कमरेड, किन होला यस्तो कारबाही ?

कमरेड, किन होला यस्तो कारबाही ?

पार्टी छोडेको घोषणा गर्दै स्वतन्त्र रूपमा मंसिर ४ गते चुनाव लडेकालाई एमालेले कारबाही गरेको छ । पार्टी छाडेको भन्दै रूपन्देहीबाट घनश्याम भुषाल, कञ्चनपुरबाट खेम सुवेदी र भक्त अधिकारी, रौतहटबाट प्रभु साह उठेका थिए । २५ सय मत ल्याउने  गरी भक्तको उम्मेदवारीका बाबजुद लेखराज भट्टसँगै एमालेमा बसेका वीरबहादुर बलायसले जितेका छन् भने खेमले सवा ७ सय मत लिँदा समेत तारा लामालाई सफलता हात लागेको छ । यी दुई जना बागी उठ्दा आधिकारीक उम्मेदवार हारेका भए कारबाहीको बेग्लै मज्जा हुन्थ्यो । तर बदला लिनको निम्ति त हार र जितको साइत हेरिरहनै परेन । 

यो चुनावमा मतदाताको संख्या ३६ लाख बृद्धि हुँदा पनि एमालेले ०७४ सालमा भन्दा करिब ७ प्रतिशत कम मत पाएको देखिन्छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष ओलीको अनुपस्थितिमा पार्टी हाँक्ने जिम्मेवारी प्राप्त हुने हो तर उनी यसचोटि चुनाव हार्ने मध्येमा परेका छन् । ओलीको उत्तराधिकारी मानिएका महासचिव शंकर पोखरेल पनि जनताबाट अस्वीकृत भएको अवस्था छ । तीन जना प्रतिस्पर्धीले चुनावै लड्न नपाउँदा पनि अर्का उपाध्यक्ष विष्णु पौडेललाई मुश्किलले जित हात लागेको छ । 

घनश्याम भुषाललाई पार्टी त्यागेर गएको घोषणापछि निश्कासन गर्ने एमालेले भीम रावललाई किन केही कारबाही गर्न नसकेको भन्ने प्रश्नको उत्तर खोजी हुन थालेको छ । रावलका दाहिने मानिने झपट रावल केपी खुशी पारेर उम्मेदवार हुने, शेरबहादुर कुँवर, यज्ञ बोगटीलगायतले पार्टी छाड्ने भएपछि रावललाई कारबाही गर्न आवश्यक नरहेको निश्कर्ष अध्यक्ष ओलीले निकालेको बताइन्छ । ग्राउण्डमा समर्थन र पकड गुमाउँदै गएका रावललाई कारबाही नगर्ने तर पत्रु बनाएर राख्ने नीति अध्यक्ष ओलीको छ । यसो गर्दा विद्रोह गर्ने अरुलाई उदाहरण देखाउन र हविगत सम्झाउन पाइन्छ ।
 

टिप्पणीहरू