग रकम मागेको भेटिएपछि अर्को तहल्का मच्चिएको छ ।
संसद सचिवालयको लेटरहेडमा पठाइएको पत्रमार्फत आफू निकटस्थ कर्मचारीको व्यक्तिगत खातासमेत प्रयोग गरिएपछि हलचल त हुने नै भयो । मंसिर १५ गते सहसचिव इन्द्रविलास पौडेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘संसद सचिवालयको नाममा छुट्टै बैंक खाता नरहेकाले सहयोग रकम खाता नम्बर ०१७१५४०६७९१ मा हालिदिनुहोला ।’ यसरी सिद्धार्थ, प्रभुलगायत केही वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई पत्र लेखिएको हो ।
सहयोग उठाइने मेसो थियो, संसद दिवशको । हरेक माघ २८ गते संघीय संसद दिवश मनाइँदै आइएको छ । त्यसैको पूर्वसन्ध्यामा सचिवालयले हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको थियो । २६ मंसिरमा सम्पन्न भइसकेको सो प्रतियोगिता उपसमितिको संयोजक थिए पौडेल । हाजिरी जवाफ गर्नका लागि भन्दै उनले संसद सचिवालयका कम्प्युटर प्रोग्रामर करनबहादुर भाटको खातामा पैसा हालिदिन पत्र पठाएको भेटिएको हो । पत्रमा सम्पर्क व्यक्तिका रूपमा निरज पन्थीको मोबाइल नम्बरसमेत उल्लेख छ । जबकि संघीय संसदका २८१ कर्मचारीमा सो नाम गरेका कुनै कर्मचारी छैनन् । यसबारे कुरा उठेपछि उनलाई उपसमिति संयोजकबाट हटाइएको थियो ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका यिनै सचिव पौडेलले केही महिनाअघि बैठकका लागि भन्दै ३० प्याकेट खाजा (लञ्च बक्स) उपलब्ध गराइदिन युएनडिपीलाई पत्राचार गरेका थिए । यसरी गरिएको पत्राचार आफ्नो फेसबुक स्टोरीमा समेत शेयर गरेका थिए । पछि कर्मचारीलाई हप्काएर त्यो शेयर डिलिट गर्न लगाए । उनीमाथि अनुशासनको कारवाही गर्ने तयारी भइरहेको महासचिवनिकट स्रोतले जनआस्थालाई जानकारी दिएको छ । ‘संसद सचिवालय त्यस्तो अड्डा हो, जसले प्रतिनिधिसभाका २७५, राष्ट्रिय सभाका ५९ जना गरी ३३४ संघीय सांसदहरूलाई बैकिङ च्यानलबाटै तलब खुवाउँछ । २८१ कर्मचारीले पनि यसरी नै तलब बुझ्दै आएका छन् तर सहसचिवले सचिवालयको बैंक खाता नभएको भन्दै वाणिज्य बैंकहरूसँग व्यक्तिगत खातामा पैसा पठाइदिन अनुरोध गर्छन् भने त्यो जस्तो हुस्सु अरु को होला ?’ सचिवालयका एक अधिकृतको प्रतिक्रिया यस्तो छ ।
यता, थपिएका नयाँ दलको कार्यालय व्यवस्थापनमा हम्मेहम्मे परेको सचिवालयले बल्लतल्ल काम टुंग्याएको छ । श्रोतका अनुसार कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा र नेमकिपाले पुरानै कार्यालय पाएका छन् भने रास्वपा, राप्रपा, जनमत र नागरिक उन्मुक्तिलाई प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकार र नागरिक एप’को कार्यालय उठाएर प्रिफ्याब भवन प्रयोग गर्न दिइने भएको छ । स्वतन्त्र निर्वाचित सांसदहरूका लागि एउटा संयुक्त कार्यकक्ष पनि सोही भवनमा उपलव्ध गराइने संसद सचिवालयका उपसचिव दशरथ धमलाले बताए । यसअघि जनमोर्चाकी दुर्गा पौडेलले प्रयोग गर्दै आएको कार्यकक्ष चित्रबहादुर केसीलाई दिने तयारी भइरहेको छ । झण्डै १८ हजार मत नपुगेर राष्ट्रिय दल बन्नबाट वञ्चित एकीकृत समाजवादी संसदले प्रदान गर्ने कुनै पनि सुविधाबाट बञ्चित नहुने धमलाको कथन छ । कानुनी व्यवस्थाअनुसार १० वा सोभन्दा बढी सांसद भएको दलले प्रमुख सचेतक पाउने व्यवस्था छ । यस्तै संघीय संसदका २७५ नवनिर्वाचित माननीयको लागि झण्डै १६ लाख ४ हजार खर्चेर सुन र चाँदीको लेप भएको लोगो बनाउने काम भर्खर सकिएको छ ।
टिप्पणीहरू