माओले आफ्नो रोगबारे राजा वीरेन्द्रलाई खोलेको गुह्य कुरा
सन् १९७३, मध्याह्नको समय । चिनियाँँ अध्यक्ष माओ त्सेतुङले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या र परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग चोङनानहाइभित्रको स्विमिङ पुलमा भेटे । त्यहाँ प्रधानमन्त्री चाओ एनलाई र वाङ होङवेन (कम्युनिष्ट पार्टीका दोश्रो उपाध्यक्ष तथा ग्याङ अफ फोरका एक सदस्य) को पनि उपस्थिति थियो । नेपाल–चीन सम्बन्धबारे कुरोकानी हुँदै गर्दैगर्दा माओले भने, ‘तपाईंको मुलुक राम्रो छ तर अफसोचको कुरा कि, पर्याप्त सहयोग गर्न सक्ने अवस्थामा छैनौं ।
किनभने हामीले अहिले पनि नेपालको सीमाक्षेत्रसम्म रेलमार्ग निर्माण गर्न र बनेका सडकलाई पनि पूरा सदुपयोग गर्न सकेका छैनौं । तपाईंहरूले हाम्रो तिब्बतसित गर्दै आएको व्यापार पनि न्यून छ । यदि, बेइजिङसँग ब्यापार गर्न चाहनुहुन्छ भने आफ्नो सिमानासम्म पुग्ने रेलमार्ग बनाउनैपर्छ । हामीले चाहिँ मात्र त्यसको मर्मत गर्न सक्छौं । परराष्ट्रमन्त्री कार्कीको जवाफ रह्यो, ‘तपाईंहरूले दुई देशको मित्रता र सम्बन्ध मजबुत तुल्याउन धेरै काम गरिसक्नुभएको छ । आउँदो दिनमा पनि नेपाल र चीनले यो सम्बन्धलाई अहिलेकै जस्तो राम्रो बनाइराख्न प्रयास गर्नुपर्छ ।’
माओले भने, ‘सानो देशमाथि थिचोमिचो गर्नु हुँदैन । अरु देशको आन्तरिक मामिलामा बिनाहस्तक्षेप सहयोग गर्नुपर्छ । ठूला देशको कहिलेकाहीँ विरोध गर्नुपर्छ, खासगरी परमाणु बमको सवालमा ।’ कुराकानीकै दौरान माओले अगाडि बताए, ‘विभिन्न मुलुकका राजदूत जो यहाँ छन्, विभिन्न स्थान घुम्न जान्छन् र भन्छन्– दोश्रो र तेश्रो विश्वका लागि चीनको ढोका खुल्ला गर्नुस् ।
चारैतिर घुम्दा मैले देखेको कुरा, तपाईंहरू झेङपाओ टापु जानुस्, सेनयाङ, लियाओनिङ, जिलिन, हेलोङजियाङ, दालियान, भित्री मंगोलिया, सिन्जियाङ, सिचुवाँ र कवेइउजस्ता दुर्गम स्थान जानोस्, त्यहाँ एउटा न एउटा कारखाना देख्नुहुनेछ, ती राम्रो, नराम्रो, सामान्य वा कम्युन नै किन नहोउन् । यो नसम्झनुस् कि म तपाईंहरूलाई मूर्ख बनाउँदै छु । अरुलाई आशावादी देखाउनु पनि राम्रो होइन । चीनको केही ठाउँमा काम राम्रोसँग गरिएको छ र केही काम राम्रोसँग गरिएको छैन । ती सबै राम्रा छन् भन्नु घमण्ड गर्नुमात्रै हो ।’
आफ्नो शारीरिक अवस्थाबारे उनले बताए, ‘म पनि हृदयरोगी हुँ । र, यो रोग विश्वभर फैलँदै छ । अझैसम्म चिनियाँ जनतालाई म बिरामी छु भन्ने थाहा छैन । यसबारे पोलिटब्युरोको बैठकमा कुरो उठ्छ, यसलाई सार्वजनिक गरेर जनमत सिर्जना गर्नुपर्छ भनेर । आकस्मिक निधन हुनु राम्रो होइन । दुई वर्षअघि करिब–करिब म भगवानकोमा गइसकेको थिएँ । ईश्वरले मलाई सोजु (जापानी रक्सी) पिउन भन्नुभयो । फेरि उहाँसित त्यहाँ माउथाइ (चिनियाँ रक्सी) पनि थियो ।
टिप्पणीहरू