एमालेले राखेछ माधवसामु यस्तो प्रस्ताव
निर्वाचन परिणामले ०७४ को तुलनामा खुम्च्याएपछि एकथरि एमाले नेताहरूले पार्टी एकताका विभिन्न सूत्रसहित भेटघाटलाई तीव्रता दिएका छन् । साढे एक वर्षअघि विभाजित नेकपा (एकीकृत समाजवादी) का नेतासँग एमाले नेताहरूको संवाद यस्तो छ–
‘कमरेड यसरी भएन, अब त मिल्नुपर्ने भयो !’
– ‘ठोस प्रस्ताव लिखितमा लिएर आउनुस् । मुखले मिल्ने भनेर मात्रै हुँदैन । यस्ता कुरा धेरै भए, छाडिदिनुस् !’
‘म ल्याउँछु क्या कमरेड, तर तपाईं तयार हुनुप¥यो नि !’
– ‘पहिला लिखितमा लिएर त आउनुस्, अनि कुरा गरौँला !’
यो संवाद हो, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बीचको । ‘मिलौँ’ भन्दै केही दिनअघि कोटेश्वर पुगेका गुरुङलाई माधवले भन्नुभयो, ‘तपाईंहरूमा त के समस्या छ र ? केपीले जे–जे गर्दै र भन्दै हुनुहुन्छ, त्यसले अहिले मिल्न दिँदैन ।’ उहाँले भर्खरै गठबन्धनबाट एउटा निर्वाचन परिणाम आएको अवस्थामा निर्वाचनलगत्तै त्यसलाई छाडेर अर्कोतिर जाने, एकता भन्दै हात–खुट्टा पसार्ने काम गर्नु राजनीतिक बेइमानी हुने बताउनुभयो । पृथ्वीसुब्बाको जोड थियो, ‘नमिलेका कुरा मिलाउनेमा हामी पहल गर्छौं, कम्तीमा तपाईं शीर्ष नेताहरू आ–आफ्नो अड्डी कसेर बस्न भएन । कोही न कोही त लचिलो हुनैपर्छ ।’ यसपछि माधवले भन्नुभयो, ‘कुरा मात्रै गरेर हुँदैन । ठोस रूपमा आउनुस्, लिखितमा ल्याउनुस्, अनि कुरा गरौँला ।’
यसपछि कोटेश्वर पुग्नुभयो, एमाले उपाध्यक्ष सुवाष नेम्वाङ । उहाँले इलाम– २ मा मतगणना हुँदा थोरै–थोरै मतान्तरका साथ आफू अघिपछि हुनुप¥यो, त्यतिबेलैदेखि ‘पार्टी एक ठाउँमा भइदिएको भए...’ भन्ने अनुभूत गरेको सुनाउनुभयो । ‘यो जे–जे भा’छ कमरेड, सबथोक पार्टी एक ठाउँमा नभएर भएको छ’, सुवाषले भन्नुभयो, ‘के–के आधार र उपाय हुन सक्छन् ? त्यसका लागि मेरो भूमिका के हुनसक्छ ? अरु कसैको भूमिका के हुनुपर्छ ? यी विषयमा कुरा गर्नुपर्ने भयो ।’ माधवको जवाफ रह्यो, ‘पहिला भन्नुपर्ने, पहिल्यै सोच्नुपर्ने कुरा अहिले गर्दै हुनुहुन्छ । भोलिका दिनमा अझै क्षति हुँदै जान्छ । त्यसपछि फेरि यसै–यसै भन्न थाल्नुहुन्छ । यसरी हुँदैन । गफ गरेर हुने भए थुप्रै गफ हामीले पहिल्यै गरेका हैनौँ र ?’
एमाले नेताहरू माधवकहाँ मात्रै हैन, झलनाथ खनालसँग भेट्न पनि उत्तिकै पुगेका छन् । झलनाथले पनि ‘सैद्धान्तिक रूपमा वाम एकता ठीक, तर ओलीसँग हुँदैन’ भनेर फर्काइदिनुभएको छ । तर, अर्का नेता मुकुन्द न्यौपानेचाहिँ ढिलो नगरी एमालेसँगै मिल्नुपर्छ भन्नेमा सक्रिय हुनुभएको छ । उहाँ त चुनाव चल्दाचल्दै एमालेलाई भोट माग्न बारा पुग्नुभएको बताइन्छ ।
यसचोटिको निर्वाचनमा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन नसक्नुको कारणबारे नेताहरू भन्छन्, ‘अध्यक्ष र सम्मानित नेता एक–एक ठाउँमा केन्द्रित भए । देशभरि हिँड्ने नेता कोही भएनन् ।’ गठबन्धनबाट कम उम्मेदवार भागमा पर्नुका कारण पनि समानुपातिक मत कम भएको उनीहरूको ठम्याइ छ । त्यसमध्ये लुम्बिनी प्रदेशमा प्रदेशसभाको एउटा पनि सीट दिइएन । कतिसम्म भने, प्रदेश इञ्चार्ज भागवत विश्वासीलाई मात्रै एउटा सीट भए पनि चाहियो भनिँदा प्रचण्डले शुरुमा ‘हुन्छ–हुन्छ’ भन्नुभयो, पछि फिर्ता लिएरै छोड्नुभयो ।
भागवतले दाङको क्षेत्र नं. ३ अन्तर्गत प्रदेशसभामा उम्मेदवारी दर्ता गर्न पार्टीको टिकट लिएका थिए । तर, प्रचण्डले सीधै फोन गरेर भनिदिनुभयो, ‘१ नं. क्षेत्रमा मेटमणिलाई जिताउनु छ भने तपाईं ब्याक हुनुस्, मेटमणिको जेसुकै होस् भन्नुहुन्छ भने नोमिनेशन गर्नुस् †’ त्यस्तै, गण्डकी प्रदेशमा स्याङ्जाका अध्यक्ष रामचन्द्र (आरसी) भट्टराईलाई उम्मेदवार बनाइयो । कांग्रेसले नुवाकोट एकीकृत समाजवादीका राजेन्द्रप्रकाश लोहनीलाई फिर्ता लिन लगायो । त्यसको बदलामा स्याङ्जामा आफ्ना उम्मेदवार फिर्ता गराई आरसीलाई जिताउने भनियो । लोहनीले नुवाकोटमा फिर्ता लिए, तर स्याङ्जामा कांग्रेसले वचन पालना गरेन ।
केही सीप नचलेपछि चुनावको बीचमा आरसीले उम्मेदवारी निस्क्रिय बनाएर कांग्रेसलाई जिताउन हिँड्नुप¥यो । बरु, पार्टीको तर्फबाट एकल निर्णय गरेर बाजुरामा नरेश शाही र कञ्चनपुरमा प्रकाश रावलले चुनाव जिते । यो स्थितिमा समानुपातिक मत कम आउनुलाई उक्त पार्टीका नेताले स्वाभाविक मानेका छन् । त्यसमाथि समाजवादीको समानुपातिक मत बढ्दै जाँदा केपी ओलीले दिएको अत्यासलाग्दो अभिव्यक्तिभित्र ठूलै अर्थ रहेको उक्त पार्टीका नेताले बुझेका छन् । ओलीको डिजाइनमा निर्वाचन आयोग परेपछि आएका मत पनि नगनिएको हुनसक्ने उनीहरूको आशंका छ ।
टिप्पणीहरू