बोर्ड बैठकमा गभर्नरले डेपुटीलाई किन तीतो पोखेछन् ?

बोर्ड बैठकमा गभर्नरले डेपुटीलाई किन तीतो पोखेछन् ?

राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नरलाई हप्काएका छन् । सात सदस्यीय सञ्चालक समितिमा गभर्नर अध्यक्ष हुन्छन् भने दुई जना डेपुटी गभर्नर सदस्य रहने व्यवस्था छ । केही समयअघि बसेको बैठकमा प्रस्तुत एजेण्डामाथि डेपुटीले सीमा नाघेर बोलेको भन्दै गभर्नर महाप्रसाद अधिकारीले सात जनाको अगाडि तिनको झाँको झारेको बताइन्छ । सामान्यतयाः बोलेर अरुलाई नचिढाउने स्वभावका गभर्नरले बोर्ड बैठकमा डेपुटीको सातो लिनुको कारणबारे विस्तृत रूपमा कसैले पनि बोल्न चाहेका छैनन् । स्रोतले दुईमध्ये कुन डेपुटीप्रति इंगित गरियो भन्ने ब्यहोराचाहिँ खुलाउन चाहेन । 

बोर्डमा अर्थ सचिव पदेन सदस्य हुन्छन् । अन्य सदस्यमा पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, पूर्व कार्यकारी निर्देशक शंकरप्रसाद आचार्य र चार्टर्ड एकाउण्टेण्ट डा. सुवोधकुमार कर्ण छन् । कर्ण गत वर्षको काण्डपछि बैठकमा अनुपस्थित छन् । उनलाई उच्च व्यवस्थापनले बैठकमा उपस्थित हुनबाट अनौपचारिक रूपमा रोक लगाउँदै आएको छ । 

‘डेपुटीलाई हप्काइएको बैठकमा कर्णबाहेक अरु सबै थियौं,’ ती सदस्यले भने, ‘प्रस्तुत एजेण्डामाथि एक जना डेपुटीले नकारात्मक टिप्पणी गरेपछि गभर्नर आगो भएका हुन् । उक्त एजेण्डा व्यवस्थापन समितिबाट पारित भएसँगै डेपुटी स्वयंले टिप्पणीमा दस्तखत गरेका थिए । पहिले व्यवस्थापन समितिको बैठकमा बसेर एजेण्डा पास गरेको,बैठक भत्ता बुझेको,टिप्पणी सदर गरेको तर, बोर्ड बैठकमा साखुल्ले बन्न नकारात्मक टिप्पणी गरेको भन्दै गभर्नरले मार गाली गरेका हुन् ।’ एजेण्डा र डेपुटीबारे जनआस्थाले सोधेको जिज्ञासामा ती सदस्यले भने, ‘कम्तीमा लाज छोपिदिन पनि नामचाहिँ नभनौं । हामी आफैं पानी पानी भएका छौं । आलाकाँचाहरूको हुलमा बस्नुपर्दा कहिलेकाँही बैठकमा पिइने जुस पनि तीतो हुने गरेको छ ।’

यसैगरी गत भदौमा कर्मचारीको तलब वृद्धि मिलान गर्ने एजेण्डामाथि छलफल हुँदा पनि चर्काचर्की भएको उनै सदस्यले बताए । केन्द्रीय बैंकका गभर्नर र डेपुटीहरूको तलब न्यून भएकोले बढाउने भनी व्यवस्थापनको प्रस्ताव राखिनेबित्तिकै बैंकबाट पेन्सन खाने एक जना सदस्यले गभर्नरको ५ लाख र डेपुटीको ३ लाख तलब बनाउन आफूलाई कुनै आपत्ति नभएको बताएका थिए । त्यो कुरो सुनेपछि सम्बन्धित पदाधिकारी दंग परे । तर, त्यस्तो प्रस्ताव राख्ने सदस्यले लगत्तै अर्को शर्त तेस्र्याइदिए, ‘बहालरत गभर्नर र डेपुटीको तलब बढाउँदा भूतपूर्व गभर्नर र डेपुटीको पनि सोहीबमोजिम पेन्सन समायोजन गर्नुपर्छ ।’ उनको भनाइ थियो, ‘बजार भाउ बहालरत र भूतपूर्वको लागि एउटै छ । उनीहरूको पेन्सन पनि बजार भाउसँग तालमेल हुने गर्नुप¥यो ।’

त्यस्तो प्रस्ताव आउनेबित्तिकै बैंकबाट विशिष्ट श्रेणीका कर्मचारीको हैसियतमा पेन्सन खाइरहेका र अहिले सञ्चालक बनेका डा. आचार्यले फ्याट्ट भने, ‘भो यस्तो लफडामा नफसौं, झ्याउलो बोक्ने काम नगरौं ।’ आचार्यलगायत बोर्डमा पाँच जनाले बैंकबाट मासिक पेन्सन पनि बुझ्ने गर्छन् । जसमा गभर्नर महाप्रसाद अधिकारी,डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, चिन्तामणि सिवाकोटी छन् । उनीहरू सबैले विशिष्ट श्रेणीको कार्यकारी निर्देशकसरह पेन्सन रकम पाउँदै आएका छन् । 
 

टिप्पणीहरू